• ९ मंसिर २०८१, आइतबार

लखनऊ बस दुर्घटनामा थप दुई नेपालीको मृत्यु

blog

अविनाश चौधरी

धनगढी, पुस २६ गते । भारतको लखनऊमा भएको बस दुर्घटनामा परी ज्यान गुमाउने नेपालीको सङ्ख्या पाँच पुगेको छ । 

घटनास्थलमा तीन जनाको ज्यान गएको थियो भने दुई जना गम्भीर घाइतेको पनि मृत्यु भएको जिल्ला प्रशासन कार्यालय, कैलालीले जानकारी दिएको छ । 

उपचारको क्रममा मृत्यु हुनेमा टीकापुर नगरपालिका–१ टीकापुर बस्ने ३५ वर्षीय हरि साउद र कञ्चनपुरको पुनर्वास नगरपालिकाका २५ वर्षीय दीपक सुनार रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । 

नेपाली कामदार चढेको आरजे २७ पीए ५७०३ नम्बरको बस लखनऊ क्षेत्रमा दुर्घटना हुँदा घटनास्थलमै चार जनाको ज्यान गएको थियो । 

सोमबार बिहान करिब ४ बजेतिर भएको दुर्घटनामा परी टीकापुर नगरपालिका–१ का ५५ वर्षीय चन्द्र साउद, ४५ वर्षीय ललित साउद र २० वर्षीया निर्मला बोहराको ज्यान गएको थियो । 

दुर्घटना परी भारतकै बस चालकको पनि ज्यान गएको थियो । रास्कोटबाट तिकुनियासम्म आउने क्रममा मिनी ट्रक र बस आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

दुर्घटनामा परी सात जना कामदार सामान्य घाइते रहेको भन्ने बुझिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।