• २९ असार २०८२, आइतबार

छात्रालाई अभद्र सन्देश पठाउने शिक्षक पक्राउ

blog

विद्यालय सुरक्षार्थ तैनाथ सुरक्षाकर्मी । तस्बिर ः यादवराज पुरी

यादवराज पुरी

रौतहट, असार २९ गते । छात्रालाई सामाजिक सञ्जालमा आपत्तिजनक सन्देश प्रवाह गरेको भन्दै जिल्लाको गरुडा नगरपालिका–९ श्रीपुरस्थित श्री माध्यमिक विद्यालयका एक शिक्षक पक्राउ परेका छन् ।  

विद्यालयका शिक्षक रवीन्द्रप्रसाद साहले सोही विद्यालयमा अध्ययनरत एक छात्रालाई सामाजिक सञ्चारमा आपत्तिजनक सन्देश पठाएको भन्दै अभिभावकलगायत स्थानीयवासीले शिक्षकको कारवाहीको माग राख्दै विद्यालय तोडफोड गरेका थिए । 

सामाजिक विषयका शिक्षक साहले माध्यमिक तह अध्ययन गर्ने एक छात्रालाई ‘ह्याप्पी बर्थ डे मेरी जान’ लेखिएको सन्देश सम्प्रेषणले आक्रोशित अभिभावक, विद्यार्थी र स्थानीयले स्थिति तनावग्रस्त बनाएपछि ठुलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो । शिक्षक साहमाथि हातपात समेत भएको विद्यालय प्रशासनले जनाएको छ । 

इलाका प्रहरी कार्यालय गरुडाबाट पुगेको प्रहरीको टोलीले घटना नियन्त्रणमा ल्याउन एक राउन्ड अश्रुग्याँस प्रहार गरेको प्रहरी नायव उपरीक्षक ओमप्रकाश यादवले जानकारी दिनुभयो । उहाँकाअनुसार शिक्षक साह नियन्त्रणमा लिएपछि स्थिति सामान्य बनेको छ । उहाँ उपर अनुसन्धान जारी छ ।