• १३ साउन २०८१, आइतबार

कोरोनाले बन्द साप्ताहिक हाट दुई वर्षपछि पुनः सुरु

blog

रावाबेंसी गाउँपालिकाको केन्द्र कुभिण्डे हरमटारमा पुनः साप्ताहिक हाट सञ्चालन ।

राजकुमार भट्टराई

खोटाङ, पुस २४ गते । रावाबेंसी गाउँपालिकाको केन्द्र कुभिण्डे हरमटारमा पुनः साप्ताहिक हाट सञ्चालनमा आएको छ । कोभिड–१९ का कारण बन्द भएको साप्तहिक शुक्रबारे हाट आजबाट पुनः गाउँपालिकाले सञ्चालनमा ल्याएको हो । 

हाट सञ्चालनमा आएको पहिलो दिन क्रेता एवं विक्रेताहरुको उल्लेखनीय सहभागिता थियो । स्थानीयस्तरमा उत्पादन भएका मुला, साग, बन्दा, अदुवा, लसुन, उखु, भुइँकटहर, सखरखण्ड, सुन्तला, केरा, दाललगायतका कृषि उपज लिएर कृषकहरु विक्री गर्न बजार आएका थिए ।

हाटमा खाजा नास्ताको लागि होटल एवं लत्ता कपडा पसल पनि सञ्चालन गरिएको थियो । आफूले उत्पादन गरेका कृषि उपजहरु घर नजिकै विक्री गर्न पाउँदा कृषक हर्षित भएका छन् ।  

गाउँपालिकाभित्र उत्पादन भएका कृषि उपजहरुको बजारीकरणका लागि सरोकारवाला सबैसँग छलफल गरेर पुनः साप्ताहिक हाट सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष अध्यक्ष फट्टिककुमार श्रेष्ठले बताउनुभयो । ‘रावाबेंसीमा धेरै कृषि उपजहरु उत्पादन हुन्छन् तर बजारीकरणको समस्या छ । त्यसैले कृषकको सहजताको लागि हाट पुनः सञ्चालनमा ल्याइएको हो ।’ अध्यक्ष श्रेष्ठले भन्नुभयो । 

कृषि पेसाबाट कृषकलाई आत्मनिर्भर बनाउँदै पालिकाभित्र हुने आयतलाई कम गर्ने योजनामा गाउँपालिका रहेको अध्यक्ष श्रेष्ठले सुनाउनुभयो । जसअन्तर्गत तोरी उत्पादनका लागि कृषकलाई पालिकाले बीउ उपलब्ध गराएको छ ।

आगामी दिनमा गुन्द्रक, भुजा, अचारलगायत पालिकामा उत्पादन गरेर बाहिर निर्यात गर्ने गरी कार्यक्रम सञ्चालन गर्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।