• २३ चैत २०८१, शनिबार

वायु प्रदूषणको जटिलता

blog

केही दिनयता काठमाडौँको वायु प्रदूषण निकै अस्वस्थ्यकर अवस्थामा पुगेको नेपाल सरकारले जडान गरेको काठमाडौँको वायु गुणस्तर मापन केन्द्रले देखाएको छ । ती मापन केन्द्रको तथ्याङ्कले काठमाडौँमा मात्र होइन पूर्वी तराईमा पनि वायु प्रदूषण बढेको देखाएको छ । काठमाडौँ उपत्यकामा वायु प्रदूषणका स्रोतहरू सडकमा गुड्ने गाडीहरू, खुला जलाइने फोहोर, भट्टाबाट निस्कने धुवाँ, काठमाडौँमा सञ्चालनमा रहेका थुप्रै साना तथा मझौला उद्योगबाट निस्कने धुवाँ, सडकमा उड्ने धुलो आदि रहेका छन । उपत्यकाभित्र उत्सर्जित प्रदूषण मात्र वायु प्रदूषणका स्रोत भने होइनन । हाल काठमाडौँमा बढेको प्रदूषणको कारक विशेष गरेर दक्षिण तराईमा सल्किरहेको वन डढेलोलाई मान्न सकिन्छ । नासाको फर्मसको तथ्याङ्कले वन डढेलो नेपालमा मात्र होइन दक्षिण भारतदेखि दक्षिण पूर्वी एसियामा पनि बढेको देखाएको छ । विभिन्न स्याटलाइटको अध्ययनले वायु प्रदूषण पूर्वी एसियाबाट पश्चिमतिर सरिरहेको देखाएको छ । त्यसको प्रभाव नेपालमा पनि देखिएको छ । त्यसमाथि दैनिक हावा पानीको अवस्थाले प्रदूषणलाई जटिल बनाइदिन्छ ।

वायु प्रदूषण स्वास्थ्यको दृष्टिकोणले कुन अवस्थामा छ भनेर नेपाल सरकारले निर्धारण गरेको वायु प्रदूषणको मापक (एयर क्वालिटी इन्डेक्स) ले देखाउँछ । यसलाई छोटकरीमा एक्युआई पनि भनिन्छ । एक्युआई शून्यदेखि ५०० सम्म मापनको स्केल हो, जुन विभिन्न प्रदूषकको आधारमा निर्माण गरिन्छ । एक्युआई सजिलो गरी बुझ्न यसको दायरालाई हरियो (०–५०), पहेँलो (५१–१००), सुन्तला (१०१–१५०), रातो (१५१–२००), बैजनी (२०१–३००), तथा खैरो (३०१–५००) रङ्गमा विभाजन गरिएको हुन्छ । एक्युआई जति बढी हुन्छ वायु प्रदूषणको कारणले स्वास्थ्यमा पर्ने प्रभाव पनि बढ्दै जान्छ । हरेक प्रदूषकको लागि एक्युआईको मात्रा १०० भनेको नेपाल सरकारले तोकेको प्रदूषणको राष्ट्रिय मापदण्ड बराबर हुन्छ । त्यसैले १०० भन्दा माथिको प्रदूषण अस्वस्थ्यकर हुन्छ । उदाहरणका लागि नेपाल सरकारले पिएम (२.५) को दैनिक औसत मापदण्ड ४० माइक्रोग्राम प्रतिघनमिटर निर्धारण गरेको छ । भन्नुको अर्थ पि एम (२.५) ४० माइक्रोग्राम प्रतिघनमिटर हुँदा एक्युआई १०० पुग्छ । एक्युआई १०१–१५० हुँदा संवेदनशील वर्गका लागि हानिकारक हुन्छ भने त्योभन्दा माथि स्वस्थ जनसमुदायका लागि समेत हानिकारक हुन जान्छ । काठमाडौँ उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले एक्युआई ३०० भन्दा माथि पुगेको अवस्थालाई विपत्को परिभाषा दिएको छ तर कति समयका लागि एक्युआई ३०० नाघेको अवस्थालाई विपत् घोषणा गर्ने भन्ने विषय कार्ययोजनामा प्रस्ट गरिएको छैन । हाल कार्यान्वयनमा रहेको वायु गुणस्तर व्यवस्थापन कार्ययोजनामा विभिन्न क्षेत्रको वायु प्रदूषण न्युनीकरणका लागि आठ वटा उद्देश्य तथा १३७ क्रियाकलाप रहेका छन् ।  

वातावरण विभागले कार्ययोजना कार्यान्वयनका लागि सचिवालयको भूमिका निर्वाह गर्ने गरेको छ । वातावरण विभागले देशभरिको वायु प्रदूषण मापनका लागि देशको ३० स्थानमा वायु प्रदूषण मापन केन्द्र जडान गरेको र हरेक वर्ष प्राप्त तथ्याङ्कहरू विश्लेषण गरी वार्षिक प्रतिवेदन प्रकाशन गर्ने गरेको छ । विभागले नियमित र उजुरीका आधारमा देशभरका विभिन्न उद्योग प्रतिष्ठान तथा अस्पतालको वातावरणीय मापदण्ड पालनाका सम्बन्धमा अनुगमन गरी मापदण्डभन्दा बाहिर रहेका उद्योग प्रतिष्ठानलाई मापदण्डभित्र रही कार्य गर्न निर्देशन दिने गरेको छ । खुला रूपमा फोहोर जलाउने गरेको पाइएमा कानुनी दायरामा ल्याउने गरिएको छ । गत पाँच वर्षमा सो कार्ययोजनामा भएको विभिन्न क्रियाकलाप सतप्रतिशत पूरा गर्न नसकिएको भए तापनि वायु प्रदूषण न्युनीकरणका लागि विभिन्न प्रयास भएका छन् । यति हुँदाहुँदै पनि कार्ययोजनामा केही कमीकमजोरी रहेका छन् । यही चैत, वैशाखमा हरेक वर्ष लाग्ने डढेलो नियन्त्रणको विषयमा कार्ययोजनामा प्रभावकारी क्रियाकलाप राखिएको छैन । वायु प्रदूषण अत्यधिक बढ्दा विपत्को अवस्था पुग्न नदिन कस्ता कदम चाल्नु पर्ने हो स्पष्ट लेखिएको छैन । यिनै कमीकमजोरीलाई सम्बोधन गर्न कार्ययोजनामा उल्लेखित वन तथा वातावरण मन्त्रीको अध्यक्षतामा गठित समन्वय समितिले नयाँ कार्ययोजना निर्माण गर्ने निर्णय गरेको छ । वायु प्रदूषण प्रशासनिक सिमानाभित्र सीमित नहुने भएकाले अन्तरसीमा वायु प्रदूषण नियन्त्रणको लागि राष्ट्रिय स्तरको कार्ययोजनाको निर्माण गर्ने पनि उक्त समितिले निर्णय गरेको छ । स्थानीय तहहरू पनि सक्रियताका साथ वायु प्रदूषण नियन्त्रणमा लागि परेका छन । 

काठमाडौँ महानगरपालिकाले सवारीसाधनको आकस्मिक चेक जाँच सुरु गरेको छ । काठमाडौँमा सञ्चालन हुने उद्योग प्रतिष्ठानहरूमा जडान भएका ब्वाइलरको सञ्चालनबाट निष्कासन हुने धुवाँ तथा चिम्नीको उचाइसम्बन्धी मापदण्ड तोकेको छ । काठमाडौँ महानगरपालिका प्रदूषण नियन्त्रण मापदण्ड २०८१ जारी गरी महानगरभित्र मापदण्ड विपरीतका सवारीसाधनलाई र उद्योग प्रतिष्ठानहरूलाई कारबाहीको दायरामा ल्याउने गरेको छ । ललितपुर महानगरले साइकल यात्रीका लागि साइकल लेनको व्यवस्था गरेको छ । सहरमा गुडने गाडीहरू प्रदूषण चेक जाँच उपकरण खरिद गरी सञ्चालनमा ल्याएको छ । त्यस्तै यी महानगरपालिकाले आफ्नो वायु गुणस्तर व्यवस्थापन कार्ययोजना २०८१ तयार गरेका छन् । काठमाडौँ उपत्यकाका अन्य नगरपालिका जस्तै कागेश्वरी मनोहरा, तार्केश्वर, चन्द्रागिरि, चाँगुनारायण नगरपालिकाले पनि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना तयार गरी लागु गरिसकेका छन । 

वायु प्रदूषण सरकारी निकायको एकल प्रयासले मात्र कम हुँदैन । हामी सबै मिलेर वायु प्रदूषण न्यूनीकरणमा ऐक्यबद्ध हुनु पर्छ । वातावरण विभागको वेबसाइटमा वायु प्रदूषणसम्बन्धी जानकारीसहित दैनिक वायु प्रदूषणको जानकारी राखिएको छ । मौसमको जानकारी लिए जस्तै वायु प्रदूषणको अवस्थाको जानकारी लिने बानी बसाल्नु पर्छ । नेपाल सरकारले विभिन्न स्थानमा वायु प्रदूषण मापन केन्द्रबाट आउने तथ्याङ्क प्रसारणका लागि डिस्प्ले बोर्डहरू जडान गरेको छ । एक्युआई १०० भन्दामाथि पुगेमा मास्क लगाउनु पर्छ । प्रदूषित समयमा अनावश्यक यात्रा गर्नु हुँदैन । सन् २०२१ मा नेपालमा भएको मृत्युमध्ये १९५ मृत्यु वायु प्रदूषणको कारणले भएको स्टेट अफ ग्लोबल एयर २०२४ को प्रतिवेदनले देखाएको छ । वायु प्रदूषणको कारणले बर्सेनि ४८ हजार मानिसको ज्यान गइरहेको छ । यसका साथै वायु प्रदूषणले फोक्सोसम्बन्धी समस्या, मुटु रोग, दमलगायत कम तौल भएको बच्चा जन्मिने समस्या निम्त्याउँछ ।