काठमाडौँ, साउन १८ गते । नेपाल आदिवासी जनजाति महासङ्घले ३१ औं विश्व आदिवासी दिवस मौलिक सांस्कृतिक झाँकीसहित मनाउने बताएको छ । महासङ्घका अध्यक्ष गेल्जे लामा शेर्पाले अन्तर्राष्ट्रिय आदिवासी दिवस विगत ३१ वर्षदेखि उत्सवका रूपमा मनाउँदै आइरहेको भन्नुहुँदै यो वर्ष विगतको भन्दा पृथक तरिकाले दिवस मनाउने तयारी भएको जानकारी दिनुभयो ।
अध्यक्ष शेर्पाले भन्नुभयो, “३१ औं विश्व आदिवासी दिवस मौलिक तरिकाले मनाउन गइरहेका छौं । यो सरकार समक्ष एकजुट भएर आफ्नो कुरा राख्ने अवसर पनि हो ।” कार्यक्रममा रोल्पा, रुकुमदेखिका मगर, तामाङ, शेर्पालगायत विभिन्न जाति, समुदायको मौलिम सांस्कृतिक झाँकीको प्रदर्शनी हुने उहाँको भनाइ छ ।
यस्तै, महासङ्घका महासचिव दिवस राईले यो वर्ष ‘प्राकृतिक स्रोत, जल, जमिन र जङ्गलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, युएनडिपी र आइएलओ १६९ सम्बन्धी सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर’ भन्ने मूल नाराकासाथ यो दिवस मनाउन लागिएको बताउनुभयो ।
महासचिव राईले भन्नुभयो, “उक्त दिन नेपालका आदिवासी जनजातिहरूका मातृभाषा र लोकभाकामा बनेका गीतहरू, सांस्कृतिक झाँकीहरू, स्थानीय र रैथाने प्रकृतिका आदिवासी जनजातिय कलाकृतिसहितका प्रदर्शनी, विभिन्न जातीय भेषभुषासहित राजधानीको भृकुटीमण्डपदेखि र्याली सुरु भएर विभिन्न स्थानहरू परिक्रमा गरी पुनः प्रदर्शनीमार्गको राष्ट्रिय सभागृहसम्म आदिवासी जनजातिहरूको खुला र भव्य प्रस्तुति हुने छ ।”
उहाँका अनुसार सांस्कृतिक झाँकीको र्याली बिहान ११ बजे भृकुटीमण्डपमा भेला भएर भद्रकाली, सुन्धारा, वीर अस्पताल, रत्नपार्क, पुरानो बसपार्क, प्रदर्शनीमार्ग हुँदै राष्ट्रिय सभा हलमा प्रवेश गरी मूल समारोहमा परिणत हुने छ ।
उहाँले तामाङ भाषा र नेवारी भाषालाई सरकारी कामकाजको भाषाका रूपमा कार्यान्वयन गर्ने तत्कालीन बागमती प्रदेश सरकारको मुख्यमन्त्री शालिकराम जमरकटेल र गण्डकी प्रदेशको सरकारी कामकाजको भाषामा मगर र गुरुङ भाषालाई कार्यान्वयन गर्न पहल गर्नुहुने गण्डकी प्रदेशको वर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ऐतिहासिक उच्च प्रशंसा र मुल्याङ्कन गर्दै ताम्रपत्रद्वारा सम्मान गरिने जानकारी दिनुभयो ।
यसैगरी, आदिवासी जनजातिको मानव अधिकारको सवालमा निरन्तर सङ्घर्ष गरिरहेको मानव अधिकारसम्बन्धी वकिल समूह लाहुर्निप संस्थालाई ताम्रपत्रद्वारा सम्मान गरिने उहाँको भनाइ छ । ३१ औं विश्व आदिवासी दिवस मूल समारोहको उद्घाटन सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले गर्नुहुने कार्यक्रम तय भएको छ ।