• १३ साउन २०८१, आइतबार

ट्राभल एजेन्ट एशोसिएसन अफ इन्डियाको क्षेत्रीय सम्मेलन नेपालगञ्जमा

blog

भारतीय पर्यटक व्यवसायीको भेला र वेस्टर्न ट्राभल मार्ट बारे जानकारी गराउँदै । तस्विर - सिराज खान । नेपालगञ्ज

सिराज खान 

नेपालगञ्ज, पुस २५ गते । भारतीय पर्यटन व्यवसायीहरूको छाता सङ्गठन ट्राभल एजेन्ट्स एशोसिएसन अफ इण्डियाको क्षेत्रीय च्याप्टरको भेला आगामी महिना नेपालगञ्जमा हुने भएको छ । 

नेपाल पर्यटन बोर्डको आग्रहमा पहिलो पटक ट्राभल एजेन्ट्स एशोसिएसन अफ इण्डियाले आफ्नो क्षेत्रीय च्याप्टरको भेला पश्चिम नेपालको प्रमुख केन्द्र नेपालगञ्जमा माघ १४ देखि १६ गतेसम्म आयोजना गर्ने निर्णय गरेको नाट्टा बाँकेले जनाएको छ । 

नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले दिनु भएको जानकारी अनुसार ट्राभल एजेन्ट्स एशोसिएसन अफ इण्डियामा आबद्ध भारतका ७५ भन्दा बढी वरिष्ठ पर्यटन व्यवसायी सो क्षेत्रीय भेलामा सहभागी हुन नेपालगञ्ज आउने भएका छन् । 

सो भेलामा ट्राभल एजेन्ट्स एशोसिएसन अफ इण्डियाका अध्यक्ष ज्योति मयालगायत अन्य केन्द्रीय पदाधिकारी पनि आउनेछन् । 

नेपालगञ्जस्थित पाँच तारे होटल सोल्टी वेस्टर्न प्रिमियरमा आयोजना गरिने सो क्षेत्रीय भेलाको तयारी सुरु गरिएको जनाउँदै नाट्टा बाँकेका अध्यक्ष सिग्देलले सो अवसरलाई पश्चिम नेपाल लगायत समग्र देशको पर्यटन विकासका लागि सदुपयोग गरिने बताउनुभयो । 

भारतका विभिन्न प्रदेशका वरिष्ठ पर्यटन व्यवसायीहरू यति धेरै सङ्ख्यामा नेपालगञ्ज आउने अवसरलाई सदुपयोग गर्न सोही अवसरमा वेस्टर्न ट्राभल मार्टको दोस्रो संस्करणको पनि आयोजना गरिने नाट्टा बाँकेले जनाएको छ । 

सो मार्टमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पर्यटन व्यवसायीको मुख्य सहभागिता रहने छ भने काठमाडौँसहित सातै प्रदेशका पर्यटन व्यवसायी पनि सहभागी हुनेछन् । 

क्षेत्रीय भेलामा आएका भारतीय पर्यटन व्यवसायीलाई पश्चिम नेपाललगायत नेपाल भरकै प्रमुख पर्यटन गन्तव्यका बारेमा जानकारी गराउने तथा पश्चिमका केही पर्यटकीय स्थलहरूसम्म पुर्‍याउने योजना रहेको नाट्टा बाँकेका अध्यक्ष सिग्देलले बताउनुभयो । 

भारतीय टुर अपरेटरहरूलाई बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके र कर्णाली तथा सुदूरपश्चिमका विभिन्न पर्यटकीय गन्तव्य घुमाइनेछ ।

उनीहरूका कारण नेपालमा भारतीय पर्यटक आउने भएकाले यसपटक सबैसँग सहकार्य गरेर भारतीय टुर अपरेटरलाई महत्त्वपूर्ण गन्तव्यमा लैजाने योजना रहेको नाट्टा बाँकेले जनाएको छ । 

कर्णाली र सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने मुख्य थलोका रूपमा प्रयोग गरिने सो मार्ट र क्षेत्रीय भेलालाई यसपटक स्थानीय संस्कृति, टुर प्याकेज र कर्णाली तथा सुदूरपश्चिमका पहाडी तथा हिमाली जिल्लामा पर्यटक आकर्षण गर्ने अवसरका रूपमा सदुपयोग गरिनेछ ।