• ३ मंसिर २०८२, बुधबार

त्रिवेणी गाउँपालिका आफ्नै भवनबाट सेवा प्रवाह

blog

सल्यान त्रिवेणी गाउँपालिका सल्यानले आफ्नै भवनबाट सेवा लिँदै आएको छ । तस्बिर : प्रतीक इच्छुक शर्मा

प्रतीक इच्छुक शर्मा

सल्यान, मङ्सिर ३ गते । सल्यानको त्रिवेणी गाउँपालिकाले लामो प्रतिक्षापछि आफ्नै प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु गरेको छ । भवन निर्माण कार्य सम्पन्न भएपछि  नियमित सेवा सञ्चालन गरिएको हो । 

करिब पाँच करोड रुपियाँ लागतमा निर्माण गरिएको उक्त भवन २०७७ माघमा प्राकृतिक हमाल जेभीसँग ठेक्का सम्झौता भएपछि २०७९ पुस मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहेको थियो । तर निर्माण कार्य ढिलाइ हुँदा पालिकाले वर्षौंसम्म भाडाको घरबाटै सेवा सञ्चालन गर्नुपरेको थियो । पालिकाले भाडाको भवन प्रयोग गर्दा हरेक वर्ष करिब सत्र लाख रुपियाँ खर्च भएको जनाइएको छ।

गाउँपालिका अध्यक्ष खिमबहादुर रावतले आफ्नै भवनबाट सेवा दिन थालेपछि सेवा प्रवाहमा सहजता आएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले छुट्टाछुट्टै स्थानबाट सेवा दिनुपथ्र्यो। अब एउटै भवनमा सबै शाखा रहेकाले एकीकृत रूपमा सेवा प्रदान गर्न सहज भएको छ।”

प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर केसीले नवनिर्मित संरचनाले प्रशासनिक कामकाज सुव्यवस्थित भएको जानकारी दिनुभयो। उहाँका अनुसार साँघुरो र असुविधाजनक स्थानमा सेवा दिनुपर्ने बाध्यता अब हटेको छ।

भवन निर्माणका लागि स्थानीय स्व. ध्रुवप्रसाद श्रेष्ठ, रेमु श्रेष्ठ, दिवाकरराज श्रेष्ठ, डम्बरबहादुर शाही, कर्णबहादुर श्रेष्ठ र कमलराज केसीले सात रोपनी जग्गा दान गरेका थिए। भवन निर्माणमा सहयोग गर्ने जग्गादाता तथा निर्माण व्यवसायीलाई गाउँपालिकाले सम्मान गरेको छ।

स्थानीयवासीले एउटै स्थानबाट सम्पूर्ण सेवा उपलब्ध भएपछि सहज महशुस भएको बताएका छन्। स्थानीय डम्वर के.सीले सेवाका लागि ठाँउ ठाउँमा भाडामा रहेका शाखावाट सेवा लिनुपर्ने वाध्यताको अन्त्य भएको वताउनुभयो । उहाले भन्नुभयो भाडाँमा फरक फरक ठाउँमा रहेका शाखावाट सेवा लिदै आएकोमा एउटै भवनवाट सवै सेवा पाउँदा खुसी लागेको छ ।