• २० असोज २०८१, आइतबार

प्रजनन स्वास्थ्यमा असर

blog

कैलाली समाचारदाता

धनगढी, पुस १४ गते  । जलवायु परिवर्तनबाट महिलाको प्रजनन स्वास्थ्यमा गम्भीर असर पर्ने गरेको तथ्य सार्वजनिक भएको छ। कैलालीका चुरे गाउँपालिका र धनगढी उपमहानगरपालिका–४ मा छ महिनामा गरिएको अध्ययनले सो तथ्य सार्वजनिक भएको हो। 

जलवायु परिवर्तनले समयमा वर्षा नहुने त्यसले गर्दा खेतीपातीमा असर गर्ने, बाढी, पहिरो, असिनापानीले पनि खेतीपाती नष्ट हुने र उपयुक्त खानपान नपाउँदा प्रजनन स्वास्थ्यमा समस्या परेको अध्ययनमा उल्लेख छ। 

चुरे गाउँपालिका र धनगढी उपमहानगरपालिकाले फाया नेपाल र आइपास संस्थाको सहयोगमा जलवायु, लैङ्गिकता, यौन तथा प्रजनन स्वास्थ्य र अधिकारसम्बन्धी अध्ययन गरेको थियो। अध्ययनले महिलाको प्रजनन स्वास्थ्य राम्रो बनाउन स्थानीय अनुकूलन योजना प्रभावकारी रूपमा लागू गर्नुपर्ने सुझाव पनि दिएको छ।

 जलवायु परिवर्तनले उत्पन्न हुने प्राकृतिक विपत्तिबाट जोगिन महिला नै बढी सक्रिय हुनु पर्ने भएका कारणले प्रजनन स्वास्थ्यमा समस्या आउने गरेको अध्ययनमा उल्लेख गरिएको छ। 

अध्ययन प्रतिवेदन बुधबार धनगढीमा सार्वजनिक गरिएको हो। प्रतिवेदनमाथि टिप्पणी गर्दै चुरे गाउँपालिकामा अध्यक्ष चक्रबहादुर बोगटीले अध्ययनले दिएका सुझावअनुसार योजना बनाएर अघि बढाइने बताउनुभयो। धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले प्रतिवेदनका सुझाव कार्यान्वयन गर्न वार्षिक योजना बनाइने बताउनुभयो।

अध्ययनमा महिलाको प्रजननमा असर पर्न नदिनका लागि खानेपानीका धारा, कुटानीपिसानी गर्ने मिल बस्ती वा घरनजिकै बनाउनु पर्ने सुझाव दिएको छ। 

यस्तै गरेर परम्परागत चुलोले महिला र महिलाको पेटमा रहेको शिशुलाई समेत असर गर्ने भएकोले सुधारिएको चुलोमा जोड दिनु पर्ने बताइएको छ। सुधारिएको चुलोले महिला र बालबालिकाको स्वास्थ्यमा असर त हुन्न नै वनजङ्गल पनि जोगाएर जलवायुलाई पनि ठीक ठाउँमा राख्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ। 

महिलालाई तालिम दिएर रोजगारी सिर्जना गर्नुपर्ने, नगदे बाली लगाउन प्रेरित गर्नुपर्नेजस्ता कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव पनि अध्ययन प्रतिवेदनले दिएको छ। सो अध्ययन चुरे गाउँपालिका–१ र ४ धनगढी उपमहानगरपालिका–१५ र १७ का १८५ जना महिलामा गरिएको थियो। अध्ययन १८ देखि ४९ र ४९ वर्षमाथिका महिलामा गरिएको थियो। 

यही क्रममा चुरे गाउँपालिका–१ र ४ मा जलवायु परिवर्तनका सन्दर्भमा स्थानीय अनुकूलन योजनाअन्तर्गत १३० घरमा सुधारिएको चुलो दिइएको र धनगढी उपमहानगरपालिका–१७ का ७८ घरमा पनि चुलो दिने योजना रहेको फाया नेपालका कार्यक्रम संयोजक मानबहादुर डाँगीले बताउनुभयो।