ठाकुरप्रसाद आचार्य
म्याग्दी, साउन १४ गते । बेनीमा परम्परागत रुपमा लाग्दै आएको बर्खेनाच युवाहरुको सक्रियतामा यसवर्ष पनि देखाउन सुरु गरिएको छ । बर्खेनाच बेनीमा नेवार समुदायले करिब दुईसय वर्ष पहिला भित्र्याएका हुन् । पछिल्लो समय बर्खेनाच संरक्षण गर्न युवापुस्ताले सक्रियता देखाएका छन् ।
घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालिका तीजका दिनसम्म विभिन्न नाच देखाइने बर्खे नाचले बजारमा रौनकता दिने गरेको छ । मंकाःखलअन्तर्गत युवाहरूको समूह ल्यामः पुचको नेतृत्वमा बर्खेनाच देखाउने गरिन्छ ।
बर्खेनाचअन्तर्गत मङ्गलबारदेखि लाखे नाच प्रदर्शन सुरु गरिएको मंकाःखलअन्तर्गतको युवारुको समूह ल्यामः पुचका अध्यक्ष जेनेश श्रेष्ठले जानकारी दिनुभयो । यस वर्ष लाखे, घोडा, गोरु, रोपाइँ, नागानागिनी, धानको बाला र जोगीनाच देखाइने ल्यामः पुचका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘नेवारी समुदायको परम्परागत मौलिक कलाको संरक्षण, पुस्तान्तरण र प्रवर्धनका लागि युवाहरुको सक्रियतामा बर्खेनाच प्रदर्शन गर्न लागेको छौं । बर्खेनाचमा युवा कलाकारहरुको सहभागिता रहेको छ ।’’
दुई सय वर्ष पुरानो बर्खेनाचको निरन्तरताका लागि नयाँ कलाकारलाई प्रशिक्षण को पनि व्यवस्था गरेको उहाँले बताउनुभयो । नाचका विभिन्न नाचमा ४० जना कलाकारको आवश्यकता पर्ने उहाँको भनाइ छ ।
लोप हुनलागेको नेवारी समुदायको मौलिक कला सस्कृतिका रुपमा रहेको बर्खेनाचलाई युवाहरुको सक्रियतामा जिवन्त रहेको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘मौलिक कला संस्कृतिका रुपमा रहेको बर्खेनाच प्रदर्शनले बेनीको पर्यटन प्रवर्धनमा समेत टेवा पुगेको छ ।’’
बर्खेनाच यहाँका नेवार समुदायको सांस्कृतिक पहिचानको रूपमा रहे पनि पछिल्लो समय बर्खेनाचको निरन्तरता र संरक्षणका लागि अन्य समुदायका युवाहरुको पनि सहभागिता हुन थालेको ल्यामःपुचका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।