• २३ पुस २०८१, मङ्गलबार

कर्णालीको विकास सम्भावनाको अध्ययन

blog

बुलबुले समाचारदाता

सुर्खेत, मङ्सिर ९ गते । कर्णाली प्रदेशमा आर्थिक विकास सम्भावनाको अध्ययन गरिएको छ । इन्टरनेसनल (आइडिया नेपाल) ले कर्णालीका छ जिल्लामा आर्थिक सम्भावनाको विश्लेषण गरेको हो । 

रुकुमपश्चिम, दैलेख, जुम्ला, मुगु, सुर्खेत र जाजरकोटका विभिन्न क्षेत्रमा हुन सक्ने आर्थिक सम्भावनाको विश्लेषण गरिएको हो । विशेष गरी कृषि क्षेत्रमा हुन सक्ने आर्थिक सम्भावनाको पहिचान गरिएको छ । 

कृषि सर्वेक्षणका अनुसार प्रदेशमा सबैभन्दा बढी आलु उत्पादन हुने गरेको छ । प्रदेशमा १६ प्रतिशत आलु उत्पादन हुन्छ । ११ प्रतिशत सुन्तला र छ प्रतिशत स्याउ उत्पादन हुने गरेको छ । गरिएको अध्ययनले पर्यटन प्रवर्धनबाट पनि आर्थिक लाभ लिन सकिने जनाएको छ । 

जसमा रारा ताल, सेफोक्सुण्डो र दिगो पर्यटनका लागि सामुदायिक सशक्तीकरण होमस्टे सञ्चालन गर्न सकिने जनाइएको छ । यसै गरी अन्तरसीमा पर्यटनतर्फ भारत–नेपाल–चीन–कैलाश मानसरोवरलाई देखाइएको छ । प्रदेशका हिमाली जिल्लाबाट धेरै आर्थिक सम्भावना रहेको अध्ययनले औँल्याएको छ । 

उच्च मूल्यको औषधीय जडीबुटी र आवश्यक तेलहरू उत्पादन गर्न सकिने जनाइएको छ । चीनमा सोझो व्यापार गर्न सकिने बताइएको छ । जसमा ऐतिहासिक ट्रान्स हिमालयन व्यापार र मार्गहरू पुनरुत्थान गर्न सकिने अध्ययनमा उल्लेख गरिएको छ । बाँझो जमिनमा औषधीजन्य जडीबुटी र आवश्यक तेलको वैज्ञानिक खेतीलाई प्रोत्साहन गर्न सकिने जनाइएको छ । 

जडीबुटी र आवश्यक तेल (राष्ट्रिय व्यापारको) ३५ प्रतिशत गर्न सकिने अध्ययनले देखाएको आइडिया नेपालका कार्यक्रम संयोजक प्रमोद भगतले बताउनुभयो । अहिले उच्च मूल्यको तेल चीन र मध्यम मूल्यको तेल भारतमा निकासी हुने गरेको उहाँले जानकारी दिनुभयो । प्रदेशमा अहिले निर्वाहमा आधारित उत्पादन हुने गरेको छ । स्याउ र सुन्तलाको परम्परामा आधारित खेती गर्ने गरिएको छ । स्याउ र सुन्तला उत्पादनको यकिन अनुमान छैन । अध्ययनले कपास र ओखर खेतीको पनि सम्भावना देखाएको छ ।

अध्ययनले सडक सञ्जालमा पहुँचको विश्लेषण गरिएको छ । तिनै तहका सरकारको पहिलो प्राथमिकता सडक सञ्जाल विस्तार पाइएको उल्लेख छ । अहिले कर्णाली राजमार्ग र मध्य पहाडी राजमार्ग निर्माणाधीन अवस्थामा रहेको पाइएको छ । यसैबिच प्रदेशमा हुन सक्ने आर्थिक सम्भावनाका विषयमा छलफल गरिएको छ । इन्टरनेसनल आइडिया नेपालको आयोजनामा वीरेन्द्रनगरमा महिला अधिकारकर्मीसँग छलफल गरिएको हो ।