• १५ साउन २०८२, बिहिबार

शिशुको प्राण रक्षार्थ सात घण्टा : अनमीको मुखबाटै कृत्रिम श्वास

blog

नवजात शिशुको हेरचाह गर्नुहुँदै अनमी जानकी पुजारा (माथि) । आमा लक्ष्मी धामीका साथ नवजात शिशु । तस्बिर : जानकी पुजाराको फेसबुकबाट

गोकर्ण दयाल

बैतडी, साउन १४ गते । स्वास्थ्य केन्द्रमा निसासिएर जन्मिएको नवजात शिशुलाई अनमीले लगातार सात घण्टासम्म मुखले कृत्रिम श्वास दिएर बचाउन सफल हुनुभएको छ । बैतडीको सिगास गाउँपालिका–४, कन्धार आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अनमी जानकी पुजाराले कृत्रिम श्वास दिएर नवजात शिशुको ज्यान बचाउनुभएको हो । 

गत बिहीबार स्वास्थ्य केन्द्रमा प्रसूति व्यथा लागेर आएकी सोही वडाकी २० वर्षीय लक्ष्मी धामीले राति ९ बजेर ३३ मिनेटमा निसासिएको अवस्थामा शिशु जन्माउनुभएको थियो । शिशुले श्वास फेर्न नसकेपछि राति साढे ९ बजेदेखि बिहान ४ बजेसम्म कृत्रिम श्वास दिएर शिशुको ज्यान जोगाउन सफल भएको अनमी पुजाराले बताउनुभयो । उहाँले भन्नुभयो, “आधारभूत स्वास्थ्य केन्द्रमा कृत्रिम श्वास दिन एउटा एम्बुबेगबाहेक कुनै उपकरण थिएन । यो पनि नमिल्ने भएपछि मुखले नै शिशुलाई कृत्रिम श्वास दिएर बचाउन सफल भएँ । सुविधा भएको अस्पताल लैजान गाउँमा बाटोघाटो र यातायातको सुविधा छैन । स्वास्थ्य केन्द्रमा पर्याप्त उपकरण पनि छैनन् ।” 

अहिले नवजात शिशु र सुत्केरीको स्वास्थ्य अवस्था सामान्य छ । स्वास्थ्य केन्द्रबाट घर फर्किनुभएकी सुत्केरीलाई नियमित जाँच गर्न घरमै पुगेर सेवा दिइरहेको अनमी पुजाराले बताउनुभयो । उहाँले आफूले गरेको कार्यले आमा र बच्चाको स्वास्थ्य अवस्था राम्रो भएकाले चौतर्फी प्रशंसा पाउँदा खुसी लागेको बताउनुभयो । 

अनमी पुजारा स्वास्थ्य केन्द्रमा करारमा कार्यरत रहेको सिगास गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक घनश्याम बोहराले बताउनुभयो । उहाँले अनमी पुजाराको उच्च मूल्याङ्कन भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अनमी पुजाराले निकै ठुलो हिम्मत राखेर शिशुको ज्यान जोगाउनुभयो । उहाँले शिशुको स्वास्थ्य अवस्थाका बारेमा राति नै फोनमार्फत जानकारी गराउनुभएको थियो । रातिको समय भएकाले होलिकोप्टरबाट उद्धार गर्न सम्भव भएन । अन्यत्र पठाउन पनि ८/१० घण्टा हिँडेर मात्र सडकमा पुग्न सकिने अवस्था छ । यस्तो सङ्कटका बेला रातभरि जाग्राम बसेर शिशुको ज्यान बचाउनुभयो । उहाँलाई धन्यवाद छ ।” 

आठ वर्षमा पनि बनेन अस्पताल  

एक पालिका, एक अस्पतालको नारा सार्वजनिक भए पनि सिगास गाउँपालिकामा गएको आठ वर्षसम्म अस्पताल बन्न सकेको छैन । जग्गाको खोजी गरेर भर्खरै अस्पतालको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनाउने काम सुरु भएको स्वास्थ्य शाखा संयोजक घनश्याम बोहराले बताउनुभयो । उहाँले गाउँपालिकामा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा करारका स्वास्थ्यकर्मीबाट सेवा प्रदान गरिरहेको बताउनुभयो । करारका स्वास्थ्यकर्मीले राम्रो काम गरे पनि प्रदेश सरकारले मूल्याङ्कन नगरेको उहाँले बताउनुभयो । 

सिगास गाउँपालिकाका नौ वटै वडामा छ वटा स्वास्थ्यचौकी, चार आधारभूत स्वास्थ्यचौकी, एक सामुदायिक स्वास्थ्य एकाइ र स्वास्थ्य संस्थाबाहेक १० वटा प्रसूति केन्द्र गरेर २१ वटा स्वास्थ्य संस्था रहेका छन् । 

पालिकामा कार्यरत स्वास्थ्यकर्मीमध्ये करारमा ३२ जना स्थायी दरबन्दीमा २१ जना कार्यरत  छन् । करारका स्वास्थ्यकर्मीका लागि प्रदेश र सङ्घ सरकारबाट तलब सुविधा नआउँदा गाउँपालिकाले वार्षिक करिब डेढ करोड रुपियाँ खर्च गरेर स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको बताइएको छ ।