कविराज घिमिरे
हिले, मङ्सिर ३ गते । धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिका–२ मारेकटहरेमा दुर्गामणि पौडेलले किबी प्रशोधन उद्योग सञ्चालनमा ल्याउनुभएको छ । उहाँले एकल लगानीका करिब दस करोड रुपियाँ लगानी गरी उद्योग सञ्चालनमा ल्याउनुभएको हो । उद्योग स्थापना भएपछि धनकुटासहित कोशी पहाडका किबी उत्पादन कृषकलाई बजारको समस्या हटेको छ ।
गाउँमा उत्पादन भएको किबीलाई गाउँमै खपत गर्न स्थानीय पौडेलले उद्योग सञ्चालनमा ल्याउनुभएको हो । वसन्तपुर तिनजुरे बवरेजले करिब दस करोड रुपियाँ खर्च गरी उहाँले तोरीबारी गाउँमा किवीको प्रशाेधन उद्योग निर्माण गरी तिनजुरे किबी बगान वाइन उत्पादन सुरु गर्नुभएको हो ।
जन्मगाउँ मारेकटहरे नै भए पनि उहाँ २०५४ सालबाट काठमाडौँमा बसोबास गर्दै आउनुभएको थियो । तर उहाँ २० वर्षपछि गाउँ फर्किएर किबी प्रशोधनमा लाग्नुभएको हो । २०७४ सालबाटै प्रक्रिया सुरु गरिए पनि यो वर्षबाट मात्र उत्पादन सुरु भएको हो । गाउँमै रोजगारी सिर्जना, तथा पूर्वी पहाडका सबै जिल्लाका किबी उत्पादन कृषकलाई सहज हुने भएकाले उद्योग सुरु गरेको उहाँको भनाइ छ ।
फागुन महिनाबाट उत्पादन बजारमा आउने तयारी छ । अहिले उद्योगले ४० हजार लिटर उत्पादन गरिरहेको छ । उद्योगको कुल क्षमता तीन लाख लिटर रहेको र तीन वर्षभित्र पूर्ण क्षमतामा पुग्ने लक्ष्य राखिएको छ । पूर्ण क्षमतामा पुगेपछि बर्सेनि ५०० टन किबी खपत हुने कम्पनीको अनुमान छ । महालक्ष्मी नगरपालिकाले यस क्षेत्रलाई किबी पकेट क्षेत्र घोषणा गरिसकेको छ ।
उद्योग सञ्चालन भएपछि स्थानीय उत्पादनको खपत, रोजगारी सिर्जना, बजारको समस्या हटेको र गाउँको समग्र आर्थिक गतिविधि सक्रिय बन्दै गएको महालक्ष्मी नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष पदम रखाल मगर बताउनुहुन्छ । कम्पनीको आफ्नै करिब १०० रोपनीमा किबी खेती छ भने गाउँभरि करिब ५०० रोपनीमा किबी खेती विस्तार भएको छ ।