• १० मंसिर २०८१, सोमबार

द्विशताब्दीतिरको यात्रा

blog

गोरखापत्र द्विशताब्दीको यात्रातर्फ अग्रसर छ । आजबाट १२४ वर्षे यात्रामा प्रवेश गरेको छ । शताब्दी पार गरी दोस्रो शताब्दीतिर लम्किने दक्षिण एसियाली मुलुकका थोरै अखबारमध्ये गोरखापत्र पनि एक हो । आधुनिक नेपालको साङ्गोपाङ्गो स्वरूप र चित्र गोरखापत्रले झल्काएको छ । नेपालको जेठो पत्रिका गोरखापत्र त्यसको जीवन्त साक्षी हो । यसले देशका सबैखाले उतारचढावको अनुभूति गरेको छ । जहानियाँ राणा शासनकालमा स्थापना भएको गोरखापत्र आजको लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रामा सदैव अग्रणी भूमिकामा स्थापित छ । छापा पत्रकारिताको भविष्यमाथि अनेकन प्रश्न उठ्दा पनि गोरखापत्रले यसको आवश्यकता र अपरिहार्यतालाई सुदृढ तुल्याउने जिम्मेवारी वहन गरेको छ । सूचना प्रविधिले फड्को मारेको आजको जमानामा समेत गोरखापत्रले आफ्नो ऐतिहासिक विरासत जोगाउँदै नेतृत्वदायी भूमिकालाई अझै सशक्त र प्रभावकारी बनाउनु पर्ने बाध्यता झेलिरहेको छ । 

गोरखापत्र नेपाली पाठकबिच केवल अखबारका रूपमा मात्रै स्थापित छैन, अपितु यसले अनेकन आयामको पर्याय बन्नु परेको छ । राज्य संयन्त्रको भरपर्दो सूचनाका साथै सिङ्गो मुलुकलाई जोड्ने कडीका रूपमा पनि गोरखापत्रले अतुलनीय भूमिका निर्वाह गरिरहेको छ । पत्रकारिताको सैद्धान्तिक पक्षलाई आत्मसात् गर्दै व्यावहारिक रूपमा कैयौ भूमिका निर्वाह गरिहेको छ । मुलुकमा बोलिने सबै भाषाको संरक्षण र संवर्धनलाई समेत गोरखापत्रले आफ्नो दायित्व ठानेको छ । नयाँ नेपाल शीर्षक अन्तर्गत विभिन्न ४३ भाषामा समाचार एवं समाचारमूलक सामग्री प्रकाशनको अभिभारा गोरखापत्रको काँधमा आइपरेको छ । राज्य सञ्चालित सञ्चारमाध्यम भएकाले पनि गोरखापत्रले यसलाई आफ्नो जिम्मेवारी ठानेको हो । निजी क्षेत्रबाट सञ्चालित मिडियाले यो जिम्मेवारी निर्वाह गर्दैन, किनभने यसमा आर्थिक वा राजनीतिक लाभ छैन । त्यसैले त नेपाल जस्तो मुलुकमा राज्यसंयन्त्रले सञ्चारमाध्यम चलाउनु परेको हो । कतिपय विद्वान्ले लोकतन्त्रमा छापा माध्यम सरकारको संरक्षणमा चल्न नहुने बहस गर्छन् । निजी क्षेत्रलाई मात्रै सबै जिम्मा छाड्नुपर्ने तर्क झट्ट सुन्दा साह्रै मोहक र आकर्षक लाग्छ तर यथार्थतिर घोत्लिने हो भने निजी क्षेत्रबाट सञ्चालित छापा माध्यमले कहिल्यै मुनाफा वा स्वार्थमुक्त रहेर समाचार सम्प्रेषण गरेको अनुभव गरिएको छैन । देशका विभिन्न जातजाति वा भाषाभाषीको संरक्षण गर्ने काम निजी क्षेत्रको प्राथमिकतामा परेको देखिएन । त्यसैले पनि सरकारले सञ्चार माध्यम चलाउनु अपरिहार्य छ, कम्तीमा नेपाल जस्तो मुलुकमा । कतिपयले भन्ने गरेका छन्– गोरखापत्रले बहुभाषा प्रकाशन गरेबापत सरकारले अनुदान दिने गरेको छ । कुरा ठिकै हो । सरकारले वर्षभरि छापेबापत साढे चार करोड रुपियाँ गोरखापत्रलाई दिन्छ तर त्यही स्पेस विज्ञापनका लागि प्रयोग गर्ने हो भने गोरखापत्रले झन्डै १७ करोड रुपियाँ आर्जन गर्न सक्छ । आयआर्जन मात्रै गोरखापत्रको उद्देश्य र दायित्व होइन । व्यावसायिकताको सम्मान गर्दै सामाजिक सद्भाव र एकता कायम गर्ने मूल दायित्व हो । यो क्रम निरन्तर जारी छ । २०६४ सालबाट थालिएको यो अभियानले राष्ट्रिय एकतालाई थप मजबुत बनाएको छ । 

गोरखापत्रको दायित्व समय क्रममा फेरिएको छ । राणाकालमा शिक्षा र चेतना फैलाउन यसले महìवपूर्ण भूमिका खेल्यो भने २००७ पछिको एक दशक पत्रकारिताको वैभव फराकिलो पार्न अग्रगामी रह्यो । त्यसै गरी २०१७ सालपछि यसले निरङ्कुश शासकलाई कसरी सघाउने भन्ने अभ्यास ग¥यो । निजी क्षेत्रले मिसन जर्नालिज्मको अभियानलाई बल प्रदान गर्दा गोरखापत्रले त्यसविरुद्ध पञ्चायतको पक्षमा वकालती पत्रकारिता ग¥यो । यस अवधिमा गोरखापत्रको अत्यधिक दुरुपयोग भएको पाइन्छ । २०४७ सालको परिवर्तनले गोरखापत्रलाई नयाँ युगमा प्रवेश गरायो । निजी क्षेत्रलाई समेत लगानीको वातावरण बनाइयो । सरकारले नीतिगत सुधार गरेर निजी क्षेत्रको अर्बौं रुपियाँ लगानी गर्ने वातावरण तयार गरायो । साथै, व्यावसायिक पत्रकारिता संस्थागत हुन थाल्यो तर निजी क्षेत्रले राज्यप्रतिको दायित्व निर्वाहमा कम निजी आकाङ्क्षा परिपूर्तितिर बढी ध्यान दिएको पाइयो । यस अवधिमा पनि गोरखापत्रलाई दुरुपयोगको प्रयास नगरिएको होइन, शासन सत्तामा रहनेहरूले अनुकूलताको फाइदा लिने प्रयास गरेकै हो । प्रतिस्पर्धामा आफैँ खरो उत्रन सक्षम भएपछि भने गोरखापत्रलाई हेर्ने दृष्टिकोण फेरिएको छ । यस अवधिको निष्पक्ष मूल्याकङ्न गर्ने हो भने कतिपय बेला सत्ताधारीलाई नै बिझाउने समाचार गोरखापत्रले प्रकाशन गरेको घटना प्रशस्त छन् । 

भनिन्छ भने गोरखापत्रले सरकारको चाकडी मात्रै गर्छ, त्यो भाष्य हामीले तोडेका छौँ । जनता र सरकारको सेतुका रूपमा गोरखापत्र प्रभावकारी बनेको छ । साथै, यहाँ काम गर्ने पत्रकारले जति प्रेस र अभिव्यक्ति स्वतन्त्रताको उपभोग निजी क्षेत्रमा काम गर्ने पत्रकारले पाएका छैनन् । लगानीकर्ताको इच्छा र चाहनाविपरीत कुनै समाचार कुनै पत्रकारले लेख्न वा छाप्न सक्दैन निजी मिडियामा । बरु सरकारी सञ्चारमा काम गर्ने पत्रकारले राज्य धर्म निर्वाह गर्दा नागरिक र सरकारलाई केन्द्रमा राखेर काम गर्ने छुट पाउने गरेका छन् । 

यति हुँदाहुँदै पनि छापा माध्यमको प्रभावकारिता खस्कँदो छ । नेपालमा मात्र नभई विश्वभरि नै छापा माध्यमको उपस्थिति फितलो देखिएको छ । इन्टरनेटको तीव्र विकासले पत्रकारिताको आयाम र परिभाषा नै बदलिएको छ । अझ सामाजिक सञ्जालले आममानिसलाई सूचना दिने नाममा अन्योलग्रस्त बनाइरहेको छ । नागरिक पत्रकारिताका नाममा जथाभावी सूचना सम्प्रेषण हुने गरेका छन् । मिडिया आउट लेट्सको सङ्ख्यामा बढोत्तरी भएको छ । सँगसँगै फेक न्युजले नागरिकलाई दिग्भ्रमित पारिरहेको छ । एउटै घटनालाई अनेक रूपमा सम्प्रेषण गर्ने प्रवृत्तिले विकृत तुल्याएको छ । यस्तो दुस्कर प्रवृत्तिलाई चिर्ने सामथ्र्य गोरखात्रले राख्नुपर्ने दायित्व थपिएको छ । 

अहिले छापा माध्यम धेरैको प्राथमिकतामा पर्दैनन् । खास गरी कोरोना महामारीपछिको आर्थिक सङ्कटले धेरै छापा बन्द नै भइसकेको अवस्था छ । केही चले पनि घिटीघिटी मात्रै । त्यसको मूल कारण नै इन्टरनेटमा आधारित सूचना सम्प्रेषण हो । आज दिनभरिका घटना भोलि छापामाध्यममा पढ्ने रुचि र आवश्यकता कसैलाई रहँदैन । किनभने अघिल्लै दिन तत्क्षण पाठकले सूचना पाइसकेको हुन्छ अनलाइनमार्फत । पत्रकारितामा समाचार बन्न छ ‘क’ को उत्तर आउनुपर्ने सिद्धान्त छ । परम्परागत सिद्धान्तले छ क को उत्तर नदिएसम्म समाचार नबन्ने मान्यता स्थापित गरेको छ तर भोलिपल्ट त्यही छ क को उत्तर खोज्न कसैले अखबार पढ्दैन अब । पाठकलाई भोलिपल्ट अखबार पढाउनका लागि थप दुई ‘क’ को उत्तर दिन सक्नु पर्छ । कज र कन्सिक्वेन्सी, अर्थात् कारण र प्रभाव । घटनाको कारण र त्यसले पार्ने प्रभावको विश्लेषणसहितको समाचार मात्र भोलिपल्ट पठनीय हुन्छ । त्यसैले अब छापा माध्यमले आठ क को उत्तर दिन सक्नु पर्छ । अनि मात्रै पाठक आकर्षित गर्न सकिएला । त्यसका लागि छापा माध्यममा काम गर्ने पत्रकारले अझै मेहनत गर्नुपर्ने बाध्यता आइपरेको छ । 

साथै, विशिष्ठिकृत सामग्री उत्पादन पनि अखबारको जीवन धान्ने अर्काे उपाय हो । पठन संस्कृति, पाठ्य सामग्री, माध्यमको जटिलता र विज्ञापन बजारको सङ्कुचनले छापा पत्रकारिता चाउरिएको छ । उत्पादन नै महँगो भयो, वित्तीय भार थेग्नै मुस्किल छ । कुनै जमाना थियो, पत्रकार र पाठक निजी क्षेत्रका अखबारप्रति आकर्षित हुन्थे । समयक्रममा त्यो सोच बदलिएको छ । आज गोरखापत्र मात्रै छापा माध्यममा सबैभन्दा विश्वसनीय र भरपर्दाे माध्यमका रूपमा दरिएको छ । किनभने आधिकारिता र विश्वसनीयता नै गोरखापत्रको पुँजी हो । अन्यत्र जेसुकै छापिए पनि गोरखापत्रले नछापेसम्म त्यसले आधिकारिकता र विश्वसनीयता पाउन सकेन । त्यो शक्ति र सामथ्र्य गोरखापत्रका पत्रकारले नै आर्जन गरेको सम्पत्ति हो । राज्य संयन्त्रको अङ्गका रूपमा रहेको गोरखापत्रले यसलाई आफ्नो कार्यभार मानेकाले यस्तो अवस्था निर्माण भएको हो । त्यसैले अबको चुनौतीलाई बेलैमा पहिल्याएर गोरखापत्रले आफ्नो यात्रा सुनिश्चित गर्नु जरुरी छ ।