• २० असोज २०८१, आइतबार

सेतीवेणी शिला शालिग्रामको संरक्षणमा जुटे ३ जिल्ला

blog

तस्बिर – स्थलगत अनुगमन तथा निरीक्षण हुँदै ।

राधाकृष्ण डुम्रे

वालिङ, पुस १७ गते । तीन जिल्लाको संगमस्थलमा रहेको शिला शालिग्रामको संरक्षणमा तीन जिल्ला जुटेका छन् । स्याङ्जा, पर्वत र गुल्मी जिल्लाले सेतिवेणीमा रहेको शिला शालिग्रामको संरक्षण गर्दै धार्मिक पर्यटकीय क्षेत्र बनाउन लागि परेका हुन् । 

तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, जिल्ला समन्वय समितिका प्रमुखहरू, संगमस्थलका पालिकाका प्रमुखहरू तथा सरोकारवालाहरू एक ठाउँमा भेला भएर शिला शालिग्राम तथा सेतिवेणीलाई संरक्षण गर्दै धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका हुन् । 

स्याङ्जाको गल्याङ नगरपालिका वडा नं ५ मा अवस्थित सेतिवेणी बजार तथा  शिला शालिग्रामको संरक्षण, बजार एवं बस्ती व्यवस्थापनका लागि रणनीति तयार गर्न सर्वपक्षीय भेला गरिएको गल्याङ् नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले जानकारी दिनुभयो । प्रदेश तथा केन्द्रसंग समन्वय गरेर वृहत् योजना  तयार गर्ने र यसक्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने प्रमुख भट्टराईले बताउनु भयो । 

शिलाको दर्शनका लागि देश तथा विदेशबाट हिन्दुधर्मालम्वीहरुको राम्रो उपस्थिति रहने गरेको छ । पर्वत र स्याङ्जाको सिमानाको रूपमा रहेको सेतीखोलाले धार परिवर्तन गरेपछि शिला जोखिममा परेको हो । पछिल्लो समय गुल्मीको भागतर्फ कालीगण्डकीले बालुवा थुपारेको छ जसको कारण शिलाको आडैबाट नदी बगिरहेको छ, नगरप्रमुख भट्टराईले भन्नुभयो, “जसको कारण शिला र दशनार्थी घुम्ने ठाउँ जोखिममा परेको छ ।”


कालीगण्डकी नदीमा पानीको सतह बढ्दा शिलालाई नै कैयौँ दिनसम्म डुबाउने गरेको छ ।  । शिलाको परिक्रमास्थल भत्किएको वर्षा भइसकेको छ त्यो अहिलेसम्म पनि बन्न सकेको छैन । वर्षाैंपिच्छे आउने बाढीका कारण त्यहाँका स्थानीयहरू वर्षाको समयमा सधैँ त्रासमा रहने गर्दछन् । यसको दिगो समाधानका लागि पनि योजना बनाउन लागिएको भट्टराईले बताउनुभयो । 

स्थानीय तहको बजेटले मात्रै यसको संरक्षण गर्न सम्भव नहोला भनेर हामी बृहत गुरु योजना निर्माण गर्ने तयारीमा छौँ, गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले बताउनुभयो । 

स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले तीन जिल्लाको संगमस्थल भएकाले तीनवटै जिल्लाको सहकार्यमा यस क्षेत्रको समस्या समाधान गर्न आफूहरू सक्रिय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सेतीवेणी शिलामा वर्षाको समयमा क्षति नपुग्ने गरी बनाउन जरुरी छ । त्यसको लागि स्थानीयतहको सक्रियतामा विस्तृत योजना बनाउनतर्फ हाम्रो ध्यान गएको छ ।”

शालिग्रामको संरक्षणका लागि तटबन्ध तथा संस्कृति जोगाउन पौवाहरू बनाउने योजना गल्याङ नगरपालिकाको छ । तर, ठूलै योजना बनाएर यसको संरक्षण गर्ने उपाय भने स्थानीयतहको वशमा छैन ।

स्याङ्जाका प्रमुख जिल्ला अधिकारी क्षेत्री, गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल र पर्वतका प्रमुख जिल्ला अधिकारी नारायण सापकोटाले संयुक्त रूपमा शिला शालिग्रामको संरक्षकमा लाग्ने सहमति गरेका हुन् । 

स्याङ्जाका समन्वय समितिका अध्यक्ष श्रीप्रसाद जिटीले भन्नुभयो, “तीन वटै जिल्ला मिलेर शिलाको संरक्षणमा काम गर्ने सहमति भएको छ ।” तीन जिल्लाका तीन पालिकाले यसको समन्वय गर्ने जिटीले बताउनुभयो । 

कालीगण्डकी ए जलविद्युत परियोजना निर्माणका क्रममा बनाइएको ड्यामका कारण पनि शिला शालिग्रामको दर्शन गर्नेको सङ्ख्या पछिल्लो समय बढ्दो छ । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले भन्नुभयो, “स्टिमरको यात्राले शिला शालिग्रामको महत्त्व झनै बढेको छ, घुम्न आउनेको सङ्ख्या पनि बढ्दो छ ।”

शिला शालिग्राम, एक प्रसिद्ध नाम हो । हिन्दु धर्मावलम्बीले भगवान् विष्णुको अवतारको रूपमा पुज्ने गर्दछन् । 

शिलालाई दाहिने पारेर बग्ने कालीगण्डकी नदीले पनि शिला शालिग्रामको महत्त्व अझै बढाएको छ । हिन्दु धर्मावलम्बीहरूको प्रायः सबै संस्कारहरूको शिला शालिग्राममा नै पूजाआजा गरी गर्ने गरिएको छ । 

शिला शालिग्राममा ठूलो एकादशी र वैशाखे सङ्क्रान्तिका कारण वर्षमा दुई पटक दर्शनार्थीको भेला हुने गरेको छ । हरेक वर्षका दुई धार्मिक तिथिमा शालिग्राममा बृहत् मेला लाग्ने गरेको छ । 

शिला शालिग्रामले साविककाे तीन अञ्चल धौलागिरि, गण्डकी र लुम्बिनी तथा पर्वत, स्याङ्जा र गुल्मी जिल्लाको सिमानाको रूपमा पनि काम गरेको छ । हाल दुई प्रदेशका तीन जिल्लाको सीमाक्षेत्रमा शिला शालिग्राम रहेको छ ।

धार्मिक आस्थाको केन्द्र, भूगोलको सिमाना, अनि पर्यटकीय र ऐतिहासिक केन्द्र शिला शालिग्रामको अस्तित्वको संरक्षणका लागि दीर्घकालीन योजना बनाएर अगाडि बढ्न स्थानीयको माग छ । गण्डकी प्रदेशसभामा नै शालिग्रामलाई विश्वसम्पदा सूचीमा राख्नुपर्ने माग समेत उठेको थियो ।