• ८ मंसिर २०८१, शनिबार

क्रिसमसको रौनक

blog

नायिका प्रियङ्का कार्कीले क्रिसमस आउने हप्ता दिनअघि नै छोरी आयङ्का कार्की जोशीमार्फत क्रिसमसको शुभकामना दिइसक्नुभयो । टिकटकमा क्रिसमसको गीतमा छोरी आयङ्कालाई सान्टाको लुगा (रातो र सेतो मिश्रण) लगाएको भिडियो अपलोड गरी शुभकामना दिनुभएको हो । 

नायिका कार्की भन्नुहुन्छ, “यो चाड मलाई खास लाग्छ । म सबै चाड आदर गरेर मनाउँछु । क्रिसमसमा हाम्रो पूरै परिवार रातो र सेतो लुगा लगाएर नाच्ने, गाउने र रमाइलो गर्ने गर्छौं ।” 

विश्वभर नै क्रिसमसको रौनक छाएको छ । मुख्यतः इसाई धर्मावलम्बीले खुसियाली, उपहार र शुभकामना साटासाट गर्ने यो चाड पछिल्लो समय नेपालमा पनि लोकप्रिय हुँदै गएको छ । यहाँका सबैजसो समुदायले आ–आफ्नो तरिकाअनुसार यो चाड मनाउँछन् । सहर बजारमा एक हप्ताअघि नै यस चाडमा प्रयोग हुने क्रिसमस ट्री, मिठाई, उपहारलगायत सरसामग्री खरिद गर्नेहरू बढेको पाइन्छ । 

राजधानीको मुख्य सपिङ सेन्टर तथा मल, रेस्टुरेन्ट अनि होटल क्रिसमसमय भएका छन् । इसाई धर्मावलम्बीले त जिसस क्राइस्ट जन्मिएको दिनलाई भव्यताका साथ मनाउँछन् । डिसेम्बर २४ को साँझ ‘क्रिसमस इभ’ मनाइन्छ । विशेषगरी युवक–युवती यसमा सहभागी हुन्छन् । रमाइलो गर्न तम्सने युवा पुस्ताका लागि ‘क्रिसमस इभ’ एउटा ठूलो अवसर बनेको छ । 

क्रिसमस आइतबार परेको हुनाले सुनमा सुगन्ध थपिएको ललितपुरस्थित लबिम मलमा घुम्न आउनुभएका आकाश श्रेष्ठले बताउनुभयो । युवापुस्तामाझ ‘क्रिसमस इभ’ मनाउने चलन बढ्दै गएको धारणा राख्दै उहाँले भन्नुभयो, “चाड त एउटा माध्यम मात्र हो, रमाइलो गर्ने बहानाजस्तो लाग्छ । शुक्रबार ‘गुड फ्राइडे’ भयो, शनिबार ‘क्रिसमस इभ’ र आइतबार क्रिसमस । यी तीन दिन नै पूरै रमाइलो गर्ने योजनामा छौँ । साथीसँग ‘पब’ गएर नाचिन्छ, गाइन्छ, रमाइलो गरिन्छ ।”

डिसेम्बर २५ तारिखमा पर्ने इसाई धर्मावलम्बीको प्रमुख चाड क्रिसमसलाई सेलिब्रेसन गर्न अघिल्लो दिनको साँझ ‘क्रिसमस इभ’ मनाउने चलन छ । त्यसका लागि हप्ता दिनअघिदेखि सहरका सपिङ सेन्टरमा क्रिसमस ट्री सजाएर राख्न थालिन्छ । भाटभटेनी सुपरमार्केटका हरेक शाखाको प्रवेशद्वारमा ठूला–ठूला ‘क्रिसमस ट्री’ ठड्याएका छन् । सपिङ सेन्टरमा कार्यरत कर्मचारीसमेत क्रिसमसमा लगाइने सान्टा क्लज टोपीमा सजिएका देखिन्छन् । 

चाडपर्व र अवसरअनुसार सजाउन नसके सेवामूलक व्यवसायमा पछाडि परिने लबिम मलका व्यापारी रामकृष्ण श्रेष्ठको अनुभव छ । श्रेष्ठ भन्नुुहुन्छ, “मैले पनि हरेक वर्ष क्रिसमस इभमा ‘मेरी क्रिसमस’ भन्दै पसलमा ग्राहकको स्वागत गर्नैपर्छ । अनि कुनै स्थानमा एउटा ‘क्रिसमस ट्री’लाई सजाएर राख्नैपर्छ । क्रिसमसको जिङ्गल बेल नगाए पनि विभिन्न सुमधुर गीत सुनाएर ग्राहकलाई मनोरञ्जन दिनैपर्छ ।” 

काठमाडौँका ठमेल, दरबारमार्ग, पुतली सडक, झम्सिखेल, लाजिम्पाट, नक्साल, बानेश्वर आदि स्थानका होटल, सपिङ मल तथा रेस्टुराँमा क्रिसमस इभलक्षित विभिन्न कार्यक्रम आयोजित हुन्छन् । पाँचतारे होटलदेखि सामान्य लज तथा सपिङ सेन्टर एवं मलहरू 

‘क्रिसमस ट्री’ले झकिझकाउ हुन्छन् । सहरभित्रका महìवपूर्ण होटल, रेस्टुराँ, मल तथा सपिङ सेन्टरको सजावट, त्यहाँ देखिने भीड हेर्दा लाग्छ, क्रिसमस अब अधिकांश सहरीया युवाको जीवनशैलीमा भिजिसकेको छ । कतिलाई सामाजिक सञ्जालमा अपलोड भएका साथीभाइको सेल्फी तथा फोटोसेसनको मोहले क्रिसमससँग जोडेको पाइन्छ भने कतिलाई सपिङ मलमा आयोजित साङ्गीतिक कार्यक्रमले तानेको छ । 

धेरै मलमा एउटा ठूलो ‘क्रिसमस ट्री’ बनाइएको छ, जसको वरपर विभिन्न गिफ्टजस्ता बट्टा (खाली बट्टालाई प्याक गरेर) राखिएका छन् । झिलिमिली बत्तीले पनि सजाइएको छ । ललितपुरको लबिम मल, गोङ्गबुको बिजी मल, सुन्धाराको सीटीसी मल, चुच्चेपाटीको केएल टावर, दरबारमार्गको राइजिङ मल, जमलको विश्वज्योति मल आदि प्रायः सबै मलमा प्रवेश गर्नेबित्तिकै यस्ता क्रिसमस ट्री देख्न सकिन्छ । यस वरपर झुम्मिएर तस्बिर खिच्ने वा सेल्फी लिने युवा तथा बालबालिका पनि उत्तिकै हुन्छन् । यस्तो ट्री काठमाडौँ उपत्यकाबाहिरका सपिङ मलमा पनि देख्न पाइन्छ ।  क्रिसमसको अवसरमा सहरका चोकदेखि सपिङ मलमा आयोजना हुने कार्यक्रममा पनि युवाको उल्लेख्य उपस्थिति हुने गरेको छ । राजधानीका प्रमुख व्यापारिक केन्द्रमा क्रिसमसको रातोटोपी लगाएर हिँड्ने युवाको लर्को नै भेटिन्छ । सपिङ मल र रेस्टुराँमा मात्र होइन, अन्य व्यापारिक सोरुममा समेत क्रिसमसको रौनक पुगेको छ । 

¥याडिसन होटलमा कार्यरत उमेश भट्टले क्रिसमसलाई लक्षित गरेर विभिन्न साङ्गीतिक कार्यक्रम आयोजना गरेको जानकारी दिनुभयो । यो चाड मनाउन धेरै युवा आउने गर्छन् । उहाँका अनुसार चाड जसको भए पनि यदि त्यसले अन्तर्राष्ट्रिय मान्यता पाउँछ र संसारभरि खुसी र रौनक ल्याउँछ भने सबैले त्यो चाडको अनुसरण गर्छन् । 

ठमेलका रेस्टुराँको गेट, रिसेप्सन र डाइनिङ हलमा पिलपिले बत्ती जडान गरिएको ‘क्रिसमस ट्री’ सजाइएको छ । यहाँका रेस्टुराँ मात्र होइन, पर्यटकलाई आकर्षित गर्न सबै पसलमा ‘क्रिसमस ट्री’ सजाइएको छ । ठमेललगायतका ठाउँमा यस वर्षको क्रिसमस अन्य वर्षको तुलनामा भव्य हुने अनुमान छ । 

विदेशीको गन्तव्य ठमेलमा क्रिसमसको साँझ विदेशी तथा क्रिस्चियन धर्मावलम्बीको भीडभन्दा पनि नेपाली युवाको भीड धेरै हुने ठमेलस्थित फरएभर क्याफेका निरललित पियाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो त पर्यटकका लागि ‘अफ सिजन’ हो । विदेशीहरू फाट्टफुट्ट मात्र आउँछन् । नेपाली युवापुस्ता भने रमाइलो गरी यो चाड मनाउँछन् । उनीहरूका लागि क्रिसमस मनाउनु एउटा संस्कृति भइसकेको छ ।”  चाडका बेला हुने चहलपहलले व्यापारमा समेत फाइदा हुने नयाँसडकस्थित आर्चिच गिफ्टसपका गणेश रेग्मी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “चाडका लागि विभिन्न उपहार र सान्टाको लुगा बढी बिक्री हुन्छ ।” बुझेर हो वा नबुझेर, हाल ठूला सहरमा ‘क्रिसमस इभ’ भन्दै सबै धर्मावलम्बीका युवामाझ शुभकामना साटासाट गर्ने र नाचगानमा सरिक हुने प्रचलन बढ्दै गएको छ ।”

“धेरै विद्यालयले विद्यार्थीलाई दिनका लागि सान्टाको टोपी अर्डर गरेका छन्,” रेग्मीले भन्नुभयो, “विद्यालयमा पनि क्रिसमस मनाइने भएकाले सान्टाको लुगा र टोपी धेरै बिक्री हुन्छ ।” 

पछिल्लो समय उपत्यकालगायत अन्य ठाउँमा रहेका विद्यालयमा क्रिसमसलाई विशेष प्राथमिकता दिएर मनाउन थालिएको छ । क्रिसमस मनाउनका लागि विद्यार्थीलाई सान्टाको ड्रेस लगाउन कतिपय विद्यालयले अनिवार्य गरेका छन् । विद्यार्थीलाई सबै धर्म समुदायको ज्ञान हुनु जरुरी छ । त्यसैले विद्यालय स्तरमा पनि मनाउने गरिएको भक्तपुर निस्ट स्कुलका प्रधानाध्यापक दिलीप रानाको भनाइ छ । उहाँले भन्नुभयो, “क्रिसमसका लागि आयोजना हुने महोत्सव तथा सांस्कृतिक कार्यक्रमले मनोरञ्जनका साथै सामाजिक, धार्मिक र सांस्कृतिक सद्भाव विस्तार गर्न पनि मद्दत पु¥याउँछ ।” 

यसैगरी सामाजिक सञ्जाल टिकटक कुनै नृत्य, अभिनय वा फोटो प्रस्तुत गर्ने लोकप्रिय माध्यम बनेको छ । क्रिसमसको रौनक पनि अहिले टिकटकभरि देख्न सकिन्छ । ‘वि विस् यु अ मेरी क्रिसमस...’, ‘लास्ट क्रिसमस आई गेभ यु माई हार्ट...’ होस् या क्रिसमसको सङ्गीतमा टिकटकमा अभिनय वा नृत्य हेर्न पाउँछौँ । रातो लुगा तथा सान्टाको रातो टोपी लगाएर फोटाहरू पनि यहाँ देख्न सकिन्छ । 

क्रिसमसको सुरुवात

२५ डिसेम्बरलाई जिसस क्राइस्टको जन्मदिन मानिन्छ । यही दिन क्रिसमस मनाइन्छ । सन् ३५० देखि यो चाड मनाउन सुरु भएको हो । रोमको तत्कालीन बादसाह कन्स्टेन्टाइनले यो चाड मनाउन सुरु गरेका हुन् । यी बादसाह पहिले सूर्यभक्त थिए । बादसाह कन्स्टेन्टाइनले डिसेम्बर २५ मा सूर्य देवताको जन्मदिन मनाउँथे तर क्रिस्चियन कुनै पनि ग्रह, नक्षत्रको पूजा गर्ने नभई अमूर्त रूपमा रहेको ईश्वरलाई मात्र मान्ने हुँदा २५ डिसेम्बरलाई सूर्य देवताको जन्मदिन नभई जिसस क्राइस्टको जन्मदिनका रूपमा मनाउन रोमन जनताका नाममा उनले उर्दी जारी गरे । त्यसपछि क्रिसमस मनाउन सुरु भएको हो । क्रिसमसका अवसरमा नाच्ने, गाउने, खाने र मनोरञ्जन गर्ने क्रम भव्य रूपमा बढ्दै गएको छ । युवाले उल्लेख्य रूपमा चासो देखाउने गरेका छन् ।