• १२ असोज २०८१, शनिबार

अल्टिच्युड एयरको हेलिकोप्टर प्रहरी नियन्त्रणमा

blog

अल्टिच्युड एयरको हेलिकप्टर प्रहरीकाे नियन्त्रणमा

ध्यान कुलुङ

सङ्खुवासभा, पुष २६ गते । सङ्खुवासभाको हटियामा अवतरण गरिएको अल्टिच्युड एयरको हेलिकप्टर प्रहरीले नियन्त्रणमा लिएको छ । गृह मन्त्रालयले दिएको उडान अनुमतिअनुसार उडान नभरी सिधै निषेधित क्षेत्रमा गएपछि प्रहरीले हेलिकोप्टर नियन्त्रणमा लिएको हो ।

भोटखोला गाउँपालिकाको जेनेरेटर बोकेर काठमाडौंबाट उडेको हेलिकोप्टरले निषेधित क्षेत्रमा जानुभन्दा पहिले जिल्ला प्रहरी कार्यालय खाँदबारीमा अवतरण गरेर चेकजाँचपछि मात्रै भोटखोलाको हटिया उडान गर्ने अनुमति लिएको थियो ।

प्रहरीले हेलिकोप्टरका पाइलट आनन्द थापालाई नियन्त्रणमा लिएर प्रहरीचौकी हटियामा राखेको जिल्ला प्रहरी प्रमुख डिएसपी वीरेन्द्र गोदारले जानकारी दिनुभयो । नियन्त्रणमा लिइएको हेलिकप्टरमाथि  अनुसन्धान भइरहेको गोदारले जानकारी दिनुभयो । हेलिकप्टर नियन्त्रणपछि जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयमा पत्राचार भइसकेको उहाँले बताउनुभयो ।

हेलिकोप्टरले भोटखोला गाउँपालिकाको माक्पालुंगमा रहेको टेलिकमको टावर सञ्चालनका लागि जेनेरेटर ल्याएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्छेदर भोटेले जानकारी दिनुभयो । चौकीका प्रहरी, दूरसञ्चारका कर्मचारीलगायतको रोहवरमा जेनेरेटर हेलिकोप्टरबाट निकालिएको भोटेले बताउनुभयो ।