• १४ वैशाख २०८२, आइतबार

जनताको जीवन उकास्न सहकारी सारथी बन्नुपर्छ : प्रमुख देवकोटा

blog

बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटा कार्यक्रममा सम्बोधन गर्नुहुँदै ।

गोरखापत्र अनलाइन

काठमाडौं, वैशाख १३ गते । बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले सहकारी बैंक आमजनताको जीवन उकास्ने सारथी बन्न सक्नुपर्ने बताउनुभएको छ । नवजीवन सहकारी संस्था लिमिटेड धनगढीद्वारा आयोजित सहकारीका मर्म र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको हो । 

नयाँ संविधानले सरकारी, सहकारी र निजी क्षेत्रलाई अर्थतन्त्रको तीन खम्बाको रुपमा परिभाषित गरेकाले सहकारी संस्था सञ्चालकहरु जिम्मेवार बन्नुपर्ने उहाँले सुझाव दिनुभयो । केही सहकारीमा भएको अपचलनका कारण सबै सहकारीमा आछेप लाग्नु गलत भएको चर्चा गर्नुहुँदै उहाँले सहकारीले समस्या समाधान गरी सही सन्देश दिन सक्नुपर्ने सुझाव दिनुभयो । 

आपसी सहकार्यकै लागि सहकारीको अवधारणा आएको चर्चा गर्नुहुँदै प्रमुख देवकोटाले शेयर सदस्यहरुको उत्थानमै सहकारी केन्द्रित हुन सक्नुपर्ने बताउनुभयो । सहकारी जनताविचको एकताको अनुपम उदाहरण भएको पनि उहाँले बताउनुभयो । नवजीवन सहकारी संस्था निकै प्रयास र मेहनतले राम्रो सफलता हासिल गर्न सकेको चर्चा गर्नुहुँदै प्रमुख देवकोटाले सहकारीको मूल्य, मान्यता र सिद्धान्तलाई शिरमा राखेर काम गर्न सञ्चालक तथा शेयर सदस्यहरुलाई सुझाव दिनुभयो । 


नवजीवन सहकारी संस्था लिमिटेडका अध्यक्ष देवबहादुर बमले आम शेयर सदस्य तथा जनताको भलाइका लागि सहकारी लागिपरेको बताउनुभयो । २०४८ सालमा १४ जनाले संयुक्त प्रयासबाट सुरु गरेको सहकारीमा अहिले ३३ हजार शेयर सदस्य रहेको जानकारी दिनुभयो । 

सो अवसरमा सहकारी महासंघका पूर्व अध्यक्ष तथा नेता केशव बडाल, नवजीवन सहकारीका पूर्व अध्यक्षहरु सरोज पोखरेल, मीनराज कँडेल लगायतले धारणा राख्नुभएको थियो ।