• १२ असार २०८२, बिहिबार

‘बाँसको अस्थायी तटबन्ध होइन स्थायी तटबन्ध चाहियो’

blog

राप्ती नदीमा निर्माण भइरहेको बाँसको अस्थायी तटबन्ध । तस्बिर : गोरखापत्र

सिराज खान

नेपालगन्ज, असार ११ गते । वर्षा सुरु भएकै बेला बाँकेको राप्तीसोनारीको खल्ला झगडियामा राप्ती नदीको कटान र डुबानबाट जोगाउन बाँसको अस्थायी तटबन्ध निर्माण कार्य थालनी गरिएको छ । 

तर, सो क्षेत्रका जनप्रतिनिधि र स्थानीय वासिन्दाले अस्थायी तटबन्धले राप्तीको बाढी रोक्न नसक्ने जनाउँदै स्थायी तटबन्ध निर्माणको माग गर्दै बाँसको तटबन्धले समस्या समाधान नगर्ने बताएका छन् । 

दुई वर्ष अघि राप्ती नदीमा आएको बाढीले सो तटबन्ध भत्काएर कटान र डुबान बढाउँदै लगेपनि त्यहाँ पुनः तटबन्ध निर्माण नगरिएको गुनासो गर्दै नरैनापुर गाउँ पालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले अहिले फेरी पनि झारा टार्ने काम भइरहेको बताउनुभयो । 

उहाँले कटान रोक्न गत वर्षको असार–साउनमा बाँस र बोराको अस्थायी तट्बन्ध बनाइए पनि उक्त तट्बन्ध पनि बाढीले बगाएको हुँदा अब स्थायी तटबन्ध मात्रै बिकल्प रहेको बताउनुभयो । 

अध्यक्ष शाहले खल्लाझगडियामा स्थायी तटबन्ध निर्माण नगरिए राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका सात गाउँ डुबानको जोखिममा परेको जनाउँदै संघीय र प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । 

राप्तीसोनारी खल्लाझगडियाका अरुण यादवले दुई वर्षअघि राप्ती नदीले तटबन्ध बगाएर फालेपछि यस क्षेत्रका सात वटा गाउँ डुबानको उच्च जोखिममा रहेको बताउनुभयो । 

उहाँले दुई वर्षदेखि तटबन्ध बनाउन माग गर्दै आएपनि सुनुवाई नहुँदा नदी गाउँतिर पस्न थालेकोले स्थानीय त्रसित बनेको बताउनुभयो । 

राप्ती नदीले कटान गर्दै गाउँतिर तेर्सिएपछि राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका देउपुरा, पिप्रहवा, खल्लाझगडिया, गेदुवा, गंगापुर, सोनबर्षा खुदरबेटवा, कडुवा लगायतका बस्तीमा बाढीको अत्याधिक जोखिम बढेको स्थानीयले जनाएका छन् । 

राप्तीसोनारी गाउँपालिका ७ खल्ला झगडियामा बर्षायाम सुरु भएसँगै स्थानीयहरु त्रसित भएका छन् । राप्ती नदीमा आउने बाढी र डुवानले बर्षौदेखि पीडित यहाँका नागरिकहरु रातमा ढुक्क भएर निदाउन पाउँदैनन् ।

कटान रोक्न गत वर्षको असार–साउनमा बाँस र बोराको अस्थायी तट्बन्ध बनाइए पनि उक्त तट्बन्ध पनि बाढीले बगाएको थियो । यस वर्ष पनि सोही ठाउँमा बाँसको तट्बन्ध निर्माण भइरहेको छ । दीर्घकालिन समस्या समाधानका लागि सरकारले कुनै चासो नदिएको स्थानीय बिश्राम थारुको गुनासो छ ।

बाँसको तट्बन्धले बाढीको बहाव थेग्न नसक्ने उहाँको भनाइ छ । बाँसको तट्बन्ध बनाएर सरकारले निमुखा जनताको आँखामा छारो हाल्ने काम गरेको उहाँको भनाई छ ।