• १० कात्तिक २०८२, सोमबार

ट्रम्पको घोषणा : सन् २०२८ पछि पनि उपराष्ट्रपति पदको प्रतिस्पर्धा गर्दिन

blog

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ।

एयर फोर्स वन, कात्तिक १० गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार सन् २०२८ को अमेरिकी राष्ट्रपति चुनावमा उपराष्ट्रपति पदका लागि उम्मेदवार बन्ने इरादा नराख्ने स्पष्टरूपमा घोषणा गर्नु भएको छ । 

यो घोषणा उहाँका केही समर्थकले कार्यकाल सीमा हटाई ट्रम्पलाई निरन्तर शासन गर्न दिनुपर्ने सुझाव दिइरहेका बेला आएको हो । अमेरिकी संविधानले राष्ट्रपतिलाई अधिकतम दुई कार्यकालमा सीमित गरेको छ । राष्ट्रपति ट्रम्पले यस वर्ष जनवरीमा आफ्नो दोस्रो कार्यकाल सुरु गर्नु भएको हो । 

तथापि, उहाँका केही कानुनी सल्लाहकार र कट्टर समर्थकले संवैधानिक सीमालाई बाइपास गर्ने उपायस्वरूप ट्रम्पले सन् २०२८ मा उपराष्ट्रपति पदका लागि उम्मेदवारी दिन सक्ने र पछि शीर्ष पदमा पुनः फर्कन सक्ने सुझाव दिएका थिए । तर एयर फोर्स वनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले ती अड्कलबाजी अस्वीकार गर्दै भन्नुभयो, “मलाई थाहा छ, कानुनीरूपमा म त्यसो गर्न सक्ने थिएँ, तर म त्यसो गर्दिन । मलाई यो अहिलेको जस्तै सुन्दर र सही लाग्छ ।”

सन् २०१७ देखि २०२१ सम्म पहिलो कार्यकाल पूरा गरिसकेका ट्रम्पले प्रायः आफ्ना समर्थकले संवैधानिक सीमाको बाबजुद उहाँलाई निरन्तर शासन गर्न आह्वान गरिरहेको विषयमा खुलेर बोल्दै आएका छन् । हालै उहाँले ओभल अफिसको कार्य टेबलमा ‘ट्रम्प २०२८’ लेखिएको रातो टोपी पनि प्रदर्शित गर्नु भएको थियो, जसले पुनः सत्ता वापसीको अड्कलबाजीलाई थप बल दिएको थियो ।

यसबिच, उहाँका समर्थकबिच फैलिएको एउटा लोकप्रिय धारणा अनुसार हालका उपराष्ट्रपति जेडी भान्सले सन् २०२८ मा राष्ट्रपति पदका लागि उम्मेदवारी दिन सक्नु हुने छ । यदि उहाँले जित्नुभयो भने, केही समर्थकले उहाँले छिट्टै राजीनामा दिने र ट्रम्पलाई पुनः ह्वाइट हाउसमा फर्काउने योजना रहेको दाबी गरेका छन् ।

राष्ट्रपति ट्रम्पको पछिल्लो टिप्पणी उहाँका पूर्व सल्लाहकार तथा ‘मेक अमेरिका ग्रेट अगेन’ आन्दोलनका प्रमुख विचारक स्टिभ बेननले गरेको अभिव्यक्तिपछि आएको हो । बेननले हालै द इकोनोमिस्टसँगको अन्तर्वार्तामा भन्नुभएको थियो, “ट्रम्पले तेस्रो कार्यकालका लागि तयारी गरिरहनुभएको छ । सन् २०२८ मा उहाँ फेरि राष्ट्रपति हुनु हुने छ र मानिसले त्यसको लागि तयार रहनुपर्छ ।”

संविधानको २२ औँ संशोधनले राष्ट्रपतिका लागि दुई कार्यकालको सीमा तोकेको प्रसङ्ग उठाउँदा बेननले उत्तर दिनुभएको थियो, “त्यहाँ धेरै फरक विकल्प छन् । उचित समयमा हामी हाम्रो योजनाबारे स्पष्ट रूपमा बताउनेछौँ ।”रासस/एएफपी