काठमाडौँ, वैशाख १३ गते । तेस्रो सिजनको नेपाल सुपर लिग (एनएसएल) को उपाधि ललितपुर सिटी एफसीले जितेको छ ।
दशरथ रङ्गशालमा शनिबार भएको फाइनलमा ललितपुरले पोखरा थन्डर्सलाई २–१ गोलले हराउँदै उपाधि रक्षा गरेको हो ।
साविक विजेता समत रहेको ललितपुरलाई लगातार दोस्रो पटक उपाधि जिताउन दुई विदेशी खेलाडी इमोह इजेकेलले ४२औँ र पापा इबोउ केबेले ७४औँ मिनेटमा गोल गर्नुभयो ।
यसअघि पोखराका लागि एनआरएन खेलाडी सुदिल राईले ६३औँ मिनेटमा बराबरी गोल फर्काउनुभएको थियो । तर उक्त गोल सान्त्वनामा परिणत भयो ।
ललितपुरले लिग चरणदेखि अपराजित रहँदै उपाधि जितेको हो । उपाधिसँगै ललितपुरले ८० लाख रुपियाँ पुरस्कार पायो । पोखराले ३० लाख रुपियाँ प्राप्त गरेको छ । एनएसएल पहिलो संस्करणको उपाधि भने काठमाडौँ एफसीले जितेको थियो ।
आयुश सर्वोत्कृष्ट खेलाडी
पोखरा थन्डर्सलाई फाइलनमा लग्न महत्वपूर्ण भूमिका खेल्नुभएका मिडफिल्डर आयुश घलान एनएसएलको सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभएको छ । उहाँले उपाधिसँगै दुई लाख ५० हजार रुपियाँ पुरस्कार पाउनुभयो ।
यस्तै विधागततर्फ ललितपुरका मणिकुमार लामा इनर्जेटिक खेलाडी, ललितपुरकै सन्तोष खत्री उदीयमान खेलाडी, पोखरा प्रिसो उत्कृष्ट गोलरक्षक, धनगढीका अहमद हिजाजी सर्वाधिक गोलकार्ता र झापा एफसीले ‘फेयर प्ले अवार्ड’ जितेको छ । विधागत उत्कृष्टलाई जनही एक लाख रुपियाँ प्रदान गरियो ।
प्रतियोगिता समापन अवसरमा नेपाली राष्ट्रिय महिला टोलीकी मिडफिल्डर प्रिती राईलाई स्कुटर प्रदान गरिएको थियो । प्रिती एनएसएलकी गुडविल एम्बेसडर हुनुहुन्थ्यो ।