• १३ साउन २०८१, आइतबार

नेपालगञ्जमा धान खरिद निकै सुस्त

blog

खाद्य व्यवस्था कार्यालयमा धान विक्री गर्दै किसान । तस्बिर–सिराज खान । नेपालगञ्ज

सिराज खान 

नेपालगञ्ज, पुस २६ गते । बाँकेमा खाद्य व्यवस्था कम्पनी लिमिटेडले धान खरिद निकै सुस्त गतिमा खरिद गरिरहेको पाइएको छ । 

एक दिनमा दस जना किसानबाट जनही ३० क्विन्टलको दरले धान खरिद सुरु गरेको सो कार्यालयले २० दिनमा मात्र चार हजार ५०० क्विन्टल धान खरिद गरेको जनाएको छ । 

जिल्लामा रहेका आठवटै पालिकालाई कोटा निर्धारण गरेर यही पुस ५ गतेबाट २५ हजार क्विन्टल धान खरिदको लक्ष्य राखेर खरिद सुरु गरेकोमा हालसम्म १६० जना किसानबाट चार हजार ५०० क्विन्टल धान खरिद गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख रामशरण लामिछानेले बताउनुभयो । 

उहाँले पालिकामा रहेको कृषि शाखाले गरेको सिफारिसका आधारमा धान खरिद गरिरहेको जनाउँदै वास्तविक किसानको मात्रै धान खरिद गरिएको बताउनुभयो । 

धान विक्रीका लागि आउनुभएका खजुरा ५ का किसान केदार अहिरले कृषि शाखाबाट सिफारिस लिएर ३० क्विन्टल मात्र धान लिएको आएको बताउनुभयो । उहाँले यो कोटा बढाएर कम्तीमा ५० क्विन्टल गर्नुपर्ने माग पनि गर्नुभयो । 

यस्तै, धान विक्री गरेर बाहिर निस्कँदै गरेका अर्का किसान जानकी ९ का राममनोहर महतोले धेरै पहिलेदेखि प्रयास गरे पनि अहिले पालो आएको जनाउँदै ३० क्विन्टल विक्री गरेको बताउनुभयो । 

खाद्य व्यवस्था कम्पनी लिमिटेडले किसानबाहेक अरू व्यवसायी वा कुनै मिलको धान खरिद नगरेको जनाउँदै सो कार्यालयका प्रमुख लामिछानेले आफूसँग कृषि शाखाबाट आएको सिफारिस र सबै कागजपत्र सुरक्षित रहेको बताउनुभयो । 

सरकारले यस वर्ष मोटा धानको समर्थन प्रतिक्विन्टल मूल्य दुई हजार नौ सय ६७ रुपियाँ र मध्यम धानको मूल्य तीन हजार एक सय २८ रुपियाँ तोकेको छ ।