• ३ मंसिर २०८२, बुधबार

बालाचतुर्दशी पर्व : गलेश्वरमा भक्तजनको रौनक

blog

गलेश्वर शिवालय मन्दिरमा शतबीज छर्न आएका भक्तजनहरू । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, मङ्सिर ३ गते । बालाचतुदर्शी पर्वको अवसरमा बेनीको प्रशिद्ध धार्मिकस्थल गलेश्वर धाममा भक्तजनको भिड लागेको छ । आज बिहानैदेखि शतबीज छर्न, कालीगण्डकी नदीमा स्नान गर्न र गलेश्वर शिवालय मन्दिरको दर्शन गर्ने भक्तजनहरूको भिड लागेको हो ।

गलेश्वर धामस्थित रघुगङ्गा र कालीगण्डकी नदीको सङ्गमस्थलमा स्नान गरेर शिवालय मन्दिरमा शतबीज छर्ने भक्तजनहरूको कारण गलेश्वर क्षेत्रमा श्रद्धालु भक्तजनहरूको चहलपहल बढेको छ । बाजागाजा र भजनकीर्तन सहित भक्तजनहरू गलेश्वरमा शतबीज छर्न आएका छन् । 


आज बिहान ५ बजे देखि नै पितृ उद्धारको कामना गर्दै शिवालय क्षेत्रमा शतबीज छर्नेको भीड लागेको गलेश्वर क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो । शतबीज छर्न भक्तजनहरू मङ्गलबार राति नै गलेश्वरधाममा आइपुगेका थिए । शिवालयमा शतबीज छर्नाले मृत आत्माले वर्षभरि खान पाउने तृप्ति हुने विश्वास गरिन्छ । 

गलेश्वर धाममा शतबीज छर्न यसपाली म्याग्दी, बागलुङ, पर्वत, पोखरा ,झापा, मोरङ, विराटनगर र काठमाडाैँ लगायतका जिल्लाहरूबाट भक्तजनहरू आएको कोषका अध्यक्ष रेग्मीले जानकारी दिनुभयो । 

हरेक वर्ष मङ्सिर कृष्ण चतुर्दशीका दिन जौँ, धान, कालो तिल, गहुँ, तोरी, मास, केराउ, लावा, मुला, ज्यामिर, सखरखण्ड, पिँडालु र हलेदोका टुक्रा शतबीजका रूपमा छर्ने गरिन्छ । उहाँका अनुसार शतबीज छर्न आउने भक्तजनहरूको सहजताका लागि सुरक्षाकर्मी र  स्यमसेवकहरू परिचालन गरिएको छ । 

देशभरबाट गलेश्वर शिवालयमा आउने भक्तजनहरूलाई पालैपालो शिवालयको दर्शन गर्न र सहज रूपमा मन्दिर परिसरबाट पवित्र कालीगण्डकी नदीसम्म शतबीज छर्ने वातावरण बनाइएको उहाँले बताउनुभयो । 


साथै बालाचतुर्दशी पर्वका अवसरमा गलेश्वर क्षेत्रमा बाँस र निगालोबाट बनेका डाला,नाङ्ला र दारको काठबाट बनाइएको ठेकी बिक्रीका लागि व्यवसायीहरू समेत आएका छन् ।

बाला चतुर्दशीका अवसरमा शिवालय मन्दिर र परिसरलाई सरसफाई र रङरोगन गरेर चिटिक्क पारिएको छ । परापूर्वकालदेखि नै गलेश्वर शिवालयमा बालाचतुर्दशी पर्वको अवसरमा शतबीज छर्ने परम्परा र संस्कृति रहेको र शतबीज छर्दा मनोकाङ्क्षा पूरा भइ पुण्य लाभ हुने जनविश्वास छ । 

यस वर्ष बाला चतुर्दशी पर्वमा गलेश्वरमा करिब ३० हजार भक्तजनहरू आउने अनुमान गरिएको छ । कालीगण्डकी नदी किनारमा एउटै नौ रोपनी चक्रशिलामा अवस्थित गलेश्वर शिवालय विश्वकै अलौकिक तिर्थस्थलको रूपमा समेत परिचित छ ।