सन्तोष दहित
दाङ, असार ११ गते । लुम्बिनी प्रदेश सरकारले अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै पदक तथा पुरस्कार प्राप्त गर्न सफल खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सम्मान गरेको छ ।
एक सय ४८ खेलाडी र १९ प्रशिक्षकगरी एक सय ६३ जनालाई बुधवार राप्ती उपत्यका(देउखुरी)मा एक कार्यक्रमबिच सम्मान गरिएको हो ।
प्रदेश खेलकुद परिषद्को आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार खेलकुदको विकास, विस्तार र खेलाडी उत्पादनका लागि प्रतियोगिता महत्वपूर्ण माध्यम भएको र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई सम्मान गरे हौसला प्रदान गरिएको परिषदका सदस्य सचिव तिरणदाज गौतमले जानकारी दिनुभयो ।
खो–खो विश्वकपमा दोस्रो स्थान हाँसिल गर्ने आठ जना खेलाडीलाई प्रति व्यक्ति दुई लाख रुपियाँको दरले सम्मान गरिएको छ । सो खेलका प्रशिक्षक र व्यवस्थापकलाई दुईजनालाई प्रति व्यक्ति एक लाख रुपियाँको दरले सम्मान गरिएको छ ।
यस्तै दक्षिण एसियाली कराते प्रतियोगितामा रजत पदक प्राप्त गरेका एक जना खेलाडीलाई एक लाख रुपियाँबाट सम्मान गरिएको छ ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका विभिन्न खेल विधाका एकल इभेन्टमा स्वर्ण पदक विजेता खेलाडी पाँच जनालाई प्रति व्यक्ति ३५ हजार, रजत पदक विजेता खेलाडीलाई १८ जनलाई प्रति व्यक्ति २० हजार, कांश्य पदक विजेता ४६ जनालाई प्रति व्यक्ति १५ हजार, सोही प्रतियोगिताको समूहगत इभेन्टमा स्वर्ण पदक विजेता १२ जना खेलाडीलाई प्रति व्यक्ति २० हजार, समूहगत ईभेन्टमा रजत पदक विजेता ३६ जना खेलाडीलाई प्रति व्यक्ति १२ हजार, समूहगत इभेन्टमा कांश्य पदक विजेता १२ जनालाई प्रति व्यक्ति आठ हजार रुपियाँबाट सम्मान गरिएको छ ।
यस्तै नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका विभिन्न खेल विधाका स्वर्ण पदक विजेता खेलाडीका ६ जना प्रशिक्षकलाई व्यक्तिगत २५ हजार, रजत पदक विजेता खेलाडीका आठ जना प्रशिक्षकलाई व्यक्तिगत १५ हजार, कांश्य पदक विजेता खेलाडीका पाँच जना प्रशिक्षकलाई व्यक्तिगत १० हजार रुपियाँ प्रदान गरिएको छ ।
यस्तै नेत्रहिन टी–२० विश्व कप क्रिकेट प्रतियोगीतामा भाग लिएका चार जना खेलाडीलाई प्रति खेलाडी ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिएको छ ।
लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरणदाज गौतमले खेलाडीहरुलाई सम्मान गरेर प्रदेशले हौसला थपेको बताउनुभयो।