• १६ भदौ २०८१, आइतबार

त्रिवि स्ववियु निर्वाचन

नेतृत्व गर्न विद्यार्थी नेताहरू उत्साहित

blog

काठमाडौं, पुस २१ गते । विद्यार्थी सङ्गठनहरुले यसै वर्षभित्र त्रिभुवन विश्वविद्यालयमा स्ववियु निर्वाचन सम्पन्न गरिसक्ने गरी तयारी अघि बढेको जनाएका छन् । प्रत्येक दुई वर्षपछि फागुन १४ गते स्ववियु निर्वाचन हुने नियमित प्रक्रिया भए पनि विगत लामो समयदेखि विविध कारणवश यो निर्वाचन हुन नसकेको हो ।

स्ववियु निर्वाचन केही मिश्रित प्रणालीअनुसार हुन्छ । केही पद प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत र केही समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने व्यवस्था छ ।

स्ववियु निर्वाचनको मिति फागुन १४ गते भए पनि यो पटक परीक्षा एवम् फागु पूर्णिमा, नारीदिवसका कारण छ दिनसम्म निरन्तर सार्वजनिक बिदा परेका कारण फागुन २८ गतेका लागि जोड गरेका हुन् ।

त्रिवि र विद्यार्थी सङ्गठनले चैत १४ वा यसै महिनाभित्र स्ववियु निर्वाचन सम्पन्न गरिसक्ने तयारी गरेको जनाएको हो । २०३६ सालदेखि व्यवस्थित रुपमा प्रत्येक दुई दुई वर्षमा स्ववियु निर्वाचन हुँदै आएको छ । २०६३ को दोस्रो जनआन्दोलनयता यो निर्वाचन नियमित हुन सकेको छैन । २०६३ सालयता दुई वर्षको क्रमभङ्ग गरेर २०६५ सालमा स्ववियु निर्वाचन भयो ।

त्यसपछि २०७३ सालमा त्रिविमा ६२ वटा आङ्गिक र एक हजार ४० वटा सम्बन्धनप्राप्त क्याम्पस हुँदा नौ वटा आङ्गिक र उपत्यकाबाहिर १७ वटा क्याम्पसमा मात्र स्ववियु निर्वाचन भयो । त्यो बेला उपत्यकाका १३ वटा क्याम्पस र उपत्यकाबाहिर २३ आङ्गिक क्याम्पसमा निर्वाचन हुन सकेको थिएन ।

विद्यार्थी नेताका धारणा

विद्यार्थीकै प्रतिनिधित्व गर्ने नयाँ नेतृत्व आउँछ : पञ्चा सिंह

सत्तारुढ नेकपा (माओवादी केन्द्र)सँग सम्बद्व अनेरास्वियु (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंहले यही वर्षभित्र स्ववियु निर्वाचन सम्पन्न गर्न गत भदौमा नै त्रिविलाई ज्ञापनपत्र बुझाइएको बताउनुभयो । यति लामो समयसम्म स्ववियु निर्वाचन नहुनुका पछाडि त्रिवि आफैँ आफ्नो कार्यतालिकामा अडिग हुन नसकेको उहाँ बताउनुहुन्छ ।

सिंहले भन्नुभयो, “क्याम्पस प्रमुखहरु आफैँ जुन ढङ्गले आफ्नो पार्टीको वैचारिक आबद्वता भएको सङ्गठनले नजित्ने भएपछि विद्यार्थी सङ्गठनको मिलेमतोमा स्ववियु भाँड्ने गरी नै लाग्ने विडम्बनापूर्ण स्थिति बन्यो । विद्यार्थी सङ्गठन ताला बोकेर तालाबन्दी गर्ने अलोकतान्त्रिक चरित्र देखा प¥यो । तर अब तालाबन्दी निषेध गर्ने गरी हामीले पहल थालिरहेका छौं । स्ववियु निर्वाचनको वातावरण बन्छ ।”

राष्ट्रिय नेतृत्व निर्माणको नर्सरी भएकाले स्ववियु मिनि इलेक्सनको रुपमा पनि लिइने गरे पनि दलहरुमा जुन ढङ्गले नेतृत्व निर्माणमा सङ्कट देखापर्नु र नयाँ पुस्ता प्रवेश नगर्नु स्ववियु निर्वाचन नियमित हुन नसक्नुको उपज रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “निर्वाचन हुने वातावरण बनायौं भने दुई वर्षको अवधिमा हजारौं नेतृत्व निर्माण हुन्छ । लोकतन्त्रको प्रक्रियाबाट आउँछ । कलेजहरुमा जुन ढङ्गको अस्वस्थ प्रतिस्पर्धा जस्तो देखापरेको छ, सङ्घसंस्थाक नाममा विभिन्न प्रकृतिका समस्या देखापरेका छन् । विद्यार्थीकै प्रतिनिधित्व गर्ने गरी नयाँ नेतृत्व आउँछ ।”

अहिले जुन समयमा स्ववियु निर्वाचन हुन्छ, अबको दुई वर्षभित्र फेरि पनि सल्लाह गर्न नपर्ने गरी नियमित निर्वाचन हुने वातावरण बनाउन त्रिविले परामर्श गरिरहेको जानकारी उहाँले दिनुभयो । चैतको पहिलो वा दोस्रो हप्तासम्म निर्वाचन सम्पन्न हुने उहाँको भनाइ छ ।


स्ववियु निर्वाचन समीक्षाभन्दा प्राथमिकताको विषय: सुनीता बराल

नेकपा (एमाले) निकट अनेरास्ववियुका अध्यक्ष सुनीता बरालले स्ववियु निर्वाचनको कार्यतालिका र मिति जतिसक्दो छिटो तय गर्ने कुरालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । यसका लागि अनेरास्ववियुले पहल एवम् प्रयत्न गर्दै आएको भन्नुहुँदै उहाँले विगतमा समयमै निर्वाचन हुन नसकेको समीक्षा गर्नु एकातिर भए पनि आजको प्राथमिकतामा स्ववियु निर्वाचनलाई राख्नुपर्ने बताउनुभयो ।

बरालले भन्नुभयो, “विगतमा विभिन्न कारणले रोकियो । विद्यार्थी सङ्गठनको उपस्थितिलाई बढी राजनीतिक कोणबाट बनाउन खोजिएको, उमेर हदबन्दी, सङ्गठन निर्माणको विषयले पनि फरक प¥यो । यो अनेकौं कोणबाट छलफल, समीक्षा त गर्न सकियो, समीक्षाभन्दा आजको प्राथमिकताको विषयमा यसलाई राख्नुपर्छ ।”

कुनै समय सरकार सञ्चालन गरेको पार्टीसँगको समन्वयको विषयको सन्दर्भ रहेको भन्नुहुँदै विश्वविद्यालयका पदाधिकारीले आफ्नो जिम्मेवारी पूरा गर्ने कुरामा राजनीतिक दल वा पार्टी बनेर नभएर नियमित कार्यक्रम अन्तर्गत स्ववियु निर्वाचन हुनुपर्ने भनाइ उहाँले राख्नुभयो ।


कार्यतालिका घोषणा हुनुपर्ने नेवि सङ्घको बटमलाइन: दुजाङ शेर्पा

यस्तै, नेपाली कांग्रेस निकट नेवि सङ्घका सभापति दुजाङ शेर्पाले स्ववियु निर्वाचनमा जाने स्पष्ट धारणा आफूहरुको रहेको बताउनुभयो । तर सबै परीक्षाका रिजल्टहरु नआएकाले रिजल्टपछि जुनसुकै समयमा निर्वाचनका लागि नेवि सङ्घ तयार रहेको उहाँले बताउनुभयो ।

शेर्पाले भन्नुभयो, “हाम्रो धारणा स्पष्ट छ । हामी चुनावमा जाने हो । तर,अहिले रिजल्ट आइरहेको छैन । सोझै चुनावमा जाँदा नकारात्मक असर पर्छ । मास्टर्सलगायत बाँकी रहेका सबै तहको रिजल्ट समयमै आउनुपर्छ, स्ववियुको कार्यतालिका घोषणा हुनुपर्ने नेवि सङ्घको बटमलाइन छ ।”

नेवि सङ्घ अहिलेको पहिलो महिना सङ्गठन विस्तारमा जुट्ने र जुनसुकै बेला पनि स्ववियु निर्वाचनका लागि तयार हुने गरी अघि बढेको उहाँको भनाइ छ ।


पूर्ण समानुपातिक निर्वाचनको माग: सुदेश पराजुली

नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले स्ववियु निर्वाचनकै लागि आफूहरुले निरन्तर बैठकमा छलफल गर्दै आएको बताउनुभयो,  “स्ववियु निर्वाचनको पक्षमा लागेका छौं । निर्वाचन प्रणालीमाथि केही सुधार गर्नुपर्छ भन्ने कुरा राखिरहेका छौं । गएको निर्वाचनमा पनि देखियो प्रत्यक्ष निर्वाचन प्रणाली एकदम खर्चिलो भयो । स्ववियु निर्वाचन पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट जानुपर्छ भन्ने छ ।” देशको समग्र निर्वाचन एकदम महँगो र धेरैभन्दा धेरै आर्थिक चलखेल बढेको भन्नुहुँदै उहाँले स्ववियुमा विशुद्व शैक्षिक गतिविधि हुनुपर्ने भनाइ राख्नुभयो ।

उहाँले भन्नुभयो, “मूलतः स्ववियु भनेको विशुद्व शैक्षिक गतिविधि हो । राजनीतिक दलको जित जस्तो ठान्ने अवसर पनि रहेको भन्ने लागेर क्याम्पसको उत्कृष्ट एक महिला र एक पुरुष स्वतः स्ववियुको सदस्य हुने व्यवस्था हुनुपर्छ भन्ने बटमलाइन हो ।”


निर्वाचन पूर्ण समानुपातिक समावेशी हुनुपर्नेमा जोड: रोशन मिश्र

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निकट विद्यार्थी सङ्गठन लोकतान्त्रिक विद्यार्थी सङ्घका अध्यक्ष रोशन मिश्रले पनि निर्वाचन पूर्ण समानुपातिक समावेशी हुनुपर्नेमा जोड दिनुभयो । मिश्रले यति लामो समयसम्म स्ववियु निर्वाचन हुन नसकेको तर, कोषमा जम्मा भएको आर्थिक सङ्कलन पारदर्शी हुनुपर्ने बताउनुभयो ।

“विद्यार्थीको नाममा धेरै पैसा जम्मा भएको छ । कोषमा जम्मा भएको पैसा कहाँ गयो ? सार्वजनिक गर्नुस्”, उहाँले भन्नुभयो । यद्यपि तोकिएको मितिमा स्ववियु निर्वाचन हुनुपर्ने पक्षमा आफूहरु रहेको उहाँले बताउनुभयो ।


साझा सहमति भइसकेको छैन: अशोक राई

जनता समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सचिव अशोक राईले स्ववियु निर्वाचनका लागि विद्यार्थी सङ्गठनको सर्वदलीय बैठक अझै बस्न नसकेको बताउनुभयो ।

“सर्वदलीय बैठक नभएको अवस्थामा चुनाव त गर्ने पक्षमा हो तर कहिले गर्ने हो भनेर विद्यार्थी सङ्गठनकाे बैठक बसेको छैन”, राईले भन्नुभयो ।

समाजवादी विद्यार्थीले निर्वाचन प्रक्रिया क्रममा चिठी दर्ता गर्नेलगायतका तयारी अगाडि बढाएको छ तर कहिले गर्ने भन्ने सहमति भइनसकेको उहाँले बताउनुभयो ।

विश्वविद्यायलमा नीति, निर्माण गर्ने, विद्यार्थीको मुख्य सरोकारवाला एवम् प्रतिनिधित्वको विषय सुरक्षित गर्न स्ववियु निर्वाचन अत्यन्त महत्वपूर्ण रहेको विद्यार्थी नेताहरुको भनाइ छ । उनीहरुले स्ववियुमार्फत हरेक क्याम्पसमा प्रशासनिक विषयको सुधार, शैक्षिक कार्यक्रम चुस्तदुुरुस्त बनाउने विषयलाई स्थापित गर्न पहल गर्दै आएको बताउने गरेका छन् ।


Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।