• २० चैत २०८२, शुक्रबार

सर्लाहीमा परीक्षा केन्द्रमै एसइईको उत्तरपुस्तिका परीक्षण

blog

परीक्षा केन्द्रमा उत्तरपुस्तिका परीक्षण गरिरहनुभएका शिक्षक । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री
सर्लाही, चैत २० गते ।
सर्लाहीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) को उत्तरपुस्तिका परीक्षा केन्द्रहरुमै परीक्षण गर्न सुरु गरिएको छ ।

सरकारले यो वर्षदेखि एक महिनाभित्रै एसइईको नतिजा प्रकाशन गर्ने निर्णय गरे बमोजिम परीक्षा सकिए लगत्तै उत्तरपुस्तिका परीक्षण कार्य सुरु गरिएको हो । शिक्षा विकास तथा समन्वय इकाई मलङ्गवाका सूचना अधिकारी सुनिलकुमार कुशवाहाले जिल्लाको ३५ वटै परीक्षा केन्द्रमा परीक्षा सम्पन्न हुनासाथ कापी जाँच्ने काम बिहीबारदेखि नै सुरु गरिएको जानकारी दिनुभयो ।

प्रहरीको सुरक्षामा परीक्षा केन्द्र रहेको पालिकाका विषयगत माध्यमिक तहमा अध्ययन गराउने शिक्षकहरुले उत्तरपुस्तिका परीक्षण गर्ने काम गरिरहेका सूचना अधिकारी कुशवाहाले बताउनुभयो । उहाँका अनुसार एसइईअन्तर्गत बिहीबार पहिलो दिन सर्लाहीमा ८०२ जना परीक्षार्थी अनुपस्थित भएका छन् ।

फारम भरेकामध्ये ४५८ जना छात्रा र ३४४ जना छात्र पहिलो दिनको अनिवार्य अङ्ग्रेजी विषयको परीक्षामा सामेल नभएका शिक्षा विकास तथा समन्वय इकाई मलङ्गवाले जनाएको छ । सर्लाहीमा बिहीबार पाँच हजार ३७१ छात्रा र पाँच हजार १९८ छात्र गरी जम्मा १० हजार ५६९ जना परीक्षार्थी परीक्षामा सामेल भएका छन् ।  

एसइईअन्तर्गत परीक्षार्थीले शुक्रबार दोस्रो दिन अनिवार्य नेपाली विषयको परीक्षा दिएका छन् । जिल्लाभर शान्तपूर्वक रुपमा परीक्षा अघि बढेको प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले बताउनुभयो ।