तिलाचन पाण्डे
तम्घास(गुल्मी), साउन १४ गते । गुल्मी अस्पतालको सुविधा सम्पन्न भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । हालसम्म भवन निर्माणको भौतिक प्रगति ९० प्रतिशतभन्दा बढी भएको छ भने वित्तीय प्रगति ८५ प्रतिशत भएको निर्माण व्यवसायीका सव इन्जिनियर अरविन्द्र चौधरीले बताउनुभयो ।
भवनको अहिले पेन्टिङ, वायरिङ, आल्मुनियम लगाउनेलगायतका काम भइरहेका छन् । पहिले असार मसान्तसम्म काम सम्पन्न गर्ने लक्ष्य भए पनि दसैसम्म सबै काम सम्पन्न गरेर हस्तान्तरण गर्ने उहाँले बताउनुभयो । चिसो मौसम, पानी परिरहने, सुरुमा कोभिड लहर, निर्वाचनको समयमा डन्डीको उच्च मूल्य वृद्धि, गिटी बालुवाको अभाव र सामान ढुवानीमा समस्या भएका कारण समयमै काम सम्पन्न गर्न नसकिएको उहाँको भनाइ छ । विसं. २०७८ असार १८ गते सम्झौता भई काम सुरु भएको गुल्मी अस्पताल भवनको २०८० असार १७ गतेसम्म सम्पन्न गर्ने गरी साढे पाँच तलाको भवन २५ करोड ९५ लाख ६४ हजार २०३ रुपियाँको लागतमा स्वच्छन्द–बानिया जे.भी हेटौडा मकवानपुरले निर्माणको जिम्मा पाएको थियो ।
गुल्मी अस्पतालमा रहेका भवनहरु साना र सेवाग्रहीमैत्री नहुँदा समस्या हुँदै आएको छ । निर्माण ब्यवसायीको ढिलासुस्तीहुँदा पनि यहाँका सरोकारवाला निकाय मौन रहनु जिल्लाका लागि सुखद पक्ष नभएको सेवाग्राहीले बताउँदै आएका छन् । भवनलाई जतिसक्यो छिटो सम्पन्न गर्न नियमित खबदारी गर्दै आएको गुल्मी अस्पताल विकास समितिका अध्यक्ष गोपालप्रसाद पाण्डेले बताउनुभयो ।
गुल्मी अस्पतालको भवन छिटो सम्पन्न गर्नका लागि निर्माण व्यवसायीलाई सरोकारवाहरुले आग्रह गर्दै आएको बताए पनि परिणम भने देखिन सकेको छैन ।
केही महिना पहिले गुल्मी क्षेत्र नम्वर दुईका प्रतिनिधि सभा सदस्य गोकर्णराज विष्टले निर्माणधिन अस्पतालको निरीक्षण गर्दै जतिसक्दो छिटो निर्माणकार्य सम्पन्न गर्न आग्रह गर्नुभएको थियो ।
गुल्मी अस्पताल तम्घास २०७१ सालमा ५० वेडमा स्तरवृद्धि भएको थियो, तर भौतिक संरचनाको अभावमा पूर्ण रुपमा कार्यान्वयनमा आउन सकेको छैन । भौतिक संरचनाको अभावका कारण सानो र साँघुरो भवनबाट सेवा प्रवाह गर्न समस्या भएको गुल्मी अस्पतालले जनाएको छ ।