रमेश पौडेल
पोखरा, पुस २१ गते । पृथ्वीनारायण क्याम्पसले भोगचलन गर्दै आएको जग्गाबाट स्वीकृति नलिई सेती नदीमाथि पुल निर्माण गर्ने कार्यको विरोध गरेको छ । कि. नं. ८३३ को झन्डै २२३ रोपनी जग्गामा सो विवाद देखिएको हो । सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय पुल सेक्टरले पोखरा वडा नं १ र ११ नं जोड्न सो पुल निर्माण गर्न लागेको हो ।
सो बारे पृथ्वीनारायण क्याम्पसले बिहीबार पत्रकार सम्मेलन गरी पुल निर्माणकार्य बन्द गर्न र क्याम्पसको हितविपरीत काम नगर्न सम्बद्ध पक्षसँग माग राखेको छ ।
क्याम्पस प्रमुख सरोज कोइरालाले भन्नुभयो, ‘सो जग्गा क्याम्पसको भोगचलनमा रहेको र दर्ता प्रक्रियामा अगाडि बढेको छ । हामी विकास विरोधी होइनाैं, पुल बनाउने हो भने क्याम्पसकै दर्ताभित्रको जग्गाबाट पुल निर्माणका लागि सहमति दिन सकिन्छ ।’
२०१७ साल भदौ १७ गते स्थापना भएको सो क्याम्पस मुलुककै अग्रणी शिक्षण संस्थाका रुपमा लिइन्छ । यस क्याम्पसमा ५ वटा संकायका ३३ वटा विभाग र ३४ विषयमा झन्डै १५ हजार विद्यार्थी अध्ययनरत छन् ।