• ८ मंसिर २०८१, शनिबार

‘रङ्गमञ्च जीवन सिकाउने ठाउँ’ : रङ्गकर्मी पुष्कर कार्की

blog

रङ्गकर्मी पुष्कर कार्की । तस्बिर : केशब गुरुङ ।

काठमाडौं, पुस २६ गते । 'म पुष्कर बन्न चाहन्छु र पुष्कर नै बन्ने लक्ष्य लिएर लागिरहेको छु ।' यही उद्देश्य लिएर ८ वर्षदेखि उहाँ निरन्तर रूपमा मिहिनेत गर्दै हुनुहुन्छ रङ्गकर्मी पुष्कर कार्की । ८ वर्षको अवधिमा कार्कीले हालसम्म १२ वटा नाटकमा अभिनय कला देखाइसक्नुभएको छ । 

करिब एक दर्जनभन्दा बढी नाटकमा अभिनय गरिसक्नुभएका पुष्करले अचेल ठूलो पर्दामासमेत अभिनय सुरु गर्नुभएको छ । 

पुष्करलाई आफू कलाकार भनेर चिनाउन पाउँदा आनन्द लाग्छ । भोजपुरमा जन्मेका पुष्कर कार्कीलाई सानैदेखि टेलिभिजनमा देखिने मानिस कस्ता होलान्, कसरी टेलिभिजनभित्र छिर्छन् भन्ने उत्सुकता हुन्थ्यो । दुर्गम भेगमा जन्मेका उहाँ यही मनस्थितिसँगै हुर्किए । 

कक्षा ७ मा पढ्न गाउँबाट सुनसरीको इटहरी झरेका कार्कीको मनमा शान्ति थिएन । तर टेलिभिजन हेर्दा मन खुसी हुन्थ्यो । त्यसपछि वि.सं २०६६ मा स्नातक पढ्न पुष्कर काठमाडौं आए र मकालु प्रकाशन गृहमा मार्केटिङको काम गर्ने थाले । प्रकाशन गृहबाट निस्केको पत्रिका सबैको टेबल टेबलमा पुर्‍याउँथे कार्की । 

पुष्कर भन्नुहुन्छ, “बाटो सधैँ अनामनगर र पत्रिका बाँड्ने मेरो अधिकांश समय सिंहदरबार हुन्थ्यो । म प्रेसकै कार्ड लिएर सिंहदरबार छिर्थेँ । स्वपान मासिकको प्रेस कार्डले मलाई सिंहदरबार छिर्न गाह्रो हुन्थेन ।” 

अनामनगर बाटोका भित्ताभर पोस्टर तासिएको त्यो दिन कार्की सम्झिनुहुन्छ । पाँच वर्ष मार्केटिङको काम गर्दै त्यो बाटो हिँडियो तर अनामनगरमा नाटक सिकाउने ठाउँ छ भन्ने आफूलाई थाहा नभएको उहाँ सम्झिनुहुन्छ । 

 

नाटकको परिभाषा थाहा थिएन

कलाकार पुष्करलाई नाटकको परिभाषा थाहा पाउन धेरै समय लाग्यो । सानैदेखि अभिनयमा रहर हुँदाहुँदै पनि रङ्गमञ्च छिर्ने माध्यम उहाँसँग थिएन । 

“एक दिन झुक्किएर मामाको चिया पसल पसेँ । त्यहाँ फिल्म क्षेत्रमा आबद्ध धेरै व्यक्ति थिए । आफूलाई जुन कुरा देख्दा खुसी लाग्ने त्यही व्यक्तित्व प्रत्यक्षरुपमा देख्दा खुसी भएँ,’’ उहाँ भन्नुहुन्छ ।

“म त्यहाँ एक्लै चिसो खाँदै उहाँहरूको कुरा सुन्थेँ । त्यसैबखत मलाई मण्डला नाटक घरको बारेमा थाहा भयो र सङ्गीतकार पारस मुकारुङ दाइको मद्दतले म मण्डला छिरेँ । मैले सोचेँ दाइले मलाई दोहोरी साँझमा ल्याउनुभयो । किनकि त्यहाँका व्यक्ति सबै कालो पहिरनमा थिए । यसरी बिस्तारै मलाई नाटकको ज्ञान हुँदै गयो ।” 

सानैदेखि देखेको सपना पूरा गर्न कार्की दिनहुँ मण्डला धाउन थाले । अडिसनको लागि निरन्तर प्रयास सुरु भयो । मण्डलाको ल्याब ५ को अडिसन दिने पहिलो व्यक्ति पनि बने कार्की । “मभन्दा पछि मात्रै अरू साथीहरू अडिसनको फारम भर्न आउन थाले,” पुष्करले भन्नुभयो । 

“नाटक र काम दुवैसँगै लैजान नसकेपछि मैले मार्केटिङको काम छाडेँ । काममा धेरै पैसा हुन्थ्यो तर मन कहिले खुसी भएन । सुरुसुरुमा नाटक सिक्ने समयसँगै काम गर्थेँ। म अफिसको चार दिनको काम एकैदिन भ्याउँथे र अफिसमा फिल्ड वर्क भन्दै झुटो बोलेर नाटक सिक्न जान्थे”, उहाँ भन्नुहुन्छ ।

 "म धेरैबाट प्रेरित भएको छु तर मलाई अरूजस्तो बन्नु छैन । मलाई पुष्कर कार्की नै बन्नु छ र म पुष्कर कार्की नै बन्ने दौडमा छु ।" 

रङ्गमञ्च जीवन सिकाउने ठाउँ

सुरुमा पुष्करलाई अभिनय भन्ने त रुने र हाँस्ने मात्र हो जस्तो लाग्थ्यो । छापाखानामा काम गर्दा उहाँले एउटा म्युजिक भिडियो पनि गर्नुभयो, जुनबेला उहाँलाई अभिनयको अर्थसमेत थाहा थिएन । त्यसपछि फिल्म खेल्ने अफर आयो । त्यही कारण अभिनय सिक्न उहाँ रङ्गमञ्च छिरेको छिरै हुनुभयो । 

रङ्गकर्मी कार्की भन्नुहुन्छ, “मेरा लागि रङ्गमञ्च जीवन सिकाउने ठाउँ हो । जहाँ सिकाइले भन्दा धेरै अनुभवले काम गर्छ । अनुभव पनि जीवन, दुःखसुख र भोगाइको अनुभव रहेछ । त्यसैले रङ्गमञ्च जीवनको भोगाइ हो ।”


रङ्गमञ्चले एउटा धागो मात्रै भेट्टाइदिन्छ

रङ्गमञ्चले कुनै पनि व्यक्तिलाई पूरै कलाकार भएर ननिकाल्ने कार्कीको भनाइ छ । रङ्गमञ्चले धागो मात्रै भेट्टाइ दिने काम गर्ने उहाँको अनुभव छ । 

“जागिर छोडेँ, ६ महिनाको प्रशिक्षण पनि सकिएर ‘अन्धो युग’ भन्ने नाटक मञ्चन भयो । यो मण्डलाका विद्यार्थीहरूले अभिनय गरेको नाटक हो । तर यसपछि अब के गर्ने भन्ने विषयमा म फेरि अलमल भएँ”, उहाँले भन्नुभयो । 

कार्कीको अभिनय सिकेर फिल्म खेल्न जाने सपना थियो तर उहाँलाई आफ्नो अनुहार देखाउनकै लागि दर्शकसामु आउन मन थिएन । 

“मण्डला नाटक घर प्रवेश गर्दा म काँचो माटो थिएँ । प्रशिक्षकले जता ढल्कायो म उतै ढल्किन्थेँ । म धेरै कुरा सिक्न चाहन्थेँ जुन अहिले अभ्यासमा उतारिरहेको छु ।” 

“मैले ७ वर्ष कुरे, आफ्नो अनुहार देखाउन । कला क्षेत्रमा लामो बाटो तय गर्ने हिसाबले म लागिरहेको थिएँ र लागिरहनेछु,” उहाँले भन्नुभयो ।

फिल्म र रङ्गमञ्चको दुनियाँ फरक

रङ्गकर्मी कार्कीका अनुसार फिल्म र रङ्गमञ्चको दुनियाँ फरक छ । मैले अहिले फिल्म अभिनय सिक्न मात्रै गरेको हो तर पनि यसो भन्दै गर्दा मेरो खास रहर फिल्ममा नै छ ।

फिल्ममा अभिनयको पाटोमा प्राविधिक विषय आउने गर्छ । नाटकमा एउटै इमोसन हुन्छ, फिल्ममा टेक भएको कारणले हरेक टेकमा उस्तै अभिनय गर्न सकिन्नँ तर पहिलो टेकभन्दा राम्रो पनि गर्न सकिने उहाँ बताउनुहुन्छ । “तर नाटकमा यस्तो हुँदैन । जे गर्‍यो त्यही दिन सकियो”, उहाँले भन्नुभयो । 

कार्की फिल्म ‘प्रेमगीत ३’ डमीको भूमिकामा देखिएका हुन् । धेरैले डमी बन्यो भनेर गाली गरे तर त्यो उहाँको लागि सिकाइ थियो । 


रङ्मञ्चमा उत्साह

रङ्गकर्मी कार्कीका लागि मिठो पल भनेकै आजको दिन हो । तर उदाउँदै गरेका कार्कीको जीवनमा कोरोना भाइरसको महामारी अवरोध बनेर आइदियो । 

“कोरोना कालको समयमा केही काम भएन, मलाई ‘एन्जाइटी अट्याक’ भयो । कामको बारेमा आफैँ आफैँमा धेरै सोच्न थालेछु । दुई महिनासम्म धेरै गाह्रो भयो,” उहाँ भन्नुहुन्छ, “एकै छिनमा मर्छु जस्तो लाग्थ्यो । काम गरिरहने मान्छे म अचानक सबै थप्प भयो र १०० रुपियाँ पनि नभएको समय थियो ।” 

चार भित्ताको कोठामा बन्द भएर पर्दाको बुत्ता गन्दै दिन बिताउने गर्थेँ म । पाँच रातसम्म आँखा नै नचिम्ली बिताएको छु । सामान्य अवस्था हुँदा बाँच्नका लागि दुःख नभए पनि अब भने जीवन धेरै गाह्रो हुन थालेको उहाँको त्यो बेलाको अनुभव छ । 

यसबारे मैले आफ्नो आमालाई पनि भनिन् । म सोच्थेँ एक दिन यो डरलाई अवश्य जित्नेछु । जीवनमा यो दुःखको क्षणलाई मैले जित्नु नै मेरा लागि खुसीको दिन हो ।

यसरी नाटक ‘अन्धो युग’, ‘एन्टिगोनी’, ‘मसान्दार’, ‘जाली’, ‘काला पत्थर’ लगायत नाटकमा अभिनयपछि हालै नाटक कुभिण्डोको कथासँग जोडिएका पुष्कर चार वर्षपछि यस नाटकसँग जोडिनुभएको हो । यस कथामा उहाँको सशक्त अभिनय देख्न सकिन्छ । 


उहाँ भन्नुहुन्छ, “नाटक गर्दै गर्दा मञ्चमा दर्शकसँग अन्तरक्रिया गर्दा खुसी लाग्छ, मौनरुपमा उहाँहरूले सहमति दिनुहुन्छ । यसले मलाई अझै शक्ति र हौसला प्रदान गर्छ ।” 

पहिलेभन्दा नाटक प्रस्तुत गर्ने र शब्द चयन गर्ने काममा परिवर्तन आएको र आफूलाई निखार्ने माध्यम कलाकारले पाएको उहाँको अनुभव छ ।