• १४ वैशाख २०८२, आइतबार

फोटो पत्रकारिताको विकासमा राज्यले जोड दिनुपर्छः सभामुख घिमिरे

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सभामुख देवराज घिमिरे ।

काठमाडौँ, वैशाख १३ गते । सभामुख देवराज घिमिरेले फोटो पत्रकारिताको विकासमा राज्यले जोड दिनुपर्ने बताउनुभएको छ । शनिबार राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८२ को अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालले ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले फोटो पत्रकारको महत्वलाई राज्यले क्रमशः चिन्ने काम गरेको भएपनि फोटो पत्रकारिताको विकासमा रहेका व्यवधान हटाएर अघि बढाउन जरुरी रहेको बताउनु भयो । उहाँले फोटो पत्रकारिता जिउँदो इतिहास भएको उल्लेख गर्दै समाजको चित्रणलाई यथार्थमा उतार्न सक्ने र यथार्थबाट भविष्यलाई देखाउन सक्ने कुरा नै फोटो पत्रकारिता भएको बताउनुभयो । 

सभामुख घिमिरेले भन्नुभयो,“एक सेकेण्डमा गलत कुराको भ्रम सिर्जना गर्न सकिने कुरा छ । तर फोटो पत्रकारिताले त्यस्ता खालका कुराको काउण्टरमा सधैँ भर ठिङ्ग उभिएर आफ्नो परिचय दिन सक्ने र त्यो बेला के भएको थियो भन्ने कुराको जिउँदो इतिहासलाई लामो समय मात्र होइन, शताब्दीसम्म राख्न सक्ने र जिम्मेवारपूर्ण क्षेत्रबाट एउटै फोटोबाट अनेक कुरा व्यक्त गर्न सकिने र समाजको चित्रणलाई यथार्थमा उतार्न सक्ने र यथार्थबाट भविष्यलाई देखाउन सक्ने, विगतबाट भविष्यमा जाने बाटो के थिए भन्नेकुरा देखाउनसक्ने धेरै महत्वपूर्ण काम गर्नसक्छ । पत्रकारहरु क्यामेराकोपछि पछि दौडिएर फोटो खिच्ने कुराले देशको चित्रणलाई राख्ने, घटनालाई जीवित र सधैँ स्मृतिमा राख्ने गर्दछ । फोटो पत्रकारको महत्वलाई राज्यले क्रमशः चिन्ने कामहरु गरेको छ । त्यस हिसाबमा विकास गर्ने कुरामा जुन व्यवधान रहेका छन्, अभाव पूर्ति गर्दै यस क्षेत्रमा प्रेरित गर्दै अघि लैजानुपर्छ ।”

सभामुख घिमिरेले पत्रकारिताको महत्त्व बुझेर नेपालमा लोकतान्त्रिक गणतन्त्रको घोषणा पश्चात मात्रै उपयोग गरिएको बताउनुभयो । मिडियाको महत्त्व नबुझ्ने समाजबाट अहिले फोटो पत्रकारिताको महत्त्व बुझ्ने ठाउँमा आइपुगेको बताउनुभयो ।