• १३ वैशाख २०८२, शनिबार

असमयको बिहानी [कथा]

blog

एक दिन हैन, दुई दिन हैन, सधैँ झैँ आज पनि । हो, आज पनि कलेज बसको चालकसँगैको एक्लो सिटमा किशोरी छात्रा मोबाइल एक सुरले हेर्न व्यस्त छे । मोबाइल र मोटरबाइक जति कडाइका साथ निषेध गरिए पनि उच्च माध्यमिक तहका विद्यार्थी वर्गलाई आफ्नो पुरुषार्थमाथि धावा बोलिए जस्तो लाग्छ कि कुन्नि, नल्याई छाड्दैनन् ।

हामी शिक्षकलाई चालकसँगैका सिटहरू उपलब्ध गराइएकाले त्यहीँ बसिन्छ ।  नचाहे पनि किशोरीको मोबाइलमा आँखा पर्छ, कोरियन चलचित्रको प्रेमात्तुर दृश्य चल्दै रहेछ । कलेज बसमा एकाबिहानै ब्ल्युटुथका माध्यमबाट आआफ्नो मोबाइलबाट अनेपाली गीतले बसभित्रको वातावरण अनि आआफ्नो मनमस्तिष्कमा राग फैलाउने अचेलका युवापुस्तासित हामी शिक्षकले के नै भन्न सक्छौँ र ! भने पनि काम लाग्ने भए पो । केही नभनी ती किशोरीको मुहार हेर्छु, दङ्ग परेर ध्यानमग्न छे । लाग्छ, बसले अगाडि कतै ठक्कर दिन लाग्दासमेत थाहै नपाउने होला । बसका सबै जसो सिटमा दृश्य त्यस्तै हो, फरकै केही देखिन्न । “आ...ह !” एक्कासि किशोरी चिच्च्याउँछे । बसभित्रका अन्य छात्रछात्रा त के चालक र खलासीसहितका हामी शिक्षकसमेत झस्कन्छौँ एकै पटक । 

“के भो ? के भो ?” सबै जना उत्सुक । 

किशोरीले फेरि एक पटक आफ्नो मोबाइलमा हेर्छे, शान्त देखेर होला, फ्यास्स चिसिन्छे, “के...केही...होइन ।”

“ग्याजेटहरूमा लीन हुने भएपछि त अचेलका पुस्ता...खोइ के भए, के भए !” सँगै बसेका सहकर्मी शिक्षक भन्छन् । बाँचेको भनौँ भने कुनै चेतना हुन्न, मरेको भनौँ भने विभिन्न कुराको मागैमागको खेती गर्नमा कसले हराउने ! उनको अधुरो भनाइलाई पूरा गर्छु तर आफैँभित्र । 

हेर्न भने भ्याइसकेको छु, चलचित्र चल्दाचल्दै अकस्मात् झ्वाट्ट मुटुको चित्र ठुलो भएर आएर भनेको थियो, आइ लब यु । किशोरीले सोच्न सक्ने कुरै थिएन त्यो । त्यो कसरी आइपुग्यो, आइटीमा पोख्त एक जना साथीबाट जान्न पाएकाले मलाई भने अनौठो त लागेन तर यताउता खोज्न थाल्छु, कुनै सङ्केत । नभन्दै देखिहाल्छु पनि, एक किशोर मुसुमुसु हाँस्दै उनै किशोरीलाई ताकिरहेको छ, मैले हेरेको देख्नेबित्तिकै सतर्क हुन्छ । के कम म पनि, नदेखेझैँ गरिदिन्छु । 

अलि दिन त्यसै बित्न दिन्छु । बिहान बिहान युवापुस्ताको अनेपाली सङ्गीत रुचाइसँगै आनन्दले बगे जस्तो गरिदिन्छु तर के हो भित्री कुरा, मै जान्छु । त्यस किशोरलाई नहेरेझैँ गरेर अवलोकन गरिरहेकै हुन्छु । व्यक्तिगत कुरा जस्तो लाग्ला तर कसरी हुन्छ यो व्यक्तिगत कुरा ? त्यसै किशोरलाई पढाइ चलिरहेकै बेला कक्षाकोठाबाहिर प्रायः देख्ने गरेकै हुँ । कहिले कक्षाकोठाको दैलोमै घुँडा टेकेर बस्न दिइएको सजाय पूरा गर्दै, कहिले यताउता टहल्दै गरेको दृश्य...। अन्य सेक्सनको भए पनि आफूले अध्यापन गर्ने शिक्षालयका अरू विद्यार्थी पनि त आफ्नै शिष्यसरह न हुन् । हेरविचार गर्नु शिक्षकको कर्तव्य किन होइन र । मलाई त यस्तै लाग्छ ।

के गरेर मात्र पढाइमा ध्यान तान्ने हो अचेलका केटाकेटीको ? प्रायः शिक्षकको गुनासो मिश्रित छलफल चल्दो छ आजभोलि ।   बेध्यानी पनि कतिसम्म भने कतिपय विद्यार्थीलाई त पढाइसँग टाढा टाढासम्म पनि कुनै सम्बन्धै नभए जस्तो पो देखिँदै छ त ।  अचम्म त आज पनि लगाइदिन्छ त्यसै केटाले, कलेजको पहिरनमै ल्यापटप काखी च्यापेर कतै जाँदै गरेको दृश्यमा, त्यो पनि कलेजको समयमै । धन्न म काम विशेषले बिदा लिएर हिँड्दै गरेको छु । 

विद्यार्थीको पनि काम पर्छ, नपर्ने त होइन तर कलेज पहिरनमै...। समस्या यहीँनेर छ । आफ्नो शिक्षण संस्थाप्रतिको दायित्वले पनि म धकेलिन्छु उसको पछि पछि जान । कहाँ जान लागेछ त त्यसो भए...? यसबिच त्यस केटाको सबै जन्मकुण्डली नै निकालेर हेरिसकेको छु । कक्षामा बेला बेला मात्र उपस्थित, कलेज आए पनि कक्षाकोठामा भन्दा बढी कक्षाकोठाको दैलोमा, तैपनि परीक्षामा प्राप्ताङ्क निकै बढी । कसरी त ?

उदेक त त्यसलाई पढाउने सबै शिक्षक पनि छन्, निधार च्यात्तै । म मात्र कहाँ हो र ।

यस असन बजारमा मान्छेहरू हिँडिरहेकै हुन्छन्, उसले पछाडि फर्केर हेरेको पनि छैन, म पछाडि नै छु भन्ने थाहा त नहोला तैपनि सकेसम्म आफूलाई लुकाउँदै पछि लगाइरहेको छु ।  लुत्त एउटा छिँडीभित्र पस्छ । हराउँला भन्ने भयले हत्तपत्त छिर्छु म पनि । त्यहाँ त अचम्म...। एउटा सानो चिसो कोठा पो छ त, जसलाई चारैतिरबाट चिसै भित्ताले घेरेको मात्र । ऊ खै त ? 

भोलिपल्ट केरकार गर्न लगाउँछु पनि । 

“म हिजो त्यो समयमा कक्षामै थिएँ त । पत्यार नलागे एटेडेन्स चेक गर्नूस् न त ।” भनेछ । 

डिजिटल प्रणालीमा स्पष्टै त्यसको हाजिरी देखिन्छ पनि । अब भने रनथनाउन थाल्छ मलाई । 

उसका कक्षाशिक्षकलाई त झन्, “हिजो यो कक्षामै नभएको त म पनि जान्दछु तर कसरी हाजिरी देखिइरहेको छ ?” डिजिटल प्रणालीमा...अलि अलि चुहिन थाले जस्तै हुन्छ मेराअगाडि कुनै कुनै सङ्केत । मुखले माने पनि नमाने पनि, योचाहिँ मान्नै पर्छ, अब हामी शिक्षक वर्ग पुरानै बाटोमा अलपत्र भइसकेछौँ, अर्थात् आजभोलिका विद्यार्थी वर्ग हामीभन्दा निकै अगाडि पुगिसके छन्, प्रविधिको डुङ्गा चढेर । 

रनथनाएको मस्तिष्कमा त्यस विद्यार्थीप्रति जिज्ञासा बढ्न थाल्छ झन्झन् । के गर्दै छ त यो ? 

केही शिक्षकहरू मिलेर भए पनि त्यसका गतिविधिको निरीक्षण गर्नै पर्छ । अन्य विद्यार्थीलाई दिग्भ्रमित नगर्ला भन्न सकिन्न, त्यसैले पनि । निष्कर्षमा पुग्छौँ । 

उसकै भलाइका लागि त हो नि...। यही आशय स्पष्ट पारेर अभिभावकसित सम्पर्क राख्छौँ । अनि केही होलो हुन्छ, उसका घरसम्म पुग्न । ऊ कलेजमा र हामी उसको कोठामा । कोठा सामान्य नै देखिन्छ, जस्तो यस उमेरका केटाकेटीका कोठा हुन्छन् । भित्ताहरू मनपर्ने सिनेकलाकार वा खेलाडीका ठुलठुला चित्रले रङ्गिएका । गितार वा यस्तै बाजा कुनातिर । पढ्ने टेबुल । अभिभावक पनि खुल्छन् बल्ल, आधा रातसम्म उसका कोठामा बत्ती बलिरहेको हुन्छ, सोध्यो भने पढिरहेको भन्छ । केही त रहेनछ...खुइय गर्दै फर्कनै लाग्दा झ्वाट्ट आँखा ठुलो दराजको पछाडिपट्टि पुग्छ जहाँ केही अस्वाभाविकता देखिन्छ । हेर्छु त ल्यापटप लुकाइएको रहेछ । 

प्रविधिसित पूरै रूपमा अनभिज्ञ त होइन म पनि । त्यसैले केही उपाय खर्चेर ल्यापटप खोली हेर्छु । डेस्कटपमै एउटा अनौठो एप रहेछ । क्लिक गरेर हेर्छु, प्रश्न सोध्न भनिन्छ । सोधिदिन्छु, अचेलका विद्यार्थीलाई किन पढाइप्रति ध्यान दिन मन लाग्दैन ? 

उत्तरमा एउटा बाकस नै खुल्छ र त्यहाँ खरखर गर्दैै वाक्यहरू एकपछि अर्को हत्तारिँदै देखा पर्न थाल्छन्,

अचेलका विद्यार्थीलाई पढाइप्रति अरुचि हुनाको कारण 

अध्ययनको औचित्य स्पष्ट नभएर ।

औचित्य स्पष्ट नहुनुमा तिनको माग र रुचिसँग मेल नखाएर ।

मेल किन खाएनभन्दा देशको आवश्यकता तिनलाई अतिरन्जित लाग्ने भएर ।

किन अतिरन्जित लाग्ने भयो भने पैसा कमाउन नपर्ने भएर ।

पैसा कमाउन किन नपर्ने भएर भने तिनको घरमा प्रशस्तै पैसा थुप्रने भएर ।

तिनको घरमा प्रशस्तै पैसा किन थुप्रन्छन् भने तिनका अभिभावक भ्रष्टाचारलाई अँगालो मारेर बसेका भएर । 

समस्याको समाधान निकाल्न सकिने एप बनाएको हो भने त नराम्रो भन्नै सकिन्न तर यस्तो अनुसन्धान त एकपक्षीय पो हुन जान्छ त, बरबराउन पुग्छु । अनि अझ के छ, हेर्न खोज्छु तर त्यहाँ आवाज आउँछ, कृपया अब ल्यापटपमा हात नलगाउनुहोला नत्र ठुलो क्षति भोग्नुहुने छ । 

अब यसपछि नतिलमिलाउने त कुरै छैन, मजैसित तिलमिलाइन्छ । त्यसैबिच अभिभावकले भनेको कुरामा गिदीमा बत्ती बल्छ, छोराले खल्तीखर्च माग्दैन र केही समययतादेखि कलेजको फिस पनि घरबाट लैजाँदैन । 

के हो त ? 

त्यसपछिका दिनमा भने कलेजमा ऊ देखिँदैदेखिँदैन । घरमा सम्पर्क राख्दा अभिभावकसित रिसाएको छ रे, शिक्षकलाई उसको कोठामा निरीक्षण गर्न दिएकाले । अभिभावकले शिक्षकको उपस्थितिबारे नबताए पनि । त्यस्ता एप राख्नेले उपस्थितिबारे कसरी थाहा पायो भनेर जिज्ञासा राख्नु त यस युगमा साँच्चै नै लाटै ठहरिनु न हो । 

मेरै कारण त हैन ? एक शिक्षक हुनुको नाताले जिम्मेवार हुनै पर्छ, हुन्छु यसरी । विद्यार्थी पढ्न आउनै छाड्नु...छटपटीले आक्रमण गर्ने नै हुन्छ, आक्रमित हुन थाल्छु नराम्ररी नै । 

यही छटपटीले घचघचाउँदै लग्दा फेला पारेरै छाड्छु, एक दिन ।  उही असनको एउटा गल्लीभित्रको पुरानो घरमा बैठक चलिरहेको । चार/पाँच जना होलान् जम्मा । उदेकको कुरा के भने उसकै उमेरको देखिन्छ जम्मै । 

अति आत्मविश्वासले गाँजिएर हुन् कि, सावधानी अपनाउने योजना देखिँदैन तिनको । तब त बाहिरैबाट हलुकासित सुन्न भ्याउँछु, भित्रका कुरा । संवाद यसरी चल्दै छ, हामी सबैले आ–आफूले पाएको जिम्मेवारी अनुसार एप्स त बनायौँ नि हैन ? हो, मैले घरमै बसेर अनलाइनबाट कमाइ गर्न सकिने भन्दै बैङ्क खाता नम्बर झिकाउने एप बनाएँ । 

रोजगारी खुलेको भन्ने एप्स बनाउने त मेरो पहिलैदेखिको चाहना हो, बल्ल यसपालि पूरा गर्न पाएँ । 

अचेल सचेतता बढाउन थालेकाले मैले निकै गहिरो पारामा चिट्ठा परेको लोभ देखाउने एप्स तयार पारेँ ।

मान्छेहरूका बैङ्क खातासम्म पहुँच पु¥याउने एकसेएक एप्सको निर्माणको बहादुरी बखानिँदै गरेको समय पो परेछ त यो । एउटाले झनै झसङ्ङै बनाइदिन्छ, त्यसैले पो अचेल भर्खरका केटाकेटी पनि ठुलठुला डिपार्टमेन्ट स्टोरमा काम गर्दै गरेका देखिन थालेका ? मेरो दिमाखभित्र सूर्य उदाउन थाल्छ । भन्नै पर्दैन, तिनको एउटै उद्देश्य हुन्छ, अनलाइन पेमेन्ट गर्दा खातासम्म पुग्न ।  यी भर्खरका केटाकेटीहरू...। लौ त भनुँ भने ओठ निचो¥यो भने आमाको दुध अझै तप्केला... काम भने यहाँसम्म ! समयले अब हाम्रो पुस्तालाई पो नराम्ररी थप्पड लगाइसके जस्तो लाग्न थाल्छ । तिनको प्रतिभाले छुन थालेको नकारात्मकतातिरको यो यात्रा... कहाँसम्म पुग्ने हो ! समयको यस मोडमा... मानेँ, समयको गतिलाई हिजोको भएर सहजै आँक्न सकिन्न । भोलिको भएर त आँक्न सकिएला, सक्नलाई त, तर आजकै सामना कसरी गर्ने...! लाग्न थाल्दै छ, कतै यो असमयको बिहानी त हैन ! 

इमानदारीसाथ भन्ने हो भने शिक्षक भएका नाताले विद्यार्थीको यस्तो मेधावीपनामाथि कसरी खिस्रिक्क पर्नु ! राम्रो काममा यस्तो प्रतिभा प्रयोग भइरहेको छैन, यसमा पनि कसरी गर्व गर्नु ! 

यसपछि म के गर्छु ?

त्यो भविष्यले बताउला... तर अहिलेलाई भने केही सोच्नै नसकेर आफू तिरिमिरी झ्याइँको स्थितिमा पुगेको स्वीकार्न कुनै हानि छैन ।