नाटककार भीमनिधि तिवारीको जीवनकालको समयमा पार्सी थिएटर, हिन्दी उर्दू नाटक मञ्चनको प्रभाव नेपालमा अझ विशेष गरेर राजधानीका पूर्वज नाटककारमा व्याप्त थियो । नाटक र नाटक मञ्चनमा नेपाली माटोको सुगन्धभन्दा विदेशीको अत्तर छर्कने काम भइरहेको थियो । नाटककार तिवारीले दरबारिया नाटक मञ्चनको प्रचलित चलनबाट सर्वसाधारण जनताको भाषा, समाज, अभिव्यक्ति र नाटकीय मञ्चनको मूलधारमा प्रवेश गराएर आफ्नो नाटकीय सिर्जनशीलतालाई एउटा अतुलनीय क्रान्तिकारी रूपमा मोडिदिनुभयो । नाटक लेख्ने शास्त्रीय परम्परा अथवा भनौँ पश्चिमी, भारतीय, उर्दू, पार्सी प्रकारका आयातित शास्त्रीय नाटकीय परम्परालाई स्वदेशी नमानेर नाटक लेखनमा एउटा नयाँ मोड ल्याउनुभयो । उहाँको सिर्जनशीलताको कदर गर्दै नाटक भनेको पढ्नका लागि भन्दा पनि मञ्चनका लागि लेखिने विधा हो भन्ने कुरालाई चरितार्थ पार्दै नाटक निर्देशक बनेर काठमाडौँमा अधिक र अविरल रूपमा नाटक मञ्चनको व्यवस्था गर्नुभयो । नाटक सङ्घ खोल्नुभयो । नाटक लेखन र मञ्चनमा दिल–दिमाग र समयले समर्पित हुनुभयो । उहाँका नाटकहरू त्यतिबेला निकै लोकप्रिय भए । देशको प्रायः सबै जिल्लाहरूमा उहाँका नाटक खेलिए । स्कुल, कलेज, डबली, खुला स्थान, सङ्घ संस्थाका वार्षिकोत्सव आदिमा उहाँका नाटक देशव्यापी बने । त्यस समय याने कि उहाँको जीवनकालमा यति धेरै स्थानमा यति ठूलो लोकप्रियताका साथ नाटक मञ्चन हुने गरेको उहाँ मात्र एक नाटककार बन्नुभयो । यसबाट हामीले सिक्ने पाठ के हो भने जनताका भावना, सुखदुःख वा समस्याका कुरा जनतासम्म पु-याउन नाटकमा रोचकता, सरलता, श्रुतिमधुरता, स्थानीय वा सांस्कृतिक तìवको नाटकमा परिचालन (भाषा, वेशभूषा, गरगहना, अभिव्यक्तिको धार) आदिले नाटक लेखनमा महìवपूर्ण भूमिका निर्वाह गर्दोरहेछ । यी गुणहरू नाटककार तिवारीका नाटकभरि व्याप्त भई छरिएका छन् । नाटकको मूल स्वरूपबाट सामन्ती राणाहरूका महलबाट मुक्त गरी सर्वसाधारण जनताको घरदैलो, स्कुल, कलेज, सार्वजनिक स्थान आदिमा ल्याएर अवतरित गराउनुभयो । त्यतिबेलाको दरबारिया महलहरूबाट नेपाली नाटकले एउटा ठूलो मुक्तिको श्वास निश्चिन्त रूपमा फेर्न पायो । यही कारणले पनि होला आधुनिक नाटककारहरू अशेष मल्ल, सरुभक्त र उहाँहरू पछिको नयाँ पिँढी नाटककार भीमनिधि तिवारीप्रति कृतज्ञ हुनुहुन्छ । नाटककार अशेष मल्लले सर्वनाम थिएर नै निर्माण गरे । त्यसपछि थिएटर खोल्नेहरूको आजकल भीडभाड नै छ । आजको नाटक लेखन नाटककार तिवारीकै मौलिक मूलधारबाट अग्रगामी दिशातिर उद्यत भइरहेको छ ।
उहाँका नाटकमा क्लिष्टता छैन, अस्पष्टता छैन, जटिलता छैन । सरलता छ; विदेशीको नक्कल छैन । स्वदेशको ताजा हावा (विषय र अभिव्यक्तिमा) छ । नेपालभरको कुनै स्कुल, कलेज वा थिएटर थिएन जहाँ उहाँका नाटक मञ्चन नगरिएको होस् । लोकप्रियता हासिल गर्न जनतासँग विषय र अभिव्यक्तिले जनतामै समर्पित हुनुपर्छ, जनतामै भिज्नुपर्छ जस्तो नाटककार तिवारी हुनुहुन्थ्यो । यो उहाँको त्यतिबेलाको ठूलो विद्रोह हो । त्यसैले एउटी साहित्यकारको हैसियतले म उहाँलाई यसै लेखद्वारा जन नाटककारको उपाधि अर्पण गर्न चाहन्छु– जुन कुरा जनताले व्यवहारमा उहाँलाई त्यतिबेलै अर्पण गरेकै हो । आफ्नो युगमा उहाँले प्रवेश गराउन भएको नाटकको क्षेत्रमा यो एउटा नयाँ धार नै हो । राणाकालीन र पञ्चायतकालीन दरबारमा एउटा बाहुनको छोरोले ल्याएको योभन्दा ठूलो आन्दोलन (निरङ्कुश शासन व्यवस्थामा) के पो हुनसक्छ र ? नाटककार तिवारी अत्यन्तै अध्ययनशील हुनुहुन्थ्यो । उहाँका दराजमा र हातमा विश्व साहित्यका किताब सधैँ हुने गर्थे । उहाँ शान्तिप्रिय, अध्ययनशील र अति सङ्घर्षरत साहित्यकार हुनुहुन्थ्यो । उहाँको विचारमा नाटक लेखनमा बाहिरिया प्रभाव वा नक्कल हुनुहुँदैन । स्वदेशकै माटोको रङ्गढङ्ग सुवास र सिर्जना हुनुपर्छ भन्ने विचारमा उहाँ अडिग हुनुहुन्थ्यो ।
मेरो मूल विषय अङ्ग्रेजी पढ्न मलाई प्रेरित गर्र्दै उहाँकै जीवनकालमा सेक्सपियरका ८, १० नाटकहरू मलाई उहाँले पढाउनुभएको छ । उहाँ आफ्ना विचार रहनसहन आदिमा अत्यन्तै आधुनिक हुनुहुन्थ्यो । दुई–चार पण्डितहरूले उहाँलाई राम्ररी बुझेनन् र अन्यथा प्रचार गरे । उहाँले सिकाउनुभएको अनुशासन र दिनचर्याबाट नै हामी (छोराछोरीहरू) यस स्थानसम्म आइपुग्न सफल भएका हौँ । उहाँले आफ्नो जीवनकालभरि यथार्थवादी, भावनात्मक र सुधारात्मक सामाजिक नाटकहरू लेख्नुभयो । जीवनको उत्तराद्र्धमा ऐतिहासिक नाटकहरू अति मार्मिक र स्वाभाविक शैलीहरू प्रस्तुत गर्नुभयो । अरू ऐतिहासिक नाटकहरू लेख्दै जाने उहाँको इच्छा र योजना थियो र त्यो योजनाको विवरण अझैसम्म पनि हामीसँग (तिवारी साहित्य समिति) सुरक्षित छ । उहाँका सम्पूर्ण ऐतिहासिक नाटकहरू मनोवैज्ञानिक ढाँचाका छन् । हरेक घटनाका कारण र असरका बीचमा मनोवैज्ञानिक धारले प्रमाणित गरेको पाइन्छ ।
म नाटक र निबन्ध पनि लेख्ने गर्छु तर कथा र कविताको दाँजोमा थोरै मात्र । एसिया, युरोप र अमेरिकाका थिएटरीय कला पनि देखियो । आफ्नो देशको मञ्चन पनि कम छैन भन्ने कुरामा गर्व लाग्यो । एकातिर नयाँ प्रविधिले नाटक मञ्चनमा मौलिकता पनि ल्याएको छ र नाटक मञ्चनको क्षेत्रलाई अगाडि बढाएको छ भने अर्कोतिर नाटक मञ्चनको स्वाभाविकता र स्वच्छतालाई आँच पु-याएको पनि छ ।
यतिखेर मलाई पश्चिमी निबन्धकार वट्र्रोन्ड रस्सेलका निबन्धको सम्झना हुन्छ । उनी भन्छन्, विज्ञान र प्रविधिको उचित उपयोग हुन गयो भने राम्रो त हुन्छ र अनुचित प्रयोग चाहिँ अति हानिकारक हुन्छ । नाटक मञ्चनको क्षेत्रले आधुनिक प्रविधि र नाटक मञ्चनको स्वाभाविक वा प्राकृतिक स्वरूपमा सन्तुलन ल्याउन सकोस् । नाटक मञ्चन र सिनेमाका आफ्ना आफ्ना अतुलनीय भिन्नाभिन्नै गुणहरू छन् । एकको अर्कोसँग तुलना गर्न सम्भव हुँदैन । दुवै उत्तिकै लोकप्रिय छन् र दुवैको यो देशलाई उत्तिकै आवश्यकता छ । मेरो विचारमा वास्तवमा जनताको मर्म बुझेको जीवन्त नाटक नै लोकप्रिय र चिरस्थायी हुन्छन् ।
आजकल नेपाली साहित्यमा मानिसको अनुहार, उसँगको सम्बन्ध, लेनदेन अथवा दृष्टिगोचर प्रभावका आधारमा लेखकलाई उठाउने वा ढलाउने चलन बढ्दै गएको छ । एकातिर साहित्यकारको अनुहार हेरेर उसले लेखेको कृतिको प्रशंसा गर्ने, निन्दा गर्ने वा चुपचाप रहने नयाँ संस्कृतिको सुरुवातमै अग्रगतिका विकास हुँदै जानु राम्रो कुरो होइन भने अर्कोतिर खास खास साहित्यकारको रचना, खोजी खोजी पढ्ने तर त्यही रचना लेख्ने, साहित्यकारलाई अवहेलना गर्ने । आधुनिक ढाँचाको भौतिकवादी जीवनशैली वा रहनसहनलाई त्यति महìव नदिनेलाई महìव वा स्थान नदिने । नयाँ कुरीतिको नयाँ संस्कृतिकै रूपमा यसरी विकसित हुनु दुःखलाग्दो कुरा हो ।
मध्यम वर्गीय साहित्यकारलाई भने राम्रो साहित्य रचना र भौतिकवादी होडबाजीको बीचमा सन्तुलन ल्याउन अलि मुस्किल नै पर्छ । के धनी मानिस वा व्यापारी ठूलो लेखक हो ? न त धनी वा व्यापारी राम्रो वा ठूलो लेखक हो न त गरिब मानिस नै राम्रो वा ठूलो लेखक हो । लेखकको मूल्याङ्कन उसको लेखनबाट मान्य हुने कुरा हो । अरू सबै गौण नै रहन्छन् ।
बालककालदेखि नै पुज्य पिता मूर्धन्य साहित्यकार तिवारी हामीलाई पनि नाटक हेर्न थिएटरमा लिएर जाने गर्नुहुन्थ्यो । करिब ५ वर्षको उमेरदेखि नै मैले विभिन्न सांस्कृतिक कार्यक्रम हेर्ने अवसर पाएकी थिएँ । म अलि ठूली भएपछिको कुरा हो यो– नाटक हेरेर फर्केपछि उहाँ प्रायः यस्तो उद्गार व्यक्त गर्नुहुन्थ्यो, “नाटक मञ्चनको ज्ञान नै नभएजस्तो नाटक हेरेर आइयो आज । पर्दा सिस्टमको राम्रो जानकारी नभएकाले नाटक गरेछन् । मुख्य (मूल) पर्दा नाटकको सुरुमा खोलिन्छ र अन्त्यमा बन्द गरिन्छ । अन्य दृश्यहरूमा अन्य भित्री पर्दाहरूको मात्र प्रयोग हुन्छ । काँचू ! (काँचुलीको छोटकारी रूप) आजको नाटक अन्य कुराहरूमा पनि मलाई खल्लो लाग्यो ।”
मेरो प्रश्न “किन र दाइदाइ (बुबा) ?”
कालो कोट फुकाल्दै उहाँको उत्तर “आजको नाटक भाट– नाटक हो । राजाको अति अनावश्यक प्रशंसाले भरिएको नाटक हो । राजा बेकुफ बनेर आफ्नो प्रशंसा नाटकमा सुनिरहेका थिए । यस्तो नाटक त नाटक नै हुँदैन । यस्तो नाटक त भाट नाटक हो । म यस्तो नाटक रुचाउन्न । नाटकमा सत्यता हुनुपर्छ, झुटो प्रशंसा हुनुहुँदैन ।” उहाँ सुत्ने कोठामा दराजभरि विश्वका नाटकका र अन्य साहित्यका किताबहरू प्रशस्त थिए । उहाँको दिनचर्या पढ्नु र लेख्नु नै थियो अफिसबाहेक । उहाँजस्तो त्यति ठूलो अध्ययन, अनुसन्धान गर्ने समाजमा भिजेको साहित्यकारको अगाडि मेरो उच्च शिक्षा दर्जाको डिग्रीको कागजलाई खेस्रा कागजसमान मान्दथेँ । नाटकको बारेमा उहाँको विचारमा समाजको कुरा समाजलाई नै दिनुपर्छ तर सरल र रोचक ढङ्गले । आजका समाजवादी प्रजातन्त्रवादी, लोकतन्त्रवादी, प्रगतिशील र प्रगतिवादीहरूको विचारसँग उहाँको विचार र लेखन दुवै नै अत्यन्त नै मेल खाएका छन् । उहाँले आफ्नो जीवनकालभरि नै रोचकताका साथ सरल भाषामा यथार्थ चरित्र, घटना र वातावरणको आफ्ना सामाजिक र ऐतिहासिक नाटकहरूमा निरन्तर रूपमा उद्घोषण गरिरहनुभयो । उहाँका समस्त नाटक सरल, रोचक र जीवन्त छन् ।
विदेशी प्रसिद्ध नाटकहरू वा कथा/उपन्यासलाई नाटकमा रूपान्तरण गरेर मञ्चन गर्ने चलनको पनि मैले काठमाडौँमा निक्कै अघिदेखि अवलोकन गर्दै आइरहेकी छु । आधुनिक (अहिलेको) समयमा नाटक मञ्चनमा युगान्तकारी योगदान पु¥याउने सफल नाटककार अशेष मल्ल हुन् भन्ने मलाई लाग्छ । नेपाली साहित्यका विशिष्ट लेखक सरुभक्त श्रेष्ठका नाटक पनि उत्कृष्ट छन् । आजकल नाटक मञ्चनतिर विशेष अभिरुचि र जिम्मेवारीले गर्दा उनीहरूबाट नाटक क्षेत्रले अरू धेरै आशा गरिरहेछ ।
सरुभक्तले मसित केही अगाडि भनेका छन्– “म भीमनिधि तिवारीका नाटकबाट प्रभावित छु ।” मैले भनेँ “आजको नेपाली नाटक तिवारीकै धारलाई लिएर अघि बढिरहेछ ।” शायद उनले स्वीकारे । अनुदित नाटकको आफ्नो छुट्टै भूमिका छ भने नेपाली साहित्यमा मौलिक नाटकहरू प्रशस्त लेखिनुपर्छ । छेउ र टुप्पाको अस्पष्ट नाटक लेखेर प्रचारबाजीमा मात्र समर्पित नाटक म पटक्कै रुचाउन्न ।
तिवारीले उनको एउटा कवितामा भनेका छन् “युगले जब पारख गर्छ, काँच र हीरा छुटिन्छ ।” बाँचुन्जेल त आत्म प्रशंसकले प्रचारवाजी, पत्रिकाबाजी आदिद्वारा आफ्नो प्रचार गरिरहेका हुन्छन् तर मरेपछि त तिनीहरू हुँदैनन्, केवल रचना मात्र हुन्छ । कालान्तरमा सही मूल्याङ्कन त्यतिबेला नै हुन्छ । म चाहन्छु आजका सबै स्तरका नाटक लेख्नेहरूले समाज, संस्कृति र समयलाई बुझेर नाटक लेखून् ।
ती नाटक अनुवाद हुन् र विश्वभरि मञ्चन हुन् । यो कठिन कार्य ठूला, साना सबै संस्थाले आपसमा मिलेर गर्न सक्छन् । मैले त तिवारीका नाटकमा समाज, संस्कृति र समयको मूल स्पन्दन भेटेको छु । मैले आफ्नो बालककालदेखि नै उहाँका नाटक पढ्दै आएकी छु । उहाँका नाटकको शायद पहिलो श्रोता उहाँकै परिवार हो । करिब १२ वर्षको उमेरमा तिवारीको नाटक “सिद्धार्थ गौतम” पटक पटक पढेर म भावुक बन्दै धेरैचोटि धुरु धुरु रोएकी छु । यो नाटक आज पनि मलाई उत्तिकै मार्मिक लाग्छ फरक त्यत्ति हो कि पहिले नाटक पढेर अत्यन्त भावविभोर हुन्थँे । आजकल त्यति हुँदिनँ । कम मात्र भावविभोर हुने गर्छु । उहाँका ऐतिहासिक नाटकका जीवन्त संवादहरूबाट म अत्यन्तै प्रभावित छु ।
नाटक मञ्चनमा सैद्धान्तिकभन्दा पनि स्थानीय, स्वदेशी र प्रयोगात्मक विचारको प्रयोग र अभ्यास हुनुपर्छ भन्ने शायद उहाँको धारणा थियो । एक दिन एकजनालेखक विद्वान् हाम्रो घरमा आए ।
मैले दाइदाइ (बुबा)लाई डाकेर भेटाइदिएँ जस्तो अन्य पाल्नुहुने साहित्यकारलाई गर्थें । उनले हाम्रो भ¥याङनेर उभ्याइएको एउटा सानो स्टेज (अन्दाजी आठ फिट लम्बाइ–चौडाइ भएकालाई देखाउँदै सोधे, “त्यो के हो ?” मैले भने, “स्टेज” हो । नाटक मञ्चन गर्ने स्थल हो ।” उनले अचम्म मानेर हेरिरहे । यस स्टेजको उपयोग र यसबारे मैले उनलाई छोटकरीमा भनिदिएँ । तिनी अचम्मित भए ।
नाटककार तिवारीले विशिष्ट सिकर्मीको सहयोगले आफ्नै निर्देशनमा एउटा मिनी स्टेज बनाउनुभएको थियो जसमा ठूला ठूला स्टेजको सबै सहुलियत त्यसमा थियो । हामीलाई चाहिँ त्यो पुतलीको रङ्गमञ्चजस्तो लाग्दथ्यो । तर कुरा अर्कै गम्भीर चाहिँ थियो । त्यस मिनी रङ्गमञ्चमा उहाँ आफ्ना नाटक मञ्चनको परिदृश्य उभ्याउनु हुन्थ्यो ।
विभिन्न डण्डीहरू राखिएका पर्दा पद्धतिको प्रबन्ध पनि थियो । त्यसमा उहाँ आफ्ना नाटक मञ्चनको अभ्यास गर्नुहुन्थ्यो । साहित्यकारका आफ्ना आवश्यकताका विशिष्ट सामान, फर्निचर र ओछ्यान आदिको आफैँले प्रबन्ध गरेका हुँदा रहेछन् ।
मैले त्यस्तो अनुभव अमेरिकाका पूर्व लेखकका पूराना घर, आँगन र अन्य विकसित देशका म्युजियममा राखिएका उनीहरूका घरआँगनका पारदर्शी सजीव चित्रहरू देखेर छक्क परेको छु । मैले के मानेकी छु समर्पितलेखकको दिनचर्याको ढाँचा र प्रयोग गर्ने सामानको ढाँचा अलि फरक नै हुँदो रहेछ ।
उनीहरूले भौतिकवादितालाई भन्दा लेखनबाट सहयोग पु-याउने आफ्नो आवश्यकतालाई विशेष ध्यान दिँदा रहेछन् । आफ्नो लेखकीय आवश्यकताका लागि विशेष निर्देशनमा बनाइएका फर्निचरको नाटकीय मञ्चनमा कला प्रस्तुतिका लागि नाटककार तिवारीले धेरै नै ध्यान दिनुभयो र मेहनत गर्नुभयो । कोरियाग्राफीको उहाँमा विशिष्ठ ज्ञान र शिल्प थियो । नाटकमा लाइट, पर्दा, नेपथ्य आदिको उचित प्रयोग र नाटकीय प्रस्तुतिमा अझ धेरै ध्यान दिनुहुन्थ्यो । मूल स्टेजमा नाटक मञ्चन भइरहन्थ्यो । दर्शकहरूको अपार भीड हुने गथ्र्यो । पर्दाको भित्रबाट, स्टेजमा अभिनय गरिरहेका पात्रहरूलाई उहाँ सानो स्वर गरेर निरन्तर निर्देशन दिइरहनुहुन्थ्यो । उहाँको निर्देशन र असल अभिनयकर्ताको मदतले गर्दा नाटक मञ्चन सफल हुने गथ्र्यो ।
सामाजिक विषय चयन गरेर जनताकै भाषामा नाटक प्रस्तुत गरेर आफ्ना रचनाबाट उहाँले निरङ्कुशताको विरोध गरिरहनुभयो । यति धेरै योगदान भएका लेखकको जनताबाट मनग्य माया र सम्मान पाए पनि त्यतिबेलाको निरङ्कुश सरकारले उचित मूल्याङ्कन नगरेका कारण नै यही हो ।
समय धेरै नै बदलिसकेको छ । आजको लोकतान्त्रिक सरकारबाट नाटकको क्षेत्रमा धेरै नै विकास हुनेछ भनेर अपेक्षा राख्ने ठाउँ छ । प्राज्ञिक क्षेत्रमा भिन्दै प्रतिष्ठान बनाएबापत नाटकका क्रियाकलापहरू भइरहेका छन् । निजी क्षेत्रबाट पनि विशेष अभिरुचि, चाख र समर्पण देखाउँदै गरिएको छ । नाटकको भविष्य अँध्यारो छ भन्नै मिल्दैन । सरकार र जनताको संयुक्त सहयोगमा अझ धेरै केही गर्न सकिन्छ भन्ने मलाई लाग्छ । म पनि नाटककार तिवारीकै मार्गमा थोरबहुत लागेकै छु ।
तिवारीको नयाँ धारले नेपाली नाटक क्षेत्रमा नयाँ मोड वा आन्दोलन ल्याएको सत्य तथ्य हो । नाटककार तिवारीका नाटकलाई अझ जीवन्त बनाउन सङ्घसंस्थाहरू र नेपाल सरकारको विभिन्न रूपमा विशेष सहायताको जरुरत महसुस गरेकी छु । नाटककार तिवारीको आफ्नो जीवनकालको भावी जीवन ऐतिहासिक नाटक लेखेर बिताउने सङ्कल्प वा योजना थियो जुन पूरा हुन सकेन । बासट्ठी वर्षकै अल्पायुमा उहाँको २०३० सालमा निधन हुन गयो ।
ऐतिहासिक नाटक अनुसन्धानमूलक हुन्छ । एक एक नाटक लेख्दा नाटककार तिवारीले स्थलगत भ्रमण मात्र होइन महिनौँसम्म उक्त ठाउँमै बसेर आँकडा सङ्कलन गर्नु हुँदै लेख्नुभएको हो । केवल परिकल्पनाले ऐतिहासिक नाटक लेख्न सम्भव छैन । उहाँ अध्ययनशील, मेहनती, जेहेनदार र ऐतिहासिक चरित्र र विषयमा चाख राख्ने सिर्जनशील हुनुभएकाले नै उहाँबाट ऐतिहासिक नाटक लेख्न सम्भव भएको हो ।
यस्तो ऐतिहासिक नाटक लेखन जो कोही साधारण व्यक्तिबाट सम्भव हुँदैन । इतिहास र संस्कृतिमा चाख राख्ने अध्ययनशील र सिर्जनशील आधुनिक पुस्ताका लेखकबाट ऐतिहासिक नाटक लेखनको मैले अत्यधिक अपेक्षा गरेकी छु । नाटककार तिवारीको नेपाली नाटकको इतिहासमा उल्लेखित खँदिलो योगदान चट्टानमा कुँदेको सुन्दर अक्षरभैmँ अटल र अजर छ, सजिलै पुछेर फ्याक्न सकिँदैन ।