काठमाडौँ, असार ११ गते । विश्वराज अधिकारीको ‘अनुभूतिका विविध प्रवाहमा’ भाग दुई लोकार्पण भएको छ ।
बुधबार काठमाडौँमा एक कार्यक्रम आयोजना गरी नारी स्रष्टा समाजका अध्यक्ष ममता मृदुलले सम्पादन गर्नुभएको पुस्तक लोकर्पण भएको हो ।
समाजका अध्यक्ष ममता मृदुलले विदेशमा रहेर नेपाली भाषा, कला, साहित्यमा योगदान पुर्याउँदै आउनुभएको साहित्यकार अधिकारीको पुस्तक सम्पादन तथा लोकार्पण गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो । अधिकारीले आफूलाई समेत लेखन क्षेत्रमा प्रोत्साहन गरेको भन्नुहुँदै साहित्य क्षेत्रमा योगदान पुर्याउनुभएको सर्जक तथा साहित्यका कृतिमाथि आगामी दिनमा समीक्षा गर्दै अघि बढ्ने धारणा राख्नुभयो ।
वरिष्ठ साहित्यकार एवम् गोरखापत्रका पूर्व प्रधान सम्पादक श्रीओम श्रेष्ठले लेखक साहित्यका नाममा विभिन्न नाटक मञ्चन भइरहेको अवस्थामा लेखक अधिकारीको सम्मानमा कार्यक्रम आयोजना गरेकोमा नारी स्रष्टा समाजलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
वरिष्ठ नाटककार प्राज्ञ अशेष मल्लले पूर्विय दर्शन हजारौँ वर्ष पूरानो रहेको र यसको अध्ययनले पश्चिमा विश्वस विकासित भएको तर हाम्रो आफ्नै दर्शनको अध्ययन नहुँदा साहित्य पनि गहिराइमा पुग्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो,“बुद्ध जहाँ जन्मे पनि हाम्रो छातीमा जन्मिनुपर्छ ।” आफ्नो दर्शन जोगाउनुपर्नेमा उहाँको जोड थियो ।
लेखक विश्वराज अधिकारीले पूर्वीय दर्शनलाई साहित्यसँगै अध्ययनका विविध पक्षमा अघि बढाउनुपर्ने जोड दिनुभयो । कार्यक्रममा रमेन्द्र कोइराला, शरद प्रधान, राधेश्याम लेकाली, कल्याण पन्थी लगायतका साहित्यकारले मन्तव्य राख्नुभयो ।