भैरहवा समाचारदाता
भैरहवा, वैशाख १५ गते । लुम्बिनी प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गमा पाँच स्थानमा ‘स्मार्ट रिफ्रेस सेन्टर’ निर्माण गर्ने योजना अघि सारेको झन्डै चार वर्ष बितिसक्दा पनि सबै आयोजना पूर्ण रूपमा अघि बढ्न सकेका छैनन् । हालसम्म तीन स्थानमा पहिलो चरणको निर्माणको काम सम्पन्न भएको छ भने बाँकी दुई स्थानमा काम सुरु हुन सकेको छैन ।
तत्कालीन मुख्यमन्त्री शङ्कर पोखरेलको नेतृत्वमा २०७७ सालमा सुरु गरिएको यस योजनाको उद्देश्य लामो दुरीमा चल्ने सवारीसाधनका चालक तथा यात्रुलाई आराम, स्वच्छ खानपान र आवश्यक आधारभूत सुविधा उपलब्ध गराउनु थियो । योजना अनुसार रिफ्रेस सेन्टरहरूमा पार्किङ, शौचालय, स्नानगृह, आराम कक्ष तथा खाना नास्ता व्यवस्थापन गरिने परिकल्पना गरिएको थियो ।
लुम्बिनी प्रदेशको खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालयका अनुसार रुपन्देहीको सैनामैना, कपिलवस्तुको चन्द्रौटा र नवलपरासीको बर्दघाटमा पहिलो चरणको निर्माण सम्पन्न भइसकेको छ । ती संरचना स्थानीय तहलाई हस्तान्तरण गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।
पहिलो चरण अन्तर्गत पार्किङ, शौचालय र खानेपानी जस्ता आधारभूत संरचना निर्माण गरिएका छन् भने दोस्रो चरणमा आराम कक्ष, रेस्टुरेन्ट, चार्जिङ स्टेसनलगायत थप सुविधा विस्तार गर्ने योजना छ । बजेट अभावका कारण दोस्रो चरणको काम अझै सुरु हुन सकेको छैन ।
मन्त्रालय अन्तर्गत खानेपानी महाशाखाका प्रमुख इन्जिनियर गुणनिधि पोखरेलले परियोजनालाई चरणबद्ध रूपमा अघि बढाउने लक्ष्य भए पनि आवश्यक स्रोत अभावले गति लिन नसकेको स्पष्ट पार्नुभयो । उहाँका अनुसार पहिलो चरण सम्पन्न भएका संरचनाको सञ्चालन जिम्मेवारी स्थानीय तहलाई दिने विषयमा छलफल भइरहेको छ ।
यसैबिच दाङको देउखुरी र बर्दियामा रिफ्रेस सेन्टर निर्माण गर्ने योजना भए पनि ती स्थानमा विभिन्न समस्या देखिएका छन् । देउखुरीमा वनक्षेत्रको जग्गा उपलब्ध नहुँदा ठेक्का लागिसक्दा पनि काम अघि बढ्न सकेको छैन भने बर्दियामा अझै जग्गा व्यवस्थापन हुन सकेको छैन ।
स्थानीय तहका प्रतिनिधिले भने निर्माण सम्पन्न भएपछि सञ्चालनको जिम्मेवारी लिन तयार रहेको बताएका छन् । कपिलवस्तुको चन्द्रौटामा पहिलो चरण अन्तर्गत भवन, शौचालय, पर्खाल निर्माण र बोरिङ गाड्ने काम सम्पन्न भएको छ । उक्त आयोजनाका लागि चार करोड रुपियाँभन्दा बढी लागतमा ठेक्का सम्झौता गरिएको थियो । अब स्थानीय तहसँग समन्वय गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । रुपन्देहीको सैनामैनामा पनि पहिलो चरणको भौतिक संरचना निर्माण पूरा भए पनि दोस्रो चरणको कामका लागि बजेट अभाव देखिएको छ । नगरपालिकाले भने पूर्ण संरचना हस्तान्तरण भए सञ्चालनको जिम्मेवारी लिन तयार रहेको जनाएको छ ।
त्यसै गरी नवलपरासीको बर्दघाटमा निर्माण सम्पन्न भएको रिफ्रेस सेन्टरमा हाल पहुँचमार्ग निर्माण भइरहेको छ । करिब एक महिनाभित्र उक्त काम सकिएपछि सञ्चालनको जिम्मेवारी स्थानीय तहलाई हस्तान्तरण गर्ने तयारी गरिएको छ । रिफ्रेस सेन्टर सञ्चालनमा आएपछि राजमार्गमा अव्यवस्थित रूपमा सवारी रोक्ने प्रवृत्ति घट्ने र यात्रु तथा चालकलाई व्यवस्थित सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ ।
सरसफाइ प्रवर्धन, थकान व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरणमा समेत यसले सहयोग पुग्ने विश्वास गरिएको छ । प्रदेश सरकारले भविष्यमा यी केन्द्रलाई यात्रु र चालकमैत्री बनाउँदै सवारीसाधनको प्राविधिक परीक्षणसमेत गर्ने व्यवस्थासहित सञ्चालन गर्ने योजना अघि सारेको जनाएको छ ।