हुन त अहिले संसारभरि नै नेपाल र नेपाली पुगेका छन् । जहाँ भए पनि आफ्नो बेग्लै पहिचान नेपालीले बनाएकै हुन्छ । त्यसैको एउटा अंश हो अस्ट्रेलिया पनि ।
विश्वभरिका तमाम हिन्दुका आराध्यदेव– भगवान् पशुपतिनाथ । नेपालको राजधानी काठमाडौँको बागमती किनारामा अवस्थित । संसारका करिब एक अर्ब हिन्दुको आस्थाका प्रतीक श्री पशुपतिनाथको दर्शनको अभिलाषा सबैमा छ तर समय, सम्पत्ति र समस्याका कारण सबैलाई यो अवसर जुर्दैन । आफैँ उपस्थित भएर नेपाल आइपुग्न नसक्नेका लागि बसोबास गर्ने थलोमा नै श्रीपशुपतिनाथको दर्शन गर्न पाए हुन्थ्यो भन्ने चाहना हुनु स्वाभाविक हो । त्यही आकाङ्क्षा परिपूर्तिका लागि अहिले अस्ट्रेलियामा बसोबास गर्ने नेपाली सक्रिय छन्, पशुपतिनाथको प्रतिमूर्ति तयार गर्ने अभियानमा । नेतृत्व गर्दै छ सनातन समाज अस्ट्रेलियाले ।
नेपालको पछिल्लो जनसङ्ख्या झन्डै तीन करोड भनिएको छ । करिब एक करोड त नेपालबाहिर छन् । तीमध्ये तीन लाखभन्दा बढी अस्ट्रेलियामा बसोबास गर्छन् । राजधानी क्यानबेरामा मात्रै करिब १७ हजार छन् । सिड्नीमा डेढ लाख करिब । अहिले पशुपतिनाथको प्रतिमूर्ति स्थापना गर्न लागिएको थलो हो– क्यानबेरा । अस्ट्रेलियन सरकारले मन्दिर निर्माणका लागि जग्गा उपलब्ध गराउने अभियानलाई तीव्रता दिइरहेको छ । त्यसको समन्वय गर्ने संस्था सनातन समाज अस्ट्रेलियाका अध्यक्ष सन्तोष मल्लले अब छिट्टै नै अभियानले आकार लिने विश्वास व्यक्त गर्नुभएको छ । मन्दिर निर्माणका लागि नेपाली समुदाय र अन्य दातासँग रकमको जोहो गर्न सुरु भएको छ । अब पहिला जग्गा प्राप्ति नै पहिलो सर्त रहेको छ । अस्ट्रेलियन सरकारका पदाधिकारी र राजनीतिक नेतृत्वले यसको पहल गरिरहेको मल्लको भनाइ छ ।
अस्ट्रेलियन सरकार सकारात्मक
अस्ट्रेलिया आफैँ पनि बहुपहिचान संस्कृतिप्रति उदार मुलुक हो । अझ नेपाली समुदायको इमानदारिता र सरलताप्रति अस्ट्रेलियन अधिकारीको अगाध विश्वास र भरोसा रहेको छ । सङ्घीय संसदमा नेपाली समुदायको समेत बलियो समर्थनमा विजयी लेबर पार्टीका सांसद डेभिड स्मिथ भन्नुहुन्छ, “नेपाली हिन्दु समुदायको चाहनाबमोजिम पशुपतिनाथको मन्दिर बनाउन आवश्यक जग्गा उपलब्ध गराउन म प्रयासरत छु । सम्भवतः केही समयमै यसले एउटा आकार लिनेछ । यहाँ रहेका भारतीय मूलका नागरिकले विभिन्न स्थानमा भव्य मन्दिर बनाएका छन् । भारतीय मूलका हिन्दु र नेपाली मूलका हिन्दु एकै हुन् भन्ने बुझाइ कतिपय अधिकारीको रहेको पाइन्छ तर नेपाली र भारतीय अलग हुन् र मन्दिर पनि अलग आस्थाका साथ स्थापना हुने कुरा बुझाउने काम सनातन समाज अस्ट्रेलियाले गरिरहेको छ ।”
अब भने नेपाली हिन्दु अलग हुन् भन्ने धारणा बनेको अस्ट्रेलिया सरकारका यातायात तथा सम्पदामन्त्री क्रिस स्टिलले बताउनुभयो । अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले पनि अस्ट्रेलियन सरकारले जमिन उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो । नेपाली हिन्दु समुदायको अलग पहिचानलाई सरकारले मान्यता दिएकाले छिट्टै नै पशुपतिनाथ मन्दिर निर्माण अभियानले सार्थकता पाउने उहाँले बताउनुभयो । सनातन समाज अस्ट्रेलियाका अध्यक्ष मल्ल भन्नुहुन्छ, “अर्काे वर्षभित्रै सम्भवतः मन्दिर निर्माण हुनेछ ।” यस्तै पशुपति विकास कोषका कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता गणेश केसीले क्यानबेरामा मन्दिर निर्माणका लागि कोषका तर्फबाट सक्दो पहल गर्ने बताउनुभयो । क्यानबेरा भ्रमणका क्रममा उहाँ पनि नेपाली नयाँ वर्ष कार्यक्रममा पुग्नुभएको थियो । केसीले नेपालमा धार्मिक पर्यटनलाई टेवा दिन यसले ठुलो बल पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल गुन्जिएको क्षण
सम्भवतः नेपाली विक्रम संवत्को क्यालेन्डर नेपालबाहेक अन्यत्र चल्दैन । अस्ट्रेलियामा पनि इस्वी संवत् नै चल्छ तर क्यानबेरामा सनातन समाज अस्ट्रेलियाले नेपाली नयाँ वर्षलाई उत्सवका रूपमा धुमधामका साथ मनाउँदै आएको छ । जसले गर्दा यहाँ बसोबास गर्ने विश्वभरिका मानिसलाई नेपाली नयाँ वर्ष सम्झन बाध्य तुल्याउँछ । विगत पाँच वर्षदेखि क्यानबेरामा नेपाल र नेपालीपन गुञ्जायमान हुन थालेको छ । नयाँ वर्ष मात्र नभई अन्य ठुला चाड पनि धुमधामसाथ मनाइन्छ । दसैँतिहार होस् वा तिज नेपाली मन र तनले धपक्कै ढाक्छ यो भूमि । यसै क्रममा २०८२ साल वैशाख १ गते क्यानबेराको लेनक्स गार्डेनमा नेपाली नयाँ वर्ष भव्यतासाथ मनाइयो । उत्सवका रूपमा मनाइएको सो कार्यक्रममा झन्डै पाँच हजार नेपालीको उपस्थिति थियो । उक्त कार्यक्रममा अस्ट्रेलियाका विभिन्न तहका मन्त्रीलगायत पदाधिकारीको सहभागिता थियो । कार्यक्रमलाई ऊर्जा दिन नेपालबाट प्रसिद्ध गायक आनन्द कार्की पुग्नुभएको थियो । नेपाली गीत/सङ्गीतले गुञ्जायमान उक्त क्षणले यहाँ उपस्थित सबैलाई नेपाली स्वाद पस्किएको थियो । नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्मालगायत नेपालका केही पत्रकार कार्यक्रममा अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । हजारौँ नेपालीले बढो उत्साह र रुचिका साथ कार्यक्रमको रौनक नै बढाए । त्यसमध्येका एक हुनुहुन्छ, विनोद उप्रेती । गैरआवासीय नेपाली सङ्घ क्यानबेराका कोषाध्यक्ष उप्रेतीले नेपाल र नेपालीपन झल्काउने यस्ता कार्यक्रमले नेपाली मन पुलकित भएको बताउनुभयो । सानो सङ्ख्यामा रहे पनि क्यानबेरामा नेपाल र नेपालीपनको गर्बिलो उपस्थिति रहेको उहाँको धारणा छ । यस्तै सनातन समाज अस्ट्रेलियाका कोषाध्यक्ष प्रकाश पोखरेलका अनुसार यस्ता कार्यक्रमले नेपालबारे बुझ्न र बुझाउनसमेत सहयोग पुग्ने गरेको बताउनुभयो । अस्ट्रेलियन सरकारले नेपाली हिन्दुलाई भारतीय जस्तो नठानोस् र अलग संस्कृति एवं पहिचान भएको बुझोस् भनेरै यस्तो कार्यक्रम गर्न थालिएको उहाँको भनाइ छ ।
जमेको नेपाली समुदाय
हुन त अहिले संसारभरि नै नेपाल र नेपाली पुगेका छन् । जहाँ भए पनि आफ्नो बेग्लै पहिचान नेपालीले बनाएकै हुन्छ । त्यसैको एउटा अंश हो अस्ट्रेलिया पनि । चाहे गैरआवासीय नेपाली सङ्घ एनआरएनएका पूर्वअध्यक्ष शेष घले हुन् वा अल नेपाल तराई मधेश सङ्गठन अस्ट्रेलिया (एन्टा) का अध्यक्ष रणजित साह हुन् जमेरै बसेका छन् । यस्तै विगत ३३ वर्षदेखि अस्ट्रेलिया रहेर नेपाल र नेपाली समुदायलाई नयाँ उचाइमा पुर्याउने डा. कृष्ण हमाल वा युवा व्यवसायी दिनेश कडायत यी नेपाल र नेपाली सान बनेर बसेका छन् । शिक्षाको क्षेत्रमा अलग पहिचान बनाउनुभएका सञ्जीव शर्माको योगदान उत्साहप्रद छ । अस्ट्रेलियन सरकारका लागि आयआर्जनको दरिलो स्रोत बनेका छन्– नेपाली व्यवसायी । उता नेपाली समुदायका धेरै मानिस सङ्घीय, प्रान्तीय र स्थानीय सरकारका महत्वपूर्ण पदमा छन् । जो नेपाल र नेपाली समुदायका लागि आन, वान र सान बनेका छन् । यति मात्र होइन् जुनसुकै क्षेत्रमा पनि नेपालीको गौरवशाली उपस्थिति छ । जहाँ काम गर्छन्, अलग ओजस्वी पहिचान बनाएका छन् । उत्पादन, सेवा वा रोजगारी जुनसुकै क्षेत्रमा नेपाल र नेपालीको उपस्थिति उम्दा छ । यस्तै नेपाली समुदायलाई कानुनी परामर्श दिएर सबैका प्रिय बन्नुभएका कानुन व्यवसायी शमशेरसिंह थापाको कथा बेग्लै छ । उहाँले झन्डै तीन दशकदेखि सिड्नीमा बसेर नेपालीलाई कानुनी परामर्श सेवा प्रदान गर्दै आउनुभएको छ । शमशेरसिंह थापा कानुनी क्षेत्रको ब्रान्डका रूपमा स्थापित नाम हो । यस्ता धेरै पात्र छन् अस्ट्रेलियामा सिप र दक्षता छ भने नेपालबाटै पिआर हुँदोरहेछ । १५ वर्षअघि नेपालको लोभलाग्दो जागिर छाडेका मनोज भण्डारी मेलबर्न पुग्नुभएको छ । नेपाल विद्युत् प्राधिकरणमा इलेक्ट्रिकल इन्जिनियर रहनुभएका भण्डारी नेपालबाटै पिआर लिएर अस्ट्रेलिया छिर्नुभयो । अहिले सरकारी नोकरीमा उहाँको लोभलाग्दो उपस्थिति छ । करोडौँ लगानीमा गलैँचा व्यवसाय गर्ने मणि (इनाम) दाहालले सिड्नीमा अलग स्थान बनाउनुभएको छ ।
पीडा पनि छ
अस्ट्रेलिया जाने र उच्च शिक्षा हासिल गर्ने सपना धेरै नेपालीको छ । आफ्ना सन्तानलाई अमेरिका, युके वा अस्ट्रेलिया पठाउने तीव्र होडबाजी र चाहना धेरै नेपाली अभिभावकमा देखिन्छ । लहै लहै र देखासिकीमा जाने वा पठाइएका कतिपय युवा अस्ट्रेलियामा भौँतारिएका वा कुलतमा फसेका पनि छन् । प्लस टु सकिएलगत्तै गएका कतिपय विद्यार्थीले यस्तै पीडा बेहोर्नुपरेका अनगन्ती घटना छन् । यस सन्दर्भमा विगत लामो समयदेखि तास्मानियाको होबर्टमा बस्नुहुने नेपाली समुदाय अन्तर्गतको एउटा संस्थाका अध्यक्ष सिर्जना ताम्राकारको अनुभव नमिठो छ । उहाँ भन्नुहुन्छ, “बिनाजानकारी वा तयारी आएका कतिपय किशोरकिशोरी ‘डिप्रेसन’ मा जान बाध्य छन् किनभने यहाँको समाज र प्रवृत्तिसँग मिल्न नसक्दा पीडित हुनुपरेको छ । त्यसैले अस्ट्रेलियन समाज र यहाँको तौरतरिका बुझेर आए मात्रै प्रतिस्पर्धामा खरो उत्रन सकिन्छ । अस्ट्रेलियाका लागि नेपाली राजदूत यादव पनि यसमा सहमत हुनुहुन्छ । दक्षताको अभाव वा सामाजिक प्रवृत्तिमा नभिजेका कतिपय नेपाली युवाले दुःख पाएका छन् । यस्ता घटना दूतावासमा पनि रिपोर्ट हुने गर्छ । यस्तोमा दूतावासले सक्दो सहयोग गर्ने गरेको उहाँ बताउनुहुन्छ । अर्कातिर सुरुमा धेरैको आँखा ठुला सहर सिड्नी मेलबर्नतिर पर्छ तर त्यहाँबाट स्थायी बसोबास (पिआर) को अनुमति पाउन सहज हुँदैन । अनि बाध्य भएर फेरि गाउँतिर जानेको लर्काे लाग्ने गर्छ । त्यसमध्येका एक हुन्, सुजन लामिछाने । उहाँ चार वर्ष सिड्नी बस्नुभयो तर त्यहाँबाट पिआर पाउन सहज भएन । अनि अहिले तास्मानिया पुग्नुभएको छ । अस्ट्रेलियामा पिआर पाउन गाउँ जाने लहर नै चलेको छ ।
नेपाली पत्रकारको गुनासो
अस्ट्रेलियामा रहेर पत्रकारिता गर्ने धेरै पत्रकार नेपाली मूलधारमा लामो समय बिताएका नै छन् । नेपालमा रहँदा पत्रकारिता पेसामै संलग्न तर कारणवश अस्ट्रेलिया पुगेका पत्रकारको दोहोरो जिम्मेवारी छ । जीवन धान्न काम गर्दै पत्रकारितालाई ‘साइड बिजनेस’ गर्नु उनीहरूको बाध्यता हो । लामो समय पत्रकारितामा नै रमाएकाले अरू पेसामा रहे पनि समय मिलाएर लेखनमा सक्रिय नेपाल–अस्ट्रेलिया पत्रकार सङ्घ (एन्जा) का संस्थापक अध्यक्ष हेमन्त काफ्ले भन्नुहुन्छ, “नेपाली समाजप्रतिको दायित्व निर्वाह गर्ने हुटहुटीले मात्रै यो पेसालाई निरन्तरता दिइरहेका धेरै छौँ ।” यस्तै अर्का पत्रकार हुनुहुन्छ, डा. डिल्ली ढकाल । लामो समयदेखि अस्ट्रेलियामा रियल स्टेट बिजनेसमा रहनुभएका ढकालको लेखनप्रतिको रुचि खुम्चिएको छैन । त्यसैले बेला बेला पत्रकारितामार्फत नेपाल र अस्ट्रेलियन समाजको चिरफार गर्न उहाँ हौसने गर्नुहुन्छ । ढकाल पनि काफ्ले जस्तै यही पेसा अपनाएर जीवन धान्न गाह्रो रहेको स्विकार्नुहुन्छ । हाल एन्जाका अध्यक्ष रहेका कृष्ण तिवारी पनि सकेसम्म पत्रकारितालाई निरन्तरता दिने अभियानमा आफूहरू रहेको बताउनुहुन्छ । “समस्या छन् तर त्यसलाई पन्छाउँदै भए पनि पत्रकारितालाई जीवन्त राख्न दृढ छौँ,” अध्यक्ष तिवारीले भन्नुभयो ।
सरकारी प्रयास जरुरी
अस्ट्रेलिया जस्तो विकसित राष्ट्रमा पढ्न र रोजगारीको अवसरका लागि धेरैको रुचि छ । अध्ययनका लागि नेपालीलाई केही सहज पनि छ विगतभन्दा तर औपचारिक रूपमै रोजगारीको कुनै सम्झौता भने सरकारी तहमा हुन सकेको छैन । यद्यपि अरू देशका दक्ष र अर्धदक्ष कामदार यहाँ जाने गरेका छन् । नेपालीले पनि यस्तो अवसर पाए राष्ट्रिय अर्थतन्त्रमा समेत ठुलो टेवा पुग्ने विश्वास छ तर त्यसका लागि नेपाल सरकारले बलियो पहल गर्नु आवश्यक छ । यस सम्बन्धमा राजदूत यादव भन्नुहुन्छ, “यसमा अस्ट्रेलियन सरकारसँग कुरा अघि बढेको छ तर ठोस प्रगति चाहिँ हुन सकिरहेको छैन । यस्तै नेपाली ध्वजावाहक नेपाल वायुसेवा निगमको सिधा उडान यहाँ हुन सकेको छैन ।”
जबकि लाखौँ नेपालीको बसोबास रहेको यहाँ प्रौढलाई आउजाउ गर्न पनि अन्य एयरलाइन्स सहज छैन । त्यसैले निगमको उडान राख्न पहल भइरहेको पनि उहाँले बताउनुभयो । यसले धेरै अस्ट्रेलियन पर्यटकलाई नेपाल घुम्न जान सहज हुने राजदूत यादवको बुझाइ छ । साथै क्यानबेरामा अहिले पनि नेपाली दूतावास भाडामा बसेको छ । जबकि आफ्नै जग्गा छ, तर त्यसको संरक्षण भने हुन सकिरहेको छैन । यसबारे पनि आफूले अब पहल थाल्ने यादव बताउनुहुन्छ ।