चार/पाँच दशकअघिसम्म कास्कीको बाटुलेचौर, हेम्जा, पुरानचौरलगायत गाउँ सुन्तला बगैँचाका कारण प्रख्यात थिए । ती ठाउँमा सुन्तलाको बगैँचा हेरेर को सम्पन्न को विपन्न भनेर छुट्याइन्थ्यो रे । त्यो बेला प्रत्येक घरका ठूल्ठूला पाटामा सुन्तलाका बगैँचा हुन्थ्यो रे । सुन्तलाजात बालीका वरिष्ठ बागवानी अधिकृत वसन्त श्रेष्ठ आमा र सानिमाले भनेको यतिबेला सम्झिँदै भन्नुहुन्छ, ‘‘त्यो बेलाका कुरा अहिले उखानजस्तै भयो । अहिले ती ठाउँमा सुन्तलाको बोट भेट्न पनि गाह्रो छ ।’’ कास्की बाटुुलेचौरका श्रेष्ठ आफू सानो हुँदा पनि गाउँमा जताततै सुन्तलाका बगैँचा देख्नुहुन्थ्यो । तर अहिले ती बगैँचा लोप हुने क्रममा छन् । कास्कीकै माथिल्लो भागमा केही छिटफुट रूपमा रैथाने जातका ९० देखि १०० वर्ष पुराना सुन्तलाका बोट भेटिन्छन् । तर ती बोटमा रोगले आक्रमण गरिसकेकाले स्वाद पहिलेको जस्तो छैन । श्रेष्ठको अनुुभवमा अहिले कास्कीका मात्र होइन, लमजुुङ, स्याङ्जा, गोरखा, धादिङ, पाल्पालगायतका ठाउँमा पनि रैथाने जातको सुन्तला लोप हुने अवस्थामा पुुगिसकेको छ ।
रैथाने जात जोगाउनै हम्मे
गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा मात्रै होइन, प्रदेश १, सुदूरपश्चिम प्रदेशका केही उच्च पहाडमा बाहेक अन्य ठाउँमा रैथाने जातका सुन्तला भेट्न नसकिने सुन्तला जातका विज्ञ बताउँहुन्छ । कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय सुन्तलाजात अनुसन्धान कार्यक्रमका प्रमुख डा. उमेश आचार्यका अनुसार नेपालका रैथाने जातका सुन्तला स्वादका हिसाबले असाध्यै मिठा भए पनि विभिन्न भाइरस र रोगका कारण लोप हुने चरणमा पुुगेको छ ।
रैथाने जात पूरै लोप नहोस् भनेर तिनमा क्रसमिक्स गरेर दुईवटा जात सिफारिस गरिएको उहाँको भनाइ छ । धनकुटाले उक्त कार्यक्रममार्फत पछिल्ला पाँच वर्षमा नेपालका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म उत्पादन हुने सुन्तलाका रैथाने जात र फ्रान्स, अस्टे«लिया, भारत पाकिस्तानलगायतका देशका स्थानीय सुन्तला, कागती, भोगटे, जुनारका १४८ जातका नमुना सङ्कलन गरेर सन् २०१६ देखि जातीय छनोट परीक्षण गरेको जनाएको छ ।
जापानी उन्सु जातको सुन्तला नेपाली रैथाने जस्तो स्वादिलो हुँदैन । यसको स्वाद त्यति धेरै गुलियो पनि हुँदैन र अमिलो पनि हुँदैन । यसमा बियाँ कम हुन्छन् र तुलनात्मक रूपमा रसिलो हुन्छ ।
धनकुटामा ‘खोकुस्थानीय’ र गोरखामा ‘ओकिरसुवासे’ राम्रो जातको भनेर सिफारिस गरिएको छ । यो कार्यक्रममार्फत पाँच वर्षमा १४८ वटामा अध्ययन गरेर दुई जात सिफारिस गरिएको हो । कार्यक्रमका प्रमुख डा. आचार्यले खोकुस्थानीय सुन्तला प्रदेश १ का लागि सिफारिस गरिएको छ भने ओकिरसुवासे नामको सुन्तला गण्डकी र लुम्बिनी प्रदेशका लागि सिफारिस गरिएको जानकारी दिनुभयो ।
खोकुस्थानीय नायक सुन्तला परापूर्व कालदेखि खेती हुँदै आएको छ । डा. आचार्यका अनुसार खोकुस्थानीय जातको क्रसिङ गरेको रैथाने सुन्तला प्रदेश १ को मध्यपहाडका लागि र ओकिरसुवासे जातको क्रसिङ रैथाने गण्डकी र लुम्बिनी प्रदेशका लागि सिफारिस गरिएको छ । ती जातको सुन्तला उत्पादनका लागि क्राफ्टिङ गरेर बिरुवा तयार गर्न सुरु ंभएको छ । बिरुवा क्राफ्टिङबाट तयार गरिएकाले अबको दुई÷तीन वर्षमा फल दिन थाल्ने उहाँको भनाइ छ । परीक्षण गरेर नै यस प्रकारका बिरुवा छनोट गरिएको छ । डा. आचार्यको अनुुभवमा रैथाने जातको सुन्तलालाई बचाउन क्राफ्टिङ गरिएकोमा भाइरसको सङ्क्रमण कम हुने हुँदा क्राफ्टिङलाई प्राथमिकता दिएका छौँ । यी जात स्थानीय जिब्रोले रुचाउने खालका हुन्छन् ।
उन्सु र किन्नु जातका सुन्तला
राष्ट्रिय सुन्तला अनुसन्धान कार्यक्रमले जापानी उन्सु जात र पाकिस्तानी किन्नु जातको सुन्तलाको सफल परीक्षण गरी व्यावसायिक उत्पादनका लागि सिफारिस गरेको छ । यसको स्वाद नेपाली रैथाने जातका सुन्तलाको जस्तो नभए पनि व्यावसायिक रूपमा गर्ने किसानका लागि राम्रो हुने देखिएपछि केन्द्रले सिफारिस गरेको हो । यसको बिरुवा पूर्ण रूपमा क्राफ्टिङ गरेर मात्रै तयार गरिन्छ । विगत पाँच वर्षदेखि गण्डकी र लुम्बिनी प्रदेशमा यसको उत्पादन थालिएको छ । प्रदेश १ को धनकुटामा पनि यी जातको सुन्तला उत्पादन सुरु गरिएको छ । विशेष गरी नौ सयदेखि एक हजार पाँच सय मिटर उचाइसम्मको मध्य वा उच्च पहाडमा यसको उत्पादन राम्रो हुन्छ । तर एक हजार चार सयदेखि एक हजार पाँच सय मिटरको उचाइमा राम्रो उत्पादन हुने मानिएको छ ।
व्यावसायिक रूपमा सुन्तला खेती गर्नेका लागि जापानी उन्सु जात सबैभन्दा राम्रो हुने अगुवा किसान बताउँछन् । लमजुङ सुन्दरबजार–१ का अगुवा किसान गोवद्र्धन गौलीले जापानी उन्सु जातको सुन्तला उत्पादन सुरु गर्नुभएको छ । उहाँले विगत पाँच वर्षअघि एक हजार उन्सु जातका सुन्तला लगाएर यो वर्षदेखि उत्पादन थालिसक्नुु भएको छ । यो जातको सुन्तला भदौ र असोजको बीचमा खान योग्य हुने भएकाले बजारको कुनै समस्या नहुने उहाँको अनुभव छ । यो मौसममा भारतीय सुन्तला नेपाल आइपुगेको हुँदैन, नेपालमा अन्य जातका सुन्तला टिप्ने बेला भएको हुँदैन । त्यसैले यसको बजारमा उच्च माग हुन्छ ।
अगुवा किसान गौलीका अनुसार जापानी उन्सु जातको सुन्तला नेपाली रैथाने जस्तो स्वादिलो हुँदैन । यसको स्वाद त्यति धेरै गुलियो पनि हुँदैन र अमिलो पनि हुँदैन । यसमा बियाँ कम हुन्छन् र तुलनात्मक रूपमा रसिलो हुन्छ । रैथाने खोकु जातको तीन सय बोट र मर्कटस्थानीय जातका सय बोट सुन्तला पनि उहाँले लगाउनु भएको छ । गौलीले किन्नु जातको सुन्तला पनि दुई सय बोट लगाउनुभएको छ । यो सुन्तला विशेष गरी जुस बनाउन प्रयोग गरिन्छ ।
रोगको आतङ्क
सुन्तला उत्पादनमा रोग र कीराको जोखिम बढी हुन्छ । त्यसैले यसप्रति किसान त्यति आकर्षित हुँदैनन् । स्वयं सुन्तलाजात विज्ञहरू नै नेपालमा सिक्टस ग्रिनिङ नामक भाइरसको प्रकोप नियन्त्रणमा सरकारले कदम नचाल्ने हो भने यसको भविष्य राम्रो नभएको स्वीकार गर्छन् । जति नयाँ प्रविधि प्रयोग गरे पनि केही दशकपछि नेपालमा सुन्तला उत्पादन हुन्थ्यो र भन्नुपर्ने अवस्था पनि आउन सक्ने राष्ट्रिय फलफूल निर्देशनालयअन्तर्गतको सुन्तलाजात फलफूल विकास केन्द्र पाल्पाका प्रमुख एवं वरिष्ठ बागवानी अधिकृत वसन्त श्रेष्ठको भनाइ छ । उहाँका अनुसार सुन्तला विकास केन्द्र (पाल्पा) ले तयार गरेका बिरुवामध्ये दुई सयवटा बिरुवाको ‘सिक्टस ग्रिनिङ’ परीक्षण गर्दा ५० वटामा पोजेटिभ देखिएको छ । सुन्तला विशेषज्ञसहितको प्राविधिक समूहले विभिन्न प्रविधि प्रयोग गरेको नर्सरीबाट तयार हुने बिरुवामा त भाइरस पोजेटिभ देखिएको छ भने निजी नर्सरीवालाले प्राविधिकबिना नै तयार गरेका बिरुवा कस्ता होला । केन्द्रले सुन्तलाका बिरुवा उत्पादन गरेर गण्डकी र लुुम्बिनी प्रदेशमा बिक्री गर्दै आएको छ । केन्द्रका अनुसार केन्द्रले हाल ४० हजार सुन्तलाका बिरुवा उत्पादन गरेर बिक्रीका लागि तयारी गरेको छ । भाइरसको समस्या रैथाने जातमा बढी देखिएको छ ।
अर्को चुनौती जलवायु परिवर्तन
पछिल्ला वर्षमा जलवायु परिवर्तनले निम्त्याएको खडेरी, पानी पर्ने समयमा आएको फेरबदल, ‘सिक्टस ग्रिनिङ’ र ‘फ्रुट–फ्लाइ’ कीराको प्रकोप बढेपछि दक्षिण एसियामै रसिलो र गुणस्तरीय सुन्तला उत्पादनका लागि कहलिएका ठाउँमा नै सुन्तला खेती लोप हुने अवस्था छ । उत्तरी मोहडा भएका उच्च स्थानमा बाहेक केही तल्लो भेगका अधिकांश किसानका बगैँचा सुकेर सुन्तला उत्पादन र गुणस्तरमा ह्रास आइरहेको छ । तापक्रम वृद्धिका कारण पछिल्ला वर्षमा बोट र फललाई क्षति पु¥याउने किटाणु बाँच्न र गतिविधि बढाउन सक्ने अनुकूल वातावरण बन्दै गएकाले ती ठाउँमा सिक्टस ग्रिनिङ र फ्रुट–फ्लाइको प्रकोप बढी छ ।
वरिष्ठ बागवानी अधिकृत वसन्त श्रेष्ठका अनुसार तापक्रम वृद्धि र बढ्दो सुक्खापनका कारण समुद्र सतहदेखि सात÷आठ सय मिटरको उचाइमा मज्जाले फल्ने सुन्तला अहिले एक हजारदेखि एक हजार चार सय मिटरमाथि चिस्यान भएका ठाउँमा मात्रै फल्न थालेको छ । आठ÷नौ सय मिटरको उचाइभन्दा माथि बाँच्न नसक्ने सिट्रससिल्ला नामक औँसा कीरा एक हजार चार सय मिटरको उचाइसम्म भेटिन थालेको छ । तल्लो भेगका प्रायः किसानका बगैँचामा यो प्रकोपकै रूपमा फैलिइसकेको छ । कृषि प्राविधिक रोगग्रस्त स्थानबाट सङ्क्रमित बिरुवा र माउबोट ओसारपसारमा प्रतिबन्ध लगाउर्ने सुझाव दिन्छन् । रोगमुक्त बिरुवा उत्पादनका लागि नर्सरी दर्ता र प्रमाणीकरणको व्यवस्था नहुँदा समस्या झन् थपिएको छ । ‘ब्याक्टोसेरा मिन्याक्स’ नामक औँसा पछिल्ला वर्षमा जुनार उत्पादनको पकेट क्षेत्र सिन्धुली, रामेछापलगायत पर्वत, गुल्मी र म्याग्दीसम्म देखा परेको छ । त्यहाँका कतिपय स्थानमा कुनै वर्ष यसले शतप्रतिशत फल नष्ट गरेको छ । पर्याप्त सिँचाइ, बगैँचा व्यवस्थापन र पुराना बोट निकालेर निरोगी बिरुवा रोपे समस्या केही कम हुने कृषि प्राविधिकको सुझाव छ ।
कास्कीकै माथिल्लो भागमा केही छिटफुट रूपमा रैथाने जातका ९० देखि १०० वर्ष पुराना सुन्तलाका बोट भेटिन्छन् । तर ती बोटमा रोगले आक्रमण गरिसकेकाले स्वाद पहिलेको जस्तो छैन । अहिले कास्कीमा मात्र होइन, लमजुुङ, स्याङ्जा, गोरखा, धादिङ, पाल्पालगायतका ठाउँमा पनि रैथाने जातको सुन्तला लोप हुने अवस्थामा पुुगिसकेको छ ।
सुन्तलाजात विज्ञका अनुसार सिक्टस ग्रिनिङ भाइरस सुन्तालाजात फलफूलमा लाग्ने रोग हो । यो रोग सन्तलाजात खेती गरिने धेरैजसो देशमा लागेको पाइन्छ । सबैजसो देशमा यो रोगको नियन्त्रणका लागि नयाँ प्रविधि प्रयोग गरिएको छ । तर नेपालमा भने अहिलेसम्म यस प्रकारको रोगको नियन्त्रणका लागि बनेको कानुन कार्यान्वयन भएको छैन । सुन्तलाजात नर्सरी र बगैँचा व्यवस्थापन ऐनमा कुनै बोट वा बिरुवामा कुनै भाइरस लागेको छ भने किसानलाई प्रतिबोट चार/पाँच सय रुपियाँ दिएर नष्ट गर्नुपर्छ भनिएको छ । तर त्यो अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । कृषि प्राविधिक यो रोग लागेको थाहा हुनेबित्तिकै बोट नष्ट गर्नुपर्छ भन्छन् । तर रोग देखिनेबित्तिकै नमर्ने हुनाले किसान नष्ट गर्न मान्दैनन् । रोग लागेको बोटमा सुन्तला पनि थोरै फल्ने र स्वाद पनि पहिलेको जस्तो हुँदैन । यसको मुख्य लक्षण पातको चम्किलोपन कम हुने, पात पहेँलो हुने र बोटको टुुपोका पात खुम्चिने हुन्छ । रोग लागेको बोटको हाँगा तासेर हे¥यो भने पिनले घोचेजस्तो प्वाँल देखिन्छ भने कतै कतै धस्रा परेर फुुटेको पनि देखिन्छ ।
नेपालको उत्पादन
नेपालको धेरैजसो भू–भागमा विभिन्न सुन्तलाजातका फलफूल खेती गर्न सकिन्छ । राष्ट्रिय फलफूल निर्देशालयका अनुसार हाल ७७ जिल्लामध्ये ६५ जिल्लामा सुन्तलाजात फलफूल लगाइएको पाइन्छ भने व्यावसायिक खेती ४२ जिल्लामा भइरहेको छ । निर्देशनालयका अनुसार सुन्तलाजात फलफूलले ढाकेको कुल क्षेत्रफल बढेको छ तर उत्पादन भने घट्दो क्रममा छ । यो क्रम सन् २०१५/१६ सम्म नै देखियो भने त्यसपछिका वर्षमा सुधार हुँदै गएको छ । सन् २०१९/२० मा सुन्तलाजात फलफूलको कुल क्षेत्रफल २७ हजार ३३९ हेक्टरबाट दुुई लाख ७४ हजार १४० टन फल उत्पादन भयो । सुन्तलाजात बालीले नेपालको सबैभन्दा बढी क्षेत्रफल ओगटेको छ । सुन्तलाजात फलफूलमध्ये क्षेत्रफल र उत्पादनका हिसाबले सुन्तला, कागती, जुनार क्रमशः पहिलो, दोस्रो र तेस्रो ठूलो बालीमा पर्दछ । पछिल्लो तथ्याङ्कअनुसार सुन्तालाजात उत्पादन हुने क्षेत्रफलमध्ये ६२ प्रतिशत सुन्तला, १९ प्रतिशत कागती, १५ प्रतिशत जुनार, निबुवा दुई प्रतिशत र अन्य बिमिरो, भोगटेलगायत दुई प्रतिशत रहेका छन् ।
अमिला वर्गका फलफूल तराईका दुई सय मिटरदेखि मध्य पहाडको नौ सयदेखि एक हजार पाँच सय मिटर उचाइ भएको पाखोबारीमा सजिलैसँग खेती गर्न सकिन्छ । त्यसकारण यसको विस्तार गर्न सकिने उच्च सम्भावना छ । मध्य पहाडमा सुन्तलाजात बालीका लागि उचित हावापानी र माटो हुने भएकाले अन्नबालीभन्दा तुलनात्मक लाभ लिन सकिन्छ । सुन्तला बाली साना किसानका लागि नगद आम्दानीको राम्रो स्रोत मान्ने गरिएको छ । यी बाली स्वरोजगारका लागि पनि राम्रो मानिन्छ । साथै यसबाट विभिन्न प्रशोधित परिकारजस्तै जाम, जेली जुुस, स्क्वास, क्यान्डी बनाउन सकिने हुनाले बजारमा ताजा बिक्री नहुँदा पनि राम्रो आम्दानी गर्न सकिन्छ । यो बाली नेपालमा कात्तिकदेखि पुससम्म पाक्छन् । केही स्थानीय जातका उत्पादन क्षमता अन्य विकासे जातभन्दा न्यून भए पनि फलको स्वाद र गुणस्तर नेपाली जिब्रोअनुसार उच्चस्तरीय छ । अन्य केही जातको उत्पादन क्षमता र गुणस्तर दुवै न्यून स्तरका छन् ।
आयातमै भर
नेपालीको खानपान बदलिएको छ । पछिल्लो समय सुन्तलालगायत फलफूल उपभोग गर्ने चलन बढ्दो छ । नेपालको सुन्तला विशेषगरी कात्तिकको अन्तिम सातादेखि माघको पहिलो सातासम्म मात्रै पाइन्छ । यो अवधिमा स्वदेशकै उत्पादनले माग धान्छ । असोजदेखि कात्तिकसम्म पहिलो लटको भारतीय सुन्तला ल्याइन्छ । माघदेखि चैत/वैशाखसम्म भारत र चीनका सुन्तला ल्याइन्छ । पछिल्लो पटक केही ठाउँमा छिटो तयार हुने जापनी उन्सु जातको सुन्तला उत्पादन थालिएको छ । यो असाध्यै सीमित छ । नेपालमा छिटो तयार हुने जापानी उन्सु जातको सुन्तला भएजस्तै माघपछि उत्पादन हुने अरू जातको खोजी भएको नार्कअन्तर्गतको राष्ट्रिय सुन्तलाजात अनुसन्धान कार्यक्रम धनकुटाले जनाएको छ । धनकुटाका प्रमुख डा. उमेश आचार्यले माघ महिनापछि खान तयार हुने सुन्तला उत्पादन गर्न सकियो भने हाल हुँदै आएको सुन्तलाको आयातमा केही हदसम्म कम गर्न सकिन्छ । उहाँका अनुसार नेपाल सुन्तलामा आत्मनिर्भर हुने तत्काल सम्भावना देखिँदैन । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा सुन्तला फलफूल दुुई करोड, ३० लाख ८० हजार ८९७ केजी भित्रिएका छन् । यसका लागि एक अर्ब २७ करोड, १९ लाख ७५ हजार रुपियाँ बाहिरिएको छ । यस्तै आर्थिक वर्ष २०७७÷७८ मा दुई करोड ६० लाख ७२ हजार २३६ केजी सुन्तला आयात भएको थियो । यो आर्थिक वर्षमा सुन्तला खरिदका लागि एक अर्ब ३७ करोड १२ लाख ५२ हजार रुपियाँ बाहिरियो । अर्थविद् डा. चन्द्रमणि अधिकारीको बुझाइमा पछिल्लो वर्ष आयात घट्नुमा कृषिजन्य वस्तु आयातमा बढाइएको कर र क्रयशक्तिमा आएको ह्रास नै प्रमुख कारण हो ।
सुन्तलाजात फलफूलको इतिहास
सुन्तला जातका फलफूललाई समेट्ने अङ्ग्रेजी शब्द ‘सिट्रस’ हो । यसअन्तर्गत सुन्तला, जुनार, कागती, मौसम, निबुुवा, ज्यामिर, भोगटे, बिमिरो, चाक्सी पर्छन् । नेपालको धेरैजसो भू–भाग भिरालो परेको हुनाले यहाँ पूर्वदेखि पश्चिसम्म नै विभिन्न सुन्तलाजात फलफूलको खेती गर्न सकिन्छ । नेपालमा सुन्तला खेतीको इतिहास हेर्दा परापूर्व कालदेखि हुँदै आएको पाइन्छ । नेपालमा जुनार बाली २५० वर्षदेखि गरिएको इतिहास पाइन्छ । सुन्तलाजातको फल राणा शासकलाई उपहारको रूपमा टक्य्राउँदा ज्यूनार गरिबक्सयोस् भनेको र ज्यूनार भन्दाभन्दै फलको नाम नै जुनार भएको भन्ने कथन छ । सन् ७० को दशकसम्म किसानले आफ्नो करेसाबारीमा एक/दुई बोट खानका लागि लगाउँथे । त्यसपछि यस बालीले आर्थिक स्तर उकास्ने भएपछि व्यावसायिक रूपमा खेती गरिएको पाइन्छ । सन् १९८३/८४ मा नै मध्य पहाडका २० जिल्लालाई समेटेर राष्ट्रिय सुन्तलाजात विशेष कार्यक्रम सञ्चालन गरिएको थियो ।