• १३ साउन २०८१, आइतबार

जलपक्षी गणना शुरु भयो चितवनमा

blog

शान्ता अधिकारी 

चितवन, पुस २४ गते । चितवनमा आइतबारदेखि जलपक्षी गणना शुरु भएको छ । राष्ट्रिय निकुञ्ज विभागको नेतृत्वमा हिमालयन नेचरले सबै राष्ट्रिय निकुञ्ज, सिमसार क्षेत्र र जलाशयमा शनिबारदेखि जलपक्षी गणना शुरु गरेको हो ।

वर्ड एजुकेशन सोसाइटी सौराहाका पूर्वअध्यक्ष वासु बिडारीका अनुसार पूर्वी चितवनमा वर्ड एजुकेशन सोसाइटी सौराहाको नेतृत्वमा र पश्चिम चितवनमा वर्ड एजुकेशन सोसाइटी मेघौलीको नेतृत्वमा र निकुञ्जको नवलपुर क्षेत्रमा छुट्टै समूहमार्फत जलपक्षी गणना शुरु गरिएको हो ।

पूर्वी सेक्टर अन्तर्गत लोथर पुलदेखि सौराहासम्म र पश्चिम सेक्टर अन्तर्गत मेघौलीदेखि सौराहासम्म र चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा रहेका ताल तलैयाहरुमा दुबै सेक्टरको समन्वयमा चरा गणना गरिनेछ ।

त्यस्तै, निकुञ्जको नवलपुर क्षेत्रमा छुट्टै समूहमार्फत जलपक्षी गणना गरिनेछ । चितवनमा जल पंक्षीकोे मुख्य बासस्थान रहेको ढुङ्ग्री खोला, बूढीराप्ती खोला, लामी ताल, तमोर ताल, बरुण ताल, बीसहजारी ताल र राइनो ताललाई लिइन्छ ।

जलपक्षी गणनाका राष्ट्रिय संयोजक डा. हेमसागर बरालका अनुसार नेपालमा पाइने चराहरुमध्ये केही प्रजातिका चराहरु लोपोन्मुख अवस्थामा छन् । तीन हप्तासम्म चल्ने उक्त पक्षी गणनामा नेपालभर ३५० जना चराविज्ञ र संरक्षणकर्मीको सहभागिता रहेको उहाँले बताउनुभयो ।

नेपालमा पछिल्लो तथ्याङ्कअनुसार ८९२ प्रजातिका चराहरु रहेकोमा दुई सय प्रजातिका चराहरु पानीमा आश्रित छन् । चितवनमा मात्रै ६५२ प्रजातिका चराहरु रहेको मानिन्छ । नेपालमा डंगर गिद्ध, लामो ढुडे गिद्ध, सानो खैरो गिद्ध, गोमायु चिल, खर मयुर, सानो खर मयुर, बगाले बगेडीलगायत १६६ प्रजातिका चरा सङ्कटापन्न अवस्थामा रहेको मानिन्छ ।