• १३ वैशाख २०८२, शनिबार

सपनाको पदचाप [निबन्ध]

blog

रात हरायो

सपना हरायो

सपनाको रङ्गीन कथा हरायो ।


न कुनै अनुमान, न कुनै आशङ्का; हराए ती कथानक सपनाहरू ! अप्रत्याशित पनि होइन, नियोजित नै पनि होइन, गजबैसँग हराए । खोइ, अब कसरी देखिएलान् ती सपनाहरू ? कति मिठा थिए ती सब ! सम्झँदैमा पनि रोमाञ्चित हुन्छु म ।

कथा सुनेरै, बिनापखेटै कैयौँ चोटि उडियो सपनामा । पहाड, कन्दरा, कुनाकाप्चा... कति ठाउँ पुगियो ! अग्ला अग्ला शिखरसमेत अछुत रहेनन् । न कुनै नागरिकता चाहियो, न कुनै प्रवेशाज्ञा; अनन्त आकाश सम्पूर्ण आफ्नै हो जस्तो लाग्थ्यो । 

आज किन देखिँदैनन् ती सपनाहरू ? 

तर, देखिन्छन् पनि सपना, नदेखिने होइन । देखिन्छन्, आज पनि देखिन्छन् तर सपनाको नाम दिऊँ जस्ता सपना देखिन्नन् ! त्यसैले हो कि, कुनै पनि रात राम्रा लाग्दैनन्, सुन्दर लाग्दैनन् । चाहे त्यो,  झल्झलाउँदो जुनेली पूर्णिमाकै रात किन नहोस् ! 

थाहा छ, रात भन्नु आखिर अँध्यारो नै हो । अँध्यारोले यसैउसै नकारात्मकताकै परिचय दिन्छ तर सुन्दा आश्चर्य लाग्छ– अँध्यारै भए पनि, राम्रो लाग्ने रात पनि हुँदो रहेछ । हो, मसँग पनि थिए मिठा मिठा सापनिक रातहरू ! 

कसैले खोस्ला भन्नु थिएन । सपना नदेख्नलाई कसैले आँखामा पट्टी बाँधिदेलान् भन्ने डर थिएन । अथवा सपनामाथि कुनै किसिमको प्रतिबन्ध लगाइएलान् भन्ने भय थिएन । निर्ढुक्क देखिन्थे सपनाहरू । साँच्चै, कति सुखद हुन्थे ती ! 

वास्तवमा सपनाको सुख कति हुन्छ ? त्यो सुखको आयतन मापन गर्ने कुनै यन्त्रको आविष्कार भएको होला र दुनियाँमा ? कसले भन्न सक्ला– कुन धनसम्पत्तिले सपनाको सुखलाई खरिद गर्न सक्छ ? हो, मेरा पनि थिए अत्यन्तै महँगा सपनाहरू । बहुमूल्य... अझ भनौँ कसैले आँक्नै नसक्ने अनमोल, म पनि देख्थेँ अत्यन्त ऊँचा सपनाहरू । कति जादुममी हुन्थे ती ! आहा, ती सपनाहरू ! 

सपनाको जब सुरुवात हुन्थ्यो, कुनै झ्याली पिटिन्नथ्यो, पन्चैबाजा बज्दैनथ्यो, स्वतः सङ्गीतको झङ्कार सुनिन्थ्यो ।

बाइपङ्खी घोडा चढेर

सुन्दर राजकुमार आउँथ्यो

अस्तव्यस्त केश सहलाउँथ्यो

म्वाइँका झरी बर्र्र्र्साउँथ्यो

र मिठो स्पर्श छाडेर जान्थ्यो,


सपनैमा, सायद मसक्क मस्केर हल्का मुस्कुराइन्थ्यो; बन्द आँखै मक्ख परेर राजकुमारको अनुहार नियालिन्थ्यो । आहा, कति आकर्षक ! कति मनमोहक ! चम्किला आँखा, घुँगरिएको जुल्फी... हेरेको हे¥यै म ! उसको उपस्थितिमा झलल... अचानक घाम झुल्के जस्तो, कठ्याङ्ग्रिँदो जाडोमा न्यानो भए जस्तो, अथवा पसिनैपसिनाले लतपत भएको बेला शीतल पवन बहे जस्तो ! कता कता मनको कुनै कुनामा काउकुती लागे झैँ अनुभूति हुन्थ्यो । सम्भवतः राजकुमारको आगमनले दुनियाँको सबैभन्दा ठुलो खुसी दिन्थ्यो ।  

प्रश्न गर्न मन लाग्थ्यो राजकुमारसँग– कुन देशका हौ तिमी ? तिम्रो दरबार कस्तो छ ? दरबारभित्र तिम्रो कोठा कस्तो छ ? कोठामा तिमी सुत्ने खाट कस्तो छ ? तिमी बस्ने कुर्सी कस्तो छ ? तिमीले हेर्ने ऐना कस्तो छ ?

तर, कसरी सोध्न सक्थेँ र राजकुमारलाई ! सपना न हो ! सपना कहाँ यथार्थ जस्तो हुन्छ र ! यथार्थमा जस्तो सपनामा आफुले चाहे अनुसार के गर्न सकिन्छ र ! सपना त वास्तवमा सपनै हो, सपनाले जता जता डो¥यायो उतै उतै डोरिनु पर्छ । त्यही कारणले; केवल आफैँ मनमनै कल्पना गर्थें– कति सुन्दर होला उसको दरबार ! कति झिलिमिली होला दरबारको परिवेश ! सोच्थेँ– अन्धकारमै पनि बत्ती नै बाल्नु नपर्ने सुनैसुनले झकिझकाउ होला ।

थाहा छैन, प्रत्येक रातमा आएर प्रत्येक सपनीलाई सुमधुर बनाउने राजकुमार मेरो सपनामा आएपछि फेरि कहाँ जान्थ्यो ? अनभिज्ञ थिएँ म । तर गजब ! फेरि त्यही अनभिज्ञतामै रमाइलो । बिउँझेपछि बिर्सिहालिन्थ्यो सपना । 

फेरि अर्को रात, उही पुनरावृत्ति । उही सपना । उही राजकुमार अनि... म ! कति मज्जाका थिए ती रातहरू ! ती रातका सपनाहरू ! 

     अनि, त्यो... त्यो राजकुमार !!!

राजकुमारको आहट मात्रैले पनि त शरीरमा कति रोमाञ्चकताको अनुभूति हुन्थ्यो ! दुनियाँका अर्थोक कुनै विषवस्तुसँग त्यसको तुलना हुन सक्दैनथ्यो ।

निकै भयो

टक्... टक्... दौडाइ सुनिन्न घोडाको

देखिन्न अनुहार राजकुमारको 

अलपत्र छ केशराशि 

मानौँ

शरीर अस्पृश्य छ,


ओहो, कता गयो त्यो राजकुमार ? कता गयो राजकुमारको आहट ? कसलाई सोधूँ– के भयो राजकुमारलाई ? हेरिरहन्छु बाटो हर रात । तर अहँ, ऊ आउने कुनै पूर्वसङ्केत नै छैन । कतै राजकुमार मसँग रिसाएको त हैन ? कदाचित् रिसाएको हो भने त्यसको कारण के होला ? के बिगार गरिदिएको थिएँ र मैले उसको ? भनेँ नि, म केही बोल्न सक्थेँ, न हाँस्न नै सक्थेँ सपनामा, केवल नियाली मात्रै त रहन्थेँ उसलाई– प्रतिक्रियाविहीन ! तब, के भयो उसलाई ? आउनै छाड्यो त ऊ मेरो सपनामा ! 

सोचिरहेछु, कसरी देखूँ म राजकुमारको पदार्पण हुने ती सपनाहरू, दोहो¥याएर ! म फेरि तिनै सपना देख्न चाहन्छु । हो, मेरो सपना म फेरि फेरि दोहो¥याएर देख्न चाहन्छु । जसले जेसुकै भनून्, मलाई तिनै सपना चाहिन्छ । मलाई तिनै सपना देख्नु छ । म तिनै सपनाहरूमा रमाउन चाहन्छु । त्यसो त, भनिएको सुनेको छु– सपनाहरू दोहोरिँदैनन्, एक पटक देखिएको सपना त्यही एक पटकलाई हो, फेरि देखिन्न । मलाई लाग्छ, सम्भवतः सपनाको मर्म नबुझ्नेहरूले मात्रै भन्ने कुरा हो यो । के थाहा तिनलाई– सपना के हो ? 

के अथ्र्याउन सक्लान् र तिनले मेरा ती सपनालाई ? 

म सोध्न चाहन्छु– के कसैले यस्ता सपना देखेका छन्, मैले जस्तो ? अन्धकारमा यस्तो उज्यालो खालको सपना देखेका छन् कसैले ? के तिमीले देखेका छौ ? कदाचित् देखेका छौ भने तिमीलाई पनि मलाई जस्तै रोमाञ्चकताको अनुभूति भएको हुनु पर्छ । अन्यथा, मैले देखेको सपना तिमीले देखेका छैनौ भन्दैमा मेरो त्यो सपनाको दृश्यप्रति प्रश्न उठाउने अधिकार तिमीलाई मात्रै होइन, कैसैलाई हुन्न । यस अर्थमा, मैले देखेको सपनामाथि बहस गर्ने अधिकार कसैसँग छैन । 

खासमा, मलाई कसैको सपनाप्रति गरिएको उपहास मन पर्दैन । सपनामाथिको खिसिट्युरी मन पर्दैन । कसैको सपनाको खिल्ली उडाएको मन पर्दैन । सपना त सपना हो, राम्रो... नराम्रो... सबैले आआफ्नै सपना देख्छन् । कसैले कसैको सपना खोस्न सक्दैनन्, खोस्न मिल्दैन । र, सबैसँग आआफ्ना सपनामा रमाउने अधिकार सुरक्षित छ ।

तर, कसले तोड्यो मेरो सुरक्षाको घेरा ? कसले विथोल्यो मेरो सपनाको सिलसिला ? भन, कोसँग सोधूँ यो प्रश्न ? 

खोइ,

कता हरायो

मेरो निद्रा बोलाउने

ती रातहरू किन फर्कन्नन् ?

किन फर्कन्नन् 

मेरो कथाकारका ती रातहरू ?

कि, समाप्त भएछ मेरो त्यो बाल्यकाल ??