छोरी श्लिषा स्नातकोपाधिपछिको खाली समयमा हिमाली पदयात्रामा रमाउन थालिन् । गएको शरद् ऋतुमा साथीहरूसँग गोसाइँकुण्ड र वसन्त ऋतुमा मार्दी हिमालको आधार शिविर पदयात्रामा गइन् । उनको पदयात्राको भोक अरू जाग्यो । यस वर्षको शरद् ऋतुमा (तिहारअघि) अन्नपूर्ण आधार शिविर (एबिसी) पुगेर आइन् । उनले यात्रा गरेका ती तीन स्थान समुद्री सतहबाट क्रमशः ४,३८० मिटर, ४,२०० मिटर र ४,१३० मिटरको उचाइमा छन् ।
उनका यी पदयात्राले उनलाई मात्र तानेनन् । त्यसैले तिहार लगत्तै विश्वकै सर्वोच्च स्थानमा रहेको र मनाङ जिल्लामा पर्ने तिलिचो ताल जान मलाई मेरी पत्नी सुशीला र छोरीले कर गरिरहेकी थिइन् । आफूलाई पनि हिँडडुल गर्न मन लाग्ने तर छोटा पदयात्रामा मात्रै रमाएको छु अहिलेसम्म । त्यसैले छोरीको साथमा जान सुशीलाको निकै नै जोड रह्यो । छोरीको रहर र श्रीमतीको प्रेरणाले ममा तिलिचो जान प्रेरणा र ऊर्जा जगायो । त्यसैले तिहार र छठ पर्वको बिदा सदुपयोग गर्न मन लाग्यो । त्यही समयलाई सदुपयोग गर्दै हामी बाबु छोरी भाइटीकाको भोलिपल्ट बिहानै जाने तय भयो ।
प्रविधिले यात्रालाई सहज बनाइदिएको छ । हामीले पनि त्यसको सदुपयोग ग¥यौँ । बास बस्ने ठाउँ अनलाइनबाटै अग्रिम बुक गरियो । सबै तयारी भएपछि कात्तिक १९ गते सोमबार बिहानै घरबाट निस्कियौँ । पृथ्वी रार्जमार्गको मुग्लिङ हुँदै डुम्रेबाट लमजुङको बेँसीसहरतर्फ लाग्नुपर्ने । त्यसै त धेरै सवारीसाधन चल्ने बाटो, केही हप्ताअघिको बाढी पहिरोले बाटो बिगारेको थियो । हामी त्यो राजमार्ग पार गर्न समस्या होला कि भन्ने चिन्तामा थियौँ । तिहार बिदा भएकाले होला नागढुङ्गा–नौबिसे–मुग्लिङ सडकको बाटो खाली नै थियो । मलेखुमा हल्का नास्ता गरी खाना खान बेँसीसहर पुग्ने योजना थियो ।
बाटोमा पर्ने मध्य मस्र्याङ्दी जलविद्युत् गृहमा टर्वाइनको ओभरहलिङ कार्य सुरु गरिएकाले त्यो पनि निरीक्षण गर्दै बेँसीसहर पुगेर खाना खाइयो । एक दिनअघि (भाइटीकाको दिन) काठमाडौँमा दुई घण्टा जति पानी परेको थियो । बेँसीसहर पुग्दा पनि एक घण्टा जति निकै ठुलो पानी प¥यो । यात्रा अवधिमा मौसम बिग्रिने हो कि भनेर पिर पनि प¥यो । लन्च सकिएपछि पानी पनि रह्यो । अनि ७६० मिटर उचाइको बेँसीसहरबाट करिब एक बजे लागियो गाडी चढेर मनाङतिर ।
बाटामा रामबजार, स्याँगे, जगत् हुँदै प्रसिद्ध अक्टोपस झरना पुगियो । बाटामाथिबाट अक्टोपस आकारमा झरना झरिरहेको दृश्य मनोरम थियो । फोटा खिचेर लाग्यौँ चामेतिर । मनाङ जिल्लाको सदरमुकाम चामे समुद्री सतहबाट २,६५० मिटरको उचाइमा छ । यो देशभरिकै न्यूनता जनसङ्ख्या भएको जिल्ला पनि हो । बेँसीसहरबाट ६८ किमी दुरीमा रहेको चामे पुग्न करिब चार घण्टा लाग्यो । बजारको अलि परै पर्ने इगलआई भन्ने होटेल काठमाडौँबाटै बुक गरिएको थियो । गाडी अलि तलै पार्किङ गरी कोठामा गयौँ, लुगा फे¥यौँ फ्रेस भयौँ तर चिसो मौसमले हामीलाई त्यसै ताजगी दिइरहेको थियो । काठमाडौँको फ्रेस हुने बानीले त्यहाँ पनि छाडेन ।
चिसो भेकका होटेलहरूमा हुने डाइनिङ हलमा राखिएका दाउराले तताउने फलामको चिम्नीले पूरै कोठा न्यानो हुन्छ । बिहान–बेलुका सबै यात्रु त्यहीँ बसेर गफ गर्ने र खाने गर्दा रहेछन् । केही औषधी, चकलेट र रेनकोट किन्न नजिकैको बजार र पसल झ¥यौँ । औषधीबाहेक अरू कुरा किनियो पनि अनि खाना खाएर सुत्यौँ । पहिलो दिन बित्यो ।
दोस्रो दिन बिहान उठेर नित्यकर्म सकी ८ बजेतिर नास्ता गर्न त्यही डाइनिङ हल छि¥यौँ । यहाँ भने कोठाको शुल्क लागेन, खाना र नास्तामै जोडेको हुँदो रहेछ । नास्ता गरेर बिहानको ८ः३० बजेतिर हामीले ल्याएको गाडीमा निस्क्यौँ । सो दिनको यात्रा खाँगसारसम्म करिब ४० किमिको अफरोड ड्राइभवाला बाटोलाई ३ घण्टा लाग्ने भए पनि बाटोमा पर्ने हरित ताल (ग्रिन लेक), मनाङ उपत्यका हेर्दै र घुम्दै जाने योजना अनुसार हामी अघि बढ्यौँ । चामेको स्याउको फर्म फर्किंदा हेर्ने योजना गरी बाटामा पर्ने उपत्यकाको खोच र पहाडको रमाइलो दृश्यावलोकन गर्दै ग्रिन लेकका लागि गाडी छाडेर केहीभित्र पैदल गयौँ । हरित ताल साँच्चिकै मनोरम । बसेर टोलाइ रहुँ लाग्ने तर हाम्रो त्यो चौतारी थियो, गन्तव्य त तिलिचो । त्यसैले त्यहाँ केहीबेर घुमफिर गरी फोटो खिची अगाडि बढ्यौँ मनाङतर्फ ।
३,५०० मिटर उचाइमा अवस्थित मनाङमा स्वागत छ भन्ने गेटबाट छि¥यौँ र त्यहाँको होटेलमा दिवा खाना खायौँ । खाना खाएर खाङसारतर्फ जाँदा स्वास्थ्य चौकी भेटियो बाटामा । केही औषधी लिन बाँकी रहेको र चामेमा नभ्याइएकाले त्यहाँ किन्ने योजना भयो तर चौकी खुला त थियो मान्छे कोही थिएनन् । तीन/चार जनाको नाम र फोन नम्बर टाँसेको थियो । मैले फोन गरेँ । एक जना महिलाले उठाउनुभयो । उहाँ घरमा हुनुहुँदो रहेछ आइहाल्नुभयो । त्यो सेवा गजबको लाग्यो ।
जीवनजल, सिटामोल एजिथ्रो जस्ता औषधी लियौँ । सबै निःशुल्क रहेछ, नाम दर्ता गरे मात्र पुग्ने । दुर्गममा यो सरकारी सेवा अझ राम्रो लाग्यो । हामी धन्यवाद दिएर अघि बढ्यौँ । अपराह्न ३ बजेतिर ३,७९० मिटरमा अवस्थित गाडी पुग्ने अन्तिम ठाउँ खाङसार पुगियो । यहाँको भने अनलाइन बुकिङ थिएन तर बेँसीसरहबाटै साथीहरूले कोठा लिन कोसिस गर्नुभएको थियो, मिलेको थिएन । पर्यटकको निकै भिड थियो । सवारी पार्किङका लागि त्यस्तै समस्या । सीमित ठाउँ भएकाले पोटाला होटेलमा हामीले एउटा कोठा लियौँ । भोलिपल्ट आधार शिविर र तिलिचोसम्म जानका लागि मात्र आवश्यक लुगा पोको पारी ट्रेकिङ ब्यागमा राख्यौँ । नचाहिने गाडीमै छोड्ने भयौँ । चामे जस्तै न्यानो डाइनिङ हलमा रातिको खाना खाएर कोठामा आई सुत्यौँ । भोलिपल्ट बिहान ७ बजे नास्ता खाने जानकारी पायौँ ।
तेस्रो दिन बिहान थर्मसको तातोपानीले हातमुख धोई, नास्ता गरी ८:३० बजे तीन जना निस्क्यौँ पैदल यात्रामा । डाउन ज्याकेट, उनीको टोपी सबै लगाएका थियौँ, जाडोबाट बच्न तर केही उकालो हिँडेपछि गर्मी पो हुनथाल्यो । त्यहाँबाट घोडाको पनि सुविधा थियो तर हामीले लिएनौँ । अलि गर्मी भएपछि लुगा छाँटकाट गरियो र उकालो लागियो । बाटोमा फर्किने मान्छेहरू भेटिन्थे, घाम लागेको सफा मौसम थियो । केही बेरमा बौद्ध गुम्बा आयो अनि दुई घण्टा जतिमा ४,०७० मिटरको उचाइमा श्रीखर्क आयो । त्यहाँ होटेल र रेस्टुरेन्ट थिए, हामीले पनि त्यहाँ दिवा खाना खायौँ । यहाँदेखि चाहिँ तातोपानी पनि किनेर मात्र पाइने । फ्रि वाइफाई प्रयोग गरी, यात्राबारे फेसबुक पोस्ट गरेर १०:३५ बजे त्यहाँबाट हिँडियो । थोरै माथि झोलुङ्गे पुल आयो । त्यस अगाडि पहिरो र ढुङ्गा झर्ने भिर, अलि अप्ठेरो साँगुरा बाटा ।
तल मस्र्याङ्दी नदी सुसाएर एकनासले बगिरहेको छ, छेउको हिमालबाट हिउँ पग्लेर । पहाड कोपेर ससाना हिमनदी बगेर तल मूल नदीमा मिसिएका खोल्सी मनोरम देखिन्थे । यात्रामा विभिन्न व्यक्ति भेटिने । गफ गर्दै जाँदा दिउँसो २ः३५ मा ४,२०० मिटर उचाइमा अवस्थित बेसक्याम्प पुगियो । यहाँ धेरै होटेल रहेछन् । राष्ट्रिय विद्युत् प्रणाली पनि पुगेको रहे छ, टेलिफोन सेवा भने थिएन । इन्टरनेट चाहिँ काम चलाउ थियो, साँझ पख त त्यो पनि गयो । किन ? भनी सोध्दा धेरै मान्छेले चलाएकाले भन्थे ।
हामीले मुन लेक होटेल बुक गरेका थियौँ काठमाडौँबाटै । यो त खाङसरमा बसेको होटेलवालाकै दाजुभाइको रहे छ । होटेलको आँगनबाटै हिउँले ढाकेको हिमाल छेउमै देखिन्थ्यो । तातोपानीका लागि बाथरुममा ग्यास गिजर जोडिएका थिए चामेदेखि नै प्रायः होटेलमा । मिनरल वाटर एक लिटरको बोतलको रू २५० र उमालेको पानीको रु.३५० सम्म लिँदारहेछन् । साँझ लुगा फेरियो । फ्रेस भएर खाना खाएपछि बिहानै हिँड्ने योजना अनुसार लाएर हिँड्ने लुगा ठिक्क पारियो । तापक्रम एक/दुई डिग्री सेन्टिग्रेड देखिन्थ्यो । प्रायः मानिसहरू बिहान ३ बजे नै हिँड्दा रहेछन् ताल जान । फर्किंदा १२ बजेपछि भने हावा चलेर भिरको बाटोमा ढुङ्गा झर्छन् र गाह्रो हुन्छ भनेर । ब्रेकफास्ट ४:३० पछि मात्र तयार हुने र धेरै बिहान हिँड्नु उपयुक्त नहुने ठानी हामी भने ४ बजे उठी तयार भएर होटेलकै उपलब्ध ब्रेकफास्ट खाएर ५:३० तिर हिँड्यौँ ।
टाउकोमा अड्काउने टर्च लाइट पनि थियो छोरी र म सँग । सवारी चालक साथी विसीको हिँडाइको चाल अलि छिटो थियो । चौथो दिनको यो हिँडाइमा हामी माथि चढ्दा केही यात्रु नसकेर (लेक लागेर) फर्किंदै पनि थिए । बिच बाटोमा कुनै खाने र बस्ने ठाउँ नभएका कारण अँध्यारोमा भोकै हिँड्नु उचित नभएको बुझेर नै हामी केही खाएर ५:३० तिर निस्केका थियौँ । ६:१५ पछि बल्ल उज्यालो हुन थाल्यो । यो बाटोमा पनि पहिरो खस्ने स्थान थिए । ती पार गर्दै अलि माथि २२ घुम्ती भन्ने ठाउँ आउँछ । ठाडो उकालोलाई २२ वटा ससाना घुम्ती बाटोले सहज बनाएको थियो । सो ठाउँमा पनि घोडा पाइने रहेछ । त्यहाँबाट लेक पुग्न रू सात हजार लिने रहे छ । छोरीले घोडामा जाने रहर गरिन् भने म र बिसी पैदलै हिँड्यौँ छेउका हिमालको पृष्ठभूमिमा फोटा खिच्दै । बेसक्याम्पमा फोन नलागे पनि बाटोमा कतै कतै भने टेलिफोन लाग्दो रहेछ । श्रीमतीले म र छोरीलाई फोन गरेर हाम्रो खबर लिरहेकी हुन्थिन । हामी
१०:१५ बजे तालमा पुग्यौँ ।
आहा तिलिचो ! लाग्यो हामीलाई नै पर्खेर बसेको । पूरै आकाश निलो रङको बर्को ओढेर । समुद्री सतहबाट ४९१९ मिटरको उचाइमा अवस्थित तिलिचो तालको किनारामा महादेव र बुद्धका मूर्ति यात्रुलाई अध्यात्मिक ऊर्जा दिन बसेका । सुन्दरता यति थियो कि फर्कन मनै मान्दैनथ्यो तर पनि फर्कनै पर्ने बाध्यता । केही फोटा खिचेपछि फर्किंदा दायाँतिर ससाना दुई पोखरी (कुण्ड) र माथितिर हिउँले ढाकिएको पहाड (हिमाल नै होला) थियो । त्यहाँ हामीले करिब एक घण्टा बितायौँ फोटो, भिडियो खिचेर अनि १२:१० बजेतिर फर्केर बेसक्याम्प आइपुग्दा २:५० बजेको थियो ।
हामीलाई माथि जाँदा चार घण्टा लागेछ भने फर्कंदा भने करिब पौने तीन घण्टा जति लागेछ । त्यस दिनको हिँडाइको पदचाप २७,८०० देखियो । बेसक्याम्मतिर झर्दा बाटामा एक जना युवती अलि थाकेर सुस्तरी हिँड्दै थिइन् । दोबाटो आउँदा कुन छोटो र सजिलो होला भनेर सोधिन् । उनीहरू भक्तपुरस्थित एक अस्पतालबाट डाक्टर र नर्सको आठ/दस जनाको समूहमा ट्राभल एजेन्सीमार्फत गएका रहेछन्, उनी नर्स । स्वास्थ्यकर्मी भएर मात्र के गर्नु ? लेक लागे जस्तो भएर अलि गाह्रो भएपछि समूहलाई छाडेर बेसक्याम्पतर्फ एक्लै झरेकी रहिछन् । हामीसँग गफ गर्दै झर्दा उनलाई धेरै सहज भएछ । कसैलाई पनि लेक (हाइ अल्टिच्युड) को लक्ष्यण देखियो भने उकालो नलागी तलै झर्नु पर्ने सल्लाह दिइँदो रहेछ । करिब ४० प्रतिशत जति यात्रु चाहिँ नसकेर माथि नजाने वा बिचबाटै फर्कने गर्दा रहेछन् । पौने तीन घण्टाको हिँडाइले बेसक्याम्पमा फर्केपछि धुलोले ट्राउजर र जुत्ताको रङ पूरै बदलिएको थियो ।
पाँचौँ दिन समयमै उठेर तयार भई खाजा खाई त्यहाँको दुई दिनको बसाइ, खुवाइको भुक्तानी गरी ५:४५ तिर तल झ¥यौँ पूरा उज्यालो भइसकेको थिएन । ड्राडभर साथीको हिँडाइको गति छिटो भएको र गाडी स्टार्ट गर्न समस्या हुने भनेकाले उनलाई छिटो गएर गाडीको व्यवस्थापन गर्न सुझाएँ । बाबाछोरी भने श्रीखर्क पुगेर सामान्य विश्रामसहित चिया पिएर हिँड्दा १०:४५ बजे खाङसार पुगियो । अर्थात् पाँच घण्टा अनि १८,३०० पदचाप हिँड्दा गाडी चढ्ने ठाँउ खाङसार पुगिएछ । अस्ति बसेकै होटेलमा गएर छोरीले तातोपानीले नुहाउने भनेपछि रु. २०० तिरेर तातो सावरले नुहाउने सुविधा पाइन् । करिब एक घण्टामा खाना पनि तयार भयो । उता गाडी पनि एकछिनको प्रयासपछि स्टार्ट भएछ ।
साँझ ६:४५ मा भोटेओडारस्थित मध्य मस्र्याङ्दी विद्युत् गृहमा पुगियो । त्यहाँ सो दिन बृहत् मर्मतसम्भारका क्रममा टर्वाइनको हेड कभर र प्लेट जडान गर्ने दिन रहेछ । ती दुई पाट्स मिल्छन् कि मिल्दैनन् भन्ने दुविधासाथ साथीहरू रातिसम्मै काममा लागिरहनु भएको थियो । राति नौ बजेतिर त्यो काम सम्पन्न गर्न मर्मत टोली सफल भयो । हामी पनि सन्तोष मानेर इन्जिनियरहरूको टिमसँग खाना खाएर भोलिपल्ट काठमाडौँ फर्किने गरी शुभरात्रिका साथ सुत्न गयौँ ।
छैटौँ दिन आवासगृहमा नास्ता खाएर, तल्लो मस्र्याङ्दी विद्यत्गृहको बाँधस्थल पनि निरीक्षण र इन्जिनियरहरूसँग छलफल गरी त्यहीँ दिवाखाना खाई पृथ्वी राजमार्गको धार्केबाट काठमाडौँ सीतापाइला निस्कने २४ किमी लामो वैकल्पिक बाटो हुँदै अपराह्न लोकन्थली निवास आइपुगियो ।