पशुपति अधिकारी
बाँदर तराईदेखि हिमालसम्म जतासुकै पाइने स्तनधारी जन्तु हो । नेपालमा हजारौँको सङ्ख्यामा बाँदर रहेका छन् । बाँदरलाई चाहिने खानेकुरा वनबाट मात्रै पूर्ति हुन सम्भव छैन । त्यसैले यो जन्तु बालिनाली खान खेतबारीमा पस्ने गर्छ । बाँदरबाट बालीनालीमा क्षति पुग्छ । यो क्षति बर्सेनि बढेर गएको छ । बाँदरबाट सबैभन्दा प्रभावित क्षेत्र मध्यपहाड हो । यस क्षेत्रको तुलनामा तराई र हिमाली क्षेत्रमा बाँदरले पु-याउने क्षति नगण्य छ । मध्यपहाडी क्षेत्रमा बाँदरको बिगबिगी बढेसँगै बालीनालीको सघनता घट्दै गएको छ । वन्यजन्तुको बासस्थान वन हो । वनको पारिस्थितिक प्रणालीमा गतिशील सन्तुलन कायम राख्न सके मात्रै कुनै पनि वन्यजन्तुको सङ्ख्या धेरै बढ्ने र घट्ने नभई एउटा सीमारेखासम्म मात्रै बढ्ने, घट्ने हुन्छ । यस्तो गतिशील सन्तुलनको अवस्थालाई वन्यजन्तु विज्ञानमा
‘होमियोस्टासिस’ भन्ने गरिन्छ । तर मानवीय गतिविधिका कारण यस्तो सन्तुलन कायम राख्न मुस्किल हुन्छ । यसले गर्दा कुनै वन्यजन्तुको सङ्ख्या बढ्ने तथा कुनैको घट्ने भई वन्यजन्तुबाट मानिस, पशुधन र बालिनालीको क्षति हुन्छ ।
किन बढे बाँदर ?
मध्यपहाडी क्षेत्रका बासिन्दाको आम्दानीको मुख्य स्रोत कृषि र पशुपालन हो । देशको ६८ प्रतिशत भूभाग ओगटेको यो क्षेत्रमा जनघनत्व घट्दै गएको विभिन्न अध्ययनले देखाएका छन् । युवापुस्ता अवसरको खोजीमा वैदेशिक रोजगारी र सहर केन्द्रित भएकाले बसाइँसराइ बढेको छ । गाउँघरमा जनसङ्ख्याको चाप घटेसँगै काठ, दाउराको खपत र पशुपालन पनि घटेको छ । वनको क्षेत्रफल बढेको छ । योसँगै बाँदर, चितुवा, बँदेल, ब्वाँसो, दुम्सी, भालुलगायत वन्यजन्तुको सङ्ख्या पनि बढेको छ । आहाराको खोजीमा यी जन्तु वन क्षेत्रबाहिर निस्कने गर्छन् । वन्यजन्तुमध्ये अन्नबाली, तरकारी र फलफूललाई सबैभन्दा बढी बाँदरले क्षति पु¥यााउने गरेको छ । बाँदरबाट हुने क्षति बर्सेनि बढ्दै जानुमा तिनको सिकार गर्ने चितुवाको चोरी सिकार बढ्नु र प्रतिशोधका रूपमा किसानले विषादी प्रयोग गरी चितुवा मार्ने घटनामा वृद्धि हुनु पनि पाइएको छ । नेपालमा छालाका लागि चितुवाको चोरी सिकार हुने गरेको छ । दक्षिण एसियामा वन्यजन्तुको अपराध नियन्त्रण गर्ने कार्यमा समन्वय र सहकार्य गर्दै आएको साबेन नामको संस्थाले दिएको जानकारीअनुसार विगत पाँच वर्षमा बरामद भएका आखेटोपहारको विश्लेषण गर्दा सबैभन्दा बढी चितुवाको छाला बरामद भएको छ । बाँदर चितुवाको प्रमुख सिकार प्रजाति हो । चितुवा मासिँदै गएका ठाउँमा बाँदरको सङ्ख्या बढेको छ । विगतमा कहिलेकाहीँ मात्रै आउने बाँदर अहिले गाउँघर, खेतबारी नजिकैका भीर, पहरा र वनमा वर्षभरि नै पाइन्छ । गाउँघर, सहरबजारबाट निस्केको फोहोरको उचित व्यवस्थापन गर्न नसक्दा पनि बाँदरको सङ्ख्या बढ्न सहयोग पुगेको छ । फोहोरमा रहेका फलफूल तथा तरकारीका बोक्रा र खाद्यपदार्थबाट बाँदरलाई बाहै्र महिना सहज रूपमा खानेकुरा प्राप्त भएको छ । यसबाट बाँदरको प्रजनन क्षमता बढ्न गई सङ्ख्या वृद्धि हुन थप सहयोग पुगेको छ ।
बाँदरका प्रजाति
नेपालमा रातो बाँदर (रेसस माकाक्यु), आसामी बाँदर (पहरे) र हनुमान लङ्गुर प्रजातिसहित बाँदरका छ प्रजाति रहेका छन् । अन्य प्रजातिका तुलनामा रातो बाँदरको सङ्ख्या बढी छ र यो प्रजाति मध्यपहाडको दुई हजार पाँच सय मिटरको उचाइसम्म पाइन्छ । नेपालको करिब ४४ प्रतिशत भूभागमा रातो बाँदर फैलिएको अध्ययनले देखाएको छ । मानव बसोबास क्षेत्र नजिकै बस्न रुचाउने यो प्रजाति बीसदेखि दुई सयको समूहमा रहने गर्छ । बाँदरको अर्को प्रजाति गाउँघरमा कालो बाँदर भनेर चिनिने आसामी (पहरे) बाँदर हो । पाँचदेखि बीसवटाको बथानमा बस्ने यो प्रजाति अन्नपूर्ण र गौरीशङ्कर संरक्षण क्षेत्र, शिवपुरी, नागार्जुन, लामटाङ र मकालुवरुण राष्ट्रिय निकुञ्ज तथा धादिङ, म्याग्दी र पाल्पा जिल्लामा पाइएको छ । नेपालमा पाइने हनुमान लङ्गुरका चार प्रजातिमध्ये साधारण हनुमान लङ्गुर (सिम्नोपिथेकस इन्टेलस) भन्ने प्रजाति हिमालदेखि तराईसम्म जतासुकै पाइन्छ भने तराई हनुमान लङ्गुर (सिम्नोपिथेकस हेक्टर) तराई क्षेत्रमा मात्रै पाइन्छ । कस्मिरी खैरो हनुमान लङ्गुर (सिम्नोपिथेकस अजाक्स) र हिमाली हनुमान लङ्गुर (सिम्नोपिथेकस स्टासियस) हिमाली क्षेत्रमा मात्रै पाइन्छन् ।
जीवविज्ञान
बाँदर रूख, भीरपहरामा बस्ने गर्छ । बाँदरले एक सय प्रजातिका वनस्पति खाने गरेको पाइएको छ । यसको शरीरमा खानेकुरा अस्थायी रूपमा राख्ने थैलो हुन्छ । बाँदरका धेरैजसो प्रजातिको तौल १० देखि १५ किलोग्रामसम्म हुन्छ । यो समूहमा बस्छ र पोथी बाँदर साढे दुई वर्षको भएपछि प्रजननका लागि योग्य हुन्छे । बाँदरको भालेलाई ढेडु भन्ने गरिन्छ । शक्तिशाली ढेडुले धेरै पोथी लिएर हिँडेको हुन्छ र अरू ढेडुलाई बथानको नजिक आउन दिँदैन । त्यसैले बूढा र अशक्त ढेडुहरू बथानबाट अलग्गिएर बसेका हुन्छन् । बाँदरको गर्भधारण अवधि १६५ दिनको हुन्छ र एक पटकमा एउटा मात्र बच्चा जन्माउँछ । बच्चालाई माउले बोकेर हिँड्ने हुँदा छोटो समयमै टाढाटाढासम्म पुग्न सक्छ । तराईका जङ्गलमा लङ्गुर र चित्तल प्रायःजसो सँगसँगै देखिन्छ । यी दुईबीच अनौठो सम्बन्ध रहेको हुन्छ । लङ्गुरले रूखका फल खाँदा झरेका फल खान चित्तलहरू रुखमुनि झुम्मिने गर्छन् । साथै रुख चढेका लङ्गुरले बाघ र चितुवाको उपस्थितिबारे पूर्वसूचना पाउने हुँदा चित्तललाई सूचना दिई भगाउने गर्छन् ।
बाँदर मानिसको सबैभन्दा नजिकको नातेदार जन्तु हो । प्राणीजगत्को वर्गीकरणमा मानिस र बाँदर ‘प्राइमेट’ भन्ने एउटै वर्गमा पर्छ । मानिस र बाँदरको शारीरिक बनावट धेरै कुरामा मिल्दोजुल्दो भएको हुनाले विश्वभर बायोमेडिकल क्षेत्रका अधिकांश अनुसन्धान बाँदरमा गरिन्छ । बाँदरमा प्रयोग सफल भएपछि सन् १८१८ देखि एक व्यक्तिको रगत अर्को व्यक्तिमा दिने काम गरिएको थियो ।
बाँदर र खाद्यान्नको नोक्सानी
बाँदर, बँदेल, ब्वाँसोजस्ता उच्च प्रजनन क्षमता भई छोटो समयमा धेरै फैलिने र बालीनाली र पशुधनलाई क्षति पु¥याउने वन्यजन्तुलाई ‘पेस्ट एनिमल’ अर्थात् शत्रु जनावर भन्ने गरिन्छ । बाँदर अन्य वन्यजन्तुको तुलनामा देशका धेरै भूभागमा फैलिएर रहेका हुँदा यसबाट बालीनालीमा पुग्ने क्षति पनि बढी छ । बाँदरकै बिगबिगीका कारण मध्यहाडी क्षेत्रका कतिपय किसान बसाइँ सरेर अन्यत्र जान बाध्य भएका छन् । यसरी बाँदरले नेपालको जनसाङ्ख्यिक वितरणमा समेत असर पारेको छ । सन् २०१८ मा गरिएको अध्ययनमा बाग्लुङको जैदी गाउँमा बाँदरले एक वर्षमा एक परिवारको १८४ किलोग्राम अन्नबालीलाई नोक्सान पु¥यााएको पाइएको छ । सदियौँदेखि नै बाँदरले आफ्नो आहाराको केही अंश बालीनालीबाट पूर्ति गर्दै आएका छन् । तर विगतमा बाली खान खेतबारीमा पसेका बाँदरलाई सबै गाउँले मिलेर कुकुर, बन्दुकको सहयोग लिई धपाउने, तर्साउने वा मार्ने गरिन्थ्यो र धेरै क्षति पुग्दैैनथ्यो । अहिले भने गाउँमा मानिस र घरपालुवा पशुको घनत्व घट्दै गएसँगै गाउँघर, खेतबारी वनले ढाकिँदै गएकाले खेतबारीमा पसेका बाँदरलाई टाढा धपाउन कठिन भएको छ । बन्दुक प्रयोग गरी बाँदर धपाउन, मार्न नपाइने हुँदा मकै र आलु लगाउने गरिएका हजाराँै रोपनी खेतीयोग्य जमिन बाँझो छाडिएको छ । बाँदरका कारण नेपालको मध्यपहाडी क्षेत्रको जीवन निर्वाहमुखी कृषि प्रणाली धराशायी हुँदै गएको छ ।
नियन्त्रणका प्रयास
चितुवा र ध्वाँसेचितुवा मासिएसँगै वनको खाद्य चक्र असन्तुलित भएको छ र प्राकृतिक रूपमा बाँदरको सङ्ख्या नियन्त्रण हुन सकेको छैन । नेपालमा मध्यपश्चिमको वनमा बसोबास गर्ने राउटे जातिबाहेक अरू जातिले बाँदर मारेर खाने गर्दैनन् । बाँदरको छालाबाट भजनमा बजाउने खैँजडी बनाउने गरिन्छ तर यसको प्रयोग नगण्य हुने गर्छ । त्यसैले बाँदरको सङ्ख्या बढेको बढ्यै छ । बाँदरबाट हुने क्षति बढेसँगै बाँदर धपाउन स्थानीय तहबाट ठूलो धनराशि खर्च गरिँदै आएको छ तर जेजस्ता प्रयास भए पनि बाँदरबाट बालीनालीमा पुग्ने क्षतिमा कुनै कमी आएको छैन । हालसम्म भएका प्रयासमा ठूलो आवाज आउने गरी कुनै सामान वा यन्त्र पड्काएर बाँदर तर्साउने, वनमा फलफूलका बिरुवा रोप्ने, सबै गाउँले मिलेर बाँदर धपाउने, कुकुर पाल्ने र खेतबारी नजिकै रहेका बाँदर बस्ने रूखहरू काट्ने गरिएका छन् । हालसालै अनुसन्धानबाट ट्राई मिथाइल अमाइन नामको ग्याँस खेतबारीमा राखेमा त्यसको गन्धबाट बाँदर त्यहाँबाट भाग्ने गरेको तथ्य पत्ता लागेको छ । पहाडी क्षेत्रमा यस्तो प्रविधिलाई किसानको स्तरसम्म पु-याउन भने कठिन छ ।
अन्तर्राष्ट्रिय अभ्यास
भारतमा बाँदरबाट बालीनाली जोगाउन हालसम्म भएका सबै प्रयास विफल भएको अध्ययनले देखाएको छ । बाँदर, बँदेल, ब्वाँसोजस्ता ‘पेस्ट एनिमल’ नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय अभ्यासहरू अध्ययन गर्दा यी जन्तुका सङ्ख्या घटाउनेबाहेक अन्य उपाय नभएको देखिएको छ । बीसौँ शताब्दीमा अमेरिकामा ब्वाँसो निर्मूल गर्ने अभियान सञ्चालन गरी सन् १९५० सम्ममा अधिकांश राज्यबाट ब्वाँसो निर्मूल गरिएको थियो । दक्षिण अस्टे«लियामा करिब १२ लाख अर्ध–जङ्गली (फेरल) उँटहरू खडेरीको समयमा पानीको खोजीमा घरको क्षेत्रभित्र पस्ने, केटाकेटीलाई आक्रमण गर्ने तथा पानीका स्रोतमा क्षति पु¥याउने गरेपछि सन् २०२० मा हेलिकोप्टर प्रयोग गरी १० हजारभन्दा बढी उँट मारिएको थियो । ब्वाँसोले नर्वे र स्विडेनका भेडी फर्मका धेरै भेडालाई नोक्सान पु¥यााएको हुँदा त्यहाँ रहेका करिब ४८० ब्वाँसोलाई सन् २०२२ मा आधा घटाउने योजना स्विडिस सरकारले बनाएको छ ।
कानुनी व्यवस्था
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले कालो (आसामी/पहरे) बाँदरलाई संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत गरेको छ । यो प्रजाति देशका केही ठाउँमा मात्रै सीमित छ र यसको सङ्ख्या पनि थोरै छ । बाँदरहरूमध्ये सबैभन्दा बढी सङ्ख्यामा रातो बाँदर रहेको हुँदा यसबाट बालीनालीमा पुग्ने क्षति पनि बढी छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० ले मानिस, पशुधन र बालीनालीलाई क्षति पु-यााउने कुनै वन्यजन्तु वा पन्छीलाई कुनै खास क्षेत्रमा कुनै खास समयका लागि नेपाल राजपत्रमा सूचना प्रकाशित गरी कृषिका लागि हानिकारक वन्यजन्तु घोषित गरी तिनको नियन्त्रण गर्न सकिने कानुनी व्यवस्था गरेको छ । नियमावलीको नियम ३६ ले बाँदर, बँदेलजस्ता हानिकारक घोषित गरिएका वन्यजन्तु वा पन्छीलाई सोही सूचनामा तोकिएको सर्त र बन्देजको अधीनमा रही खेत, खला, बारीमा बिनाअनुज्ञापत्र पनि धपाउन, लखेट्न, पक्रन वा मार्न सकिने अधिकार दिएको छ । नियमावलीको यसै प्रावधानको अधीनमा रही नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी बेलाबखत जङ्ली बँदेल नियन्त्रण गर्दै आएको छ तर बाँदरको हकमा भने नियमावलीको यो प्रावधानलाई हालसम्म कार्यान्वयनमा ल्याइएको छैन ।
नेपालको मध्यपहाडी क्षेत्रमा बाँदरका कारण देखा परेको मानव–बाँदर द्वन्द्व न्यूनीकरण गर्न बाँदरलाई हानिकारक वन्यजन्तु घोषित गर्नुपर्ने सबैभन्दा व्यावहारिक उपाय हुने देखिएको छ । राज्यले प्राकृतिक रूपमै बाँदरको सङ्ख्या नियन्त्रण हुने दीर्घकालीन उपायहरू अबलम्वन गर्नुपर्छ तर तत्कालै वनको खाद्यचक्रमा यस किसिमको सन्तुलन कायम राख्न कठिन हुने भएकाले बाँदरका कारण मध्यपहाडी क्षेत्रमा घट्दै गएको खाद्यान्न उत्पादनलाई थप घट्न नदिन रातो बाँदरलाई कृषिका लागि हानिकारक वन्यजन्तु घोषित गर्नुको विकल्प छैन ।