• ६ असार २०८२, शुक्रबार

बजेटमा कृषिलाई उपेक्षा भयोः सांसदहरु

blog

काठमाडौँ, असार ५ गते । नेपाल कम्युनिष्ट पार्टी [एमाले]का सांसद किरणकुमार शाहले बजेटले कृषिलाई उपेक्षा गरेको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ को मन्त्रालयगत शीर्षकको खर्च कटौती प्रस्तावमाथि दलीय आधारमा सांसद शाहले कृषि अनुदान वृद्धि गरी कृषि उत्पादन प्रवद्र्धनमा बजेटले ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो । 

उहाँले हरित पूर्वाधार, हरित ऊर्जा, युवालक्षित कार्यक्रम, वन संरक्षणलाई ध्यान दिन माग गर्नुभयो । साथै उहाँले किसानका लागि अनुदान, कृषिको आधुनिकीकरण, पशुपालनको व्यवसायीकरण तथा पशुपक्षीको उपचार वडास्तरमा व्यवस्था सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेपाली कांग्रेसका सांसद नागिना यादवले कानुन मन्त्रालयको बजेट अत्यन्तै कम भएको र यसले कानुन निर्माण र सुशासन प्रवद्र्धनमा असर पुग्ने धारणा राख्नुभयो । उहाँले सङ्घीयताको कार्यान्वयन, विधिको शासन र सुशासन प्रवद्र्धन गर्न पर्याप्त बजेट जरुरी भएको उल्लेख गर्नुभयो ।

जनमत पार्टीका सांसद अब्दुल खाँनले बजेटले कृषि र किसानलाई नसमेटेको जिकिर गर्नुभयो । उहाँले कृषि क्षेत्रको विकास, किसानलाई समयमा मलखादको व्यवस्था गर्न जरुरी भएको उल्लेख गर्नुभयो । उहाँले किसान कार्ड, चक्लाबन्दी, सिँचाइको व्यवस्था गरी कृषि उत्पादन प्रवद्र्धनमा ध्यान दिन आग्रह गर्नुभयो ।

शोक प्रस्ताव पारित

 प्रतिनिधिसभाको आजको बैठकले पूर्वमन्त्री समाजवादी चिन्तक ढुण्डीराज शास्त्रीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले प्रस्तुत गर्नुभएको शोक प्रस्तावलाई बैठकको सर्वसम्मतिले पारित गरेको हो । 

बैठकले स्व शास्त्रीको निधनप्रति शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुका साथै परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । प्रतिनिधिसभाका सदस्यले शोक प्रकट गर्दै एक मिनेट मौनधारण गर्नुभएको थियो ।

विसं १९९३ मा अर्घाखाँची जिल्लामा जन्मनुभएका प्रतिनिधिसभाका पूर्वसदस्य एवं पूर्वउद्योगमन्त्री शास्त्रीको यही असार २ गते निधन भएको थियो । नेपाली कांग्रेसकातर्फबाट २०४८ र ०५१ सालको आमनिर्वाचनमा अर्घाखाँची क्षेत्र नं २ बाट दुवै पटक उहाँ निर्वाचित हुनुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही असार ६ गते बिहान ११ बजे बस्नेछ ।