अमरराज नहर्की
तनहुँ, साउन ११ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले कर्मचारीबिचको विभेद अन्त्य गर्ने बताउनुभएको छ। विभेद अन्त्य गर्न र प्रशासनमा देखिएका समस्या समाधान गर्न सङ्घीय निजामती ऐन जारी गर्न सरकारले प्राथमिकता दिएको बताउनुभयो।
मन्त्री न्यौपानेले नेपाल निजामती कर्मचारी सङगठन जिल्ला समिति तनहुँले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रम एवं सहिद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति सप्ताह–२०८२ को आइतबार उद्घाट गर्दै बताउनु भएको हो।
सङ्घ, प्रदेश र स्थानीय सरकारमा कार्यरत कर्मचारीबिच विभेद अन्त्य गर्न निजामती कर्मचारीको न्यायिक व्यवस्थापन गरिने मन्त्री न्यौपानेले बताउनुभयो।
सङ्घीय निजामती ऐन जारी भएपछि कर्मचारी प्रशासनमा देखिएको विभेद लगायतका धेरै समस्या समाधान हुने मन्त्री न्यौपानेको भनाइ थियो। सङ्घीय निजामती ऐन प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा टेवल भएको भन्दै राष्ट्रिय सभामा दफावार छलफल पछि समितिले टुङ्गो लगाएर पुनः प्रतिनिधि सभामा पठाउने र चालु संसद अधिवेशनबाट संघीय निजामती ऐन जारी हुने मन्त्री न्यौपानेले जानकारी दिनुभयो। मन्त्री न्यौपानेले भन्नुभयो, ‘सङ्घीय निजामती ऐन जारी भएपछि कर्मचारीले उठाएका धेरै विषय सम्बोधन हुन्छ।’
अहिले कर्मचारी संघीयता संक्रमणकालमा रहेको भन्दै उक्त संक्रमणकाललाई जतिसक्दो चाँडो अन्त्य गर्ने भन्दै मन्त्री न्यौपानेले भन्नुभयो, ‘‘तिनै तहका कर्मचारीको समस्या समाधान गरि कर्मचारीलाई उत्पाहपुर्वक काममा लाग्ने वातावरण बनाउन लागि परेको छु।’’
कर्मचारीको मात्र नभई अहिले जनताको समस्याको पनि निकै ठुलो रहेको भन्दै कर्मचारीले जनताको कामलाई उच्च प्राथमिकतामा राखेर कार्य सम्पादन गर्नुपर्ने बताउनुभयो।
‘भनसुनको आधारमा भन्दा कानुनको परिधि र नीतिका आधारित भएर सेवा दिनुहोस्’, मन्त्री न्यौपानेले भन्नुभयो, ‘जनताको काममा कुनै पनि बाहानामा ढिलासुस्ती र अलमल हुनु हुँदैन।’
जनातामा दुई चार पैसा खर्च नगरिकन र भनसुन र पावर नलगाइकन मेरो काम बन्दै भन्ने मानसिकता रहेको भन्दै उहाँले त्यो मानसिकतालाई तोड्ने आफ्नो प्राथमिकतामा रहेको बताउनुभयो।
जनताको विश्वास जितेर कर्मचारीले कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो। राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो काम गर्नेलाई दण्ड सजायको व्यवस्था पनि हुने उहाँले बताउनुभयो।
मन्त्री न्यौपानेले पेशागत आन्दोलनकामा जीवन उत्र्सग गर्नुहुने मनोज जोशी, झपेन्द्र कार्की र सुरेन्द्र विश्वकर्माको फाटोमा पुष्पागुच्छा अर्पण गरेर उहाँको योगदानको स्मरण गर्नु भएको थियो। तीनै जनाको सहिदको सम्झनामा नेपाल निजामती कर्मचारी सङ्गठनले स्थापना गरेको एक लाख रुपियाँको अक्षकोष चेक मन्त्री न्यौपानेलाई सङ्गठनका अध्यक्ष भगवान त्रिपाठीले हस्तान्तरण गर्नु भएको थियो। सो रकम बन्दीपुर गाउँपालिका–२ स्थित शान्ति आधारभूत विद्यालयलाई शैक्षिक विकासको लागि एक लाखको अक्षयकोष स्थापना गरिने सङ्गठनले जनाएको छ।
यसअघि मन्त्री न्यौपानेले जिल्ला प्रशासन कार्यालयमा जिल्ला प्रशासन कार्यालयमा भईरहेको सेवा प्रवाहको बारेमा पनि अनुमगन गर्नु भएको थियो। मन्त्री न्यौपानेलाई प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले कार्यालयको सेवा प्रवाह र समग्र तनहुँ जिल्लाको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो। मन्त्री न्यौपानेलाई जिल्ला समन्वय समिति, व्यास नगरपालिका र भानु नगरपालिकाले बधाई तथा सम्मान कार्यक्रम राखेको थियो।
समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपाने, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी लगायतका जनप्रतिनिधीले स्वागत तथा बधाई ज्ञापन गर्नु भएको थियो।