• १३ वैशाख २०८२, शनिबार

इँटा कारखानादेखि लन्डन म्याराथनः बाल उद्धार नेपालसँग अस्माको प्रेरणादायी यात्रा

blog

लन्डन म्याराथनमा सहभागीता जनाउन जाँदै अस्मा । तस्बिर : कविता थापा

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख १३ गते । २२ वर्षीया अस्मा लन्डन म्याराथनमा सहभागीता जनाउन जाँदै हुनुहुन्छ ।  सन् २०१९ मा चाइल्ड रेस्क्यु नेपालले उद्धार गरेकी अस्मा अप्रिल २७ मा हुने लन्डन म्याराथनको पहिलो लहरमा विश्व स्तरका खेलाडीसँगै दौड्ने छिन् । अस्माले धेरै कठिन यात्रासँगै खेलाडीको पहिचान बनाउनुभएको हो । 

उहाँले १० वर्षको उमेरमा आमा गुमाएपछि र घरमा गरिबी, हेला होचोलगायतको सामना गर्दै एघार वर्षको उमेरमा भागेर इँटा कारखानामा काम गर्न पुग्नुभयो । त्यसै गरी बाँच्न मात्र पुग्ने न्युनतम तलबमा गेस्टहाउसमा लामो समय काम गर्नुभयो । जनवरी २०१९ मा चाइल्ड रेस्क्यू नेपालले अस्माको उद्धार गर्यो, त्यसपछि उहाँको पढ्ने र दौडन सक्ने प्रतिभाले फक्रने अवसर पायो ।

उहाँ अहिले एक सय ८० किलोमिटरसम्मको दौड पूरा गरेर धेरै पदकहरू प्राप्त गर्दै एक कुशल ट्रेल धावक बन्न सफल हुनुभएको छ । बाल उद्धार नेपालका कन्ट्री डाइरेक्टर भास्कर कार्कीले “आस्माको रूपान्तरणले हामीले उद्धार गर्ने हरेक बालबालिकामा रहेको अविश्वसनीय क्षमताको उदाहरण दिएको छ । ” कार्कीले इँटा भट्टामा बालश्रम गर्नेदेखि अन्तर्राष्ट्रिय म्याराथनमा प्रतिस्पर्धा गर्नेसम्मको अस्माको यात्राले बाल उद्धार संस्था नै गौरवान्वीत भएको बताउनुभयो ।  

अस्माले भविष्यमा सशस्त्र प्रहरीमा भर्ती हुने इच्छा व्यक्त गर्दै विदेशमा पहिलोपटक दौडमा प्रतिस्पर्धा गर्ने अवसरका लागि आफु निक्कै उत्साहित रहेको बताउनुभयो । उहाँले भन्नुभयो “नयाँ अवसर, नौलो स्थान र विदेशी खेलाडीसँगको प्रतिस्पर्दा, बाल उद्धार नेपालका समर्थकहरूलाई भेट्न पाउँदा म उत्साहित छु, उहाँहरूको सहयोगले मेरो जीवन परिवर्तन गर्यो ।” 

उहाँले मेरो म्याराथन दौड नेपालमा विविध क्षेत्रका बालश्रमिकप्रति समर्पित गर्छु र सबै  बालबालिकाको उद्धार हुन सकोस भन्ने कामना गर्छु , भन्नुभयो । बाल उद्धार नेपालले नेपालमा बालश्रमलगायत जोखिममा परेका बालबालिकालाई उद्धार गरी आवासिय सुविधासहित  शिक्षा, स्वास्थ्य सेवा प्रदान गर्दै बालबालिकामा भएका प्रतिभालाई पहिचान गरी आत्मनिर्भर बन्न सक्ने वातावरण प्रदान गर्दै आएका छन् ।