• २९ असार २०८२, आइतबार

हात्ती नियन्त्रण गर्न दबाब दिँदै डिभिजन वन कार्यालय घेराउ

blog

हात्ती नियन्त्रणको माग राख्दै जुडिबेलावासीद्वारा वन कार्यालय घेराउ । तस्बिर : यादवराज पुरी

यादवराज पुरी 

रौतहट, असार २९ गते । जङ्गली हात्तीको आतङ्कबाट आतङ्कित रौतहटको चन्द्रपुर नगरपालिका–२ जुडिबेलाका बासिन्दाले हात्ती नियन्त्रण गर्न दबाब दिँदै आइतबार डिभिजन वन कार्यालय रौतहट घेराउ गरेका छन् । 

हात्तीले दिनहुँजसो कुनै न कुनै घरमा क्षति पुर्‍याउँदै आएको तर शनिवार राति स्थानीय चार जनाको घर भत्काएको भन्दै आक्रोशित जुडिबेलावासीले हात्ती नियन्त्रणमा लिई अन्यत्र सार्न माग राख्दै वन कार्यालय घेराउ गरेका हुन् । 

स्थानीय शङ्कर चौधरीका अनुसार शनिवार राति मात्र पाँच वटा हात्तीको समूह जुडिबेलामा पसेर स्थानीय दीपा बल, दिलबहादुर राई, लालबाबु मुक्तान र किरण बम्जनको घर भत्काएको छ । स्थानीय जाग्राम बसेको कारण मानवीय क्षति भने हुन सकेन । 

हात्तीले धनजनमा क्षति नपुगाेस् भन्नका लागि स्थानीय रातभर जाग्राम बस्ने गरेका छन् । हात्ती आतङ्कबारे डिभिजन वन कार्यालयलाई पटक–पटक जानकारी गराउँदा पनि कार्यालयले बेवास्ता गरेको स्थानीयको आरोप छ । 

स्थानीय समाजसेवी राजु पाण्डे भन्नुहुन्छ, “वन कार्यालयको उदासीनताको कारण हात्तीको रजगज बढेको हो । समय मै हात्ती नियन्त्रण गरी वन्यजन्तु आरक्षण पर्सालाई हस्तान्तरण गरेको भए स्थानीयको घर भत्किने थिएन । वन कार्यालयले घटनाको अवलोकन गरी क्षतिपूर्ति दिनुपर्छ ।” 

कार्यालय घेराउ गर्न पुगेका स्थानीयले तत्कालै हात्ती नियन्त्रणमा लिनुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने र दीर्घकालीन समाधानका लागि ठोस रणनीति ल्याउनुपर्ने माग गरेका छन् । 

डिभिजन वन प्रमुख हेमन्तप्रसाद साहले भन्नुभयो, “वन कार्यालय हात्ती नियन्त्रणका लागि प्रयासरत छ । त्यसको लागि निकुञ्ज र सम्बन्धित निकायसँग समन्वय भइरहेको छ ।” माग यथाशीघ्र सुनुवाइ नभएमा सशक्त आन्दोलन गर्ने चेतावनी दिएर आन्दोलनकारी फर्किएका छन् ।