• १५ साउन २०८२, बिहिबार

खानेपानीको मुहान क्षेत्र वरपर पौडी खेल्न निषेध

blog

खानेपानी मुहान क्षेत्र वरपर फोहोरजन्य वस्तु

नवलपरासी समाचारदाता

देवचुली, साउन १४ गते । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको दुई खानेपानीको मुहान क्षेत्र वरपर पौडी खेल्न निषेध गरिएको छ । खानेपानीको मुहानमा पौडी खेल्न जानेले त्यसको आसपासमा फोहोर गर्दा दुर्गन्ध फैलिन थालेपछि खोलामा पौडी खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको प्रगतिनगर खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष डिल्लीराम कडरियाले बताउनुभयो । 

देवचुली नगरपालिका–६ मा अवस्थित टोक्रे खोला पुलनजिक रहेका दुई वटा खोलामा पौडी खेल्ने सङ्ख्या बढ्दै गएपछि खानेपानी स्रोतको संरक्षण र सरसफाइलाई प्राथमिकता दिँदै मुहान क्षेत्र र वरपर फोहोर गर्ने, फोहोरजन्य वस्तु फाल्ने तथा पिकनिक वा पौडी खेल्ने जस्ता गतिविधि गर्न कडाइका साथ निषेध गरिएको उहाँले बताउनुभयो । 

देवचुली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको मुहान क्षेत्र रहेको उक्त स्थानमा पछिल्लो समय नवलपुर जिल्लाका विभिन्न स्थानबाट पौडी खेल्न, पिकनिक खान आउनेको सङ्ख्या बढेसँगै मुहान क्षेत्रमा फोहोर बढ्दै गएकाले पौडी खेल्न रोक लगाइएको कडरियाले बताउनुभयो । देवचुली नगरपालिकाको १० वटा वडाका स्थानीयलाई खानेपानी सुविधा दिँदै आएको सो आयोजनाको मुहान दुर्गन्धित बन्दै जान थालेपछि स्थानीय प्रशासनको सहयोगमा कडाइ गर्न थालिएको प्रगतिनगरका स्थानीय बासिन्दा वसन्त पोखरेलले बताउनुभयो । 

देवचुली नगरपालिकाका बासिन्दाको समेत दबाब दिन थालेपछि स्थानीय उपभोक्ता संस्थाले प्रहरीको परिचालन गरी खोलामा दुर्गन्ध हटाउने प्रयास गरेपछि शुद्ध र स्वच्छ खानेपानी उपलब्ध भएको देवचुली नगरपालिका–१३ का वडाध्यक्ष एकदेव पौडेलले बताउनुभयो ।