• ३ मंसिर २०८२, बुधबार

लिमीको ताक्चीमा हिम पाइपबाट पुल बन्ने

blog

ताक्चीको लिमी कर्णाली नदीमा पुल निर्माणका लागि पुर्‍याइएका हिम पाइप । तस्बिर : राजन रावत

राजन रावत 

हुम्ला, मङ्सिर ३ गते । नाम्खा गाउँपालिका– ६ को लिमीको ताक्चीमा लिमी कर्णाली नदीमाथि हिम पाइपबाट पुल बन्ने भएको छ । हालसम्म पुल निर्माण नभएको कारण बर्खायाममा नदीको बहाब बढेपछि यातायात सेवा अवरुद्ध हुने भएको कारण उक्त नदीमा हिम पाइपबाट पुल निर्माण गर्न लागिएको हो । 

ताक्चीको लिमी कर्णाली नदी माथि हिम पाईप बिच्छ्याएर पुल निर्माण गर्न लागिएको लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले बताउनुभयो । यसका लागि साँढे एक मिटर लम्बाईका सोह्र वटा हिम पाईप ताक्चीमा पुर्याइएको उहाँले बताउनुभयो । 

ताक्चीमा बग्ने लिमी कर्णाली र लिङ खोलाको पानी दुई तिरबाट बगेर आउने भएको कारण दुबै स्थनमा हिम पाईपको पुल निर्माण हुनेछ । सिमेन्टको काम हुने अवस्था आए यति बेला नै हिम पाईप जडान गरेर पुल निर्माण गरिने छ भने चिसोको कारण सिमेन्टको काम नभए आगामी फागुन महिनापछि हिम पाइपको पुल निर्माण कार्य गरिने उहाँले बताउनुभयो । 

हिम पाईप र आवश्यक सिमेन्ट जिल्ला बाहिरबााट खरिद गरेर निर्माण स्थलमा ढुवानी गरेर पुर्याई सकिएको र अब स्थानीय सामग्री जम्मा गर्ने कार्य पनि भई रहेको उहाँले बताउनुभयो । आधाभन्दा बढी काम पुरा भएको कारण अब हिम पाईपको पुल जडान कार्य चाँडै हुने नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले बताउनुभयो । उक्त पुल गााउँपालिका र पुर्बाधार बिकास कार्यालयमा लागत साझेदारी हुने उहाँले बताउनुभयो । 

हरेक वर्षको बर्खायाममा लिमी कर्णाली नदीमा पानीको बहाब बढ्दै जाँदा डेढ र दुई महिना यातायात सेवा बन्द हुने गरेको छ । अरु बेला भने नदी मै तरेर यातायातका साधनहरुले नदी वारपार गर्ने गर्छन् । अब यो समस्याा सदाका लागि समाधान गर्न पनि पुल आवश्यक रहेको र सो कुरा पनि अब चाँँडै पुरा हुने चरण रहेको उहाँले बताउनुभयो । लिमीवासी र मानसरोवर कैलाशको दुरदर्शन गर्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरुले ताक्चीमा पुलको ब्यवस्था गर्न माग गर्दै आउनु भएको थियो ।