पर्सा, जेठ ३० गते । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१६ स्थित भन्सार चेकजाँच बिन्दुबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको १८ लाख नेपाली रुपियाँसहित दुईजनालाई नियन्त्रणमा लिएको छ।
जेठ ३० गते भारतबाट दुईवटा मोटरसाइकलमार्फत नेपालतर्फ आउँदै गरेका उनीहरूलाई विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले चेकजाँचको क्रममा रकमसहित नियन्त्रणमा लिएको हो।
पक्राउ परेकामध्ये वीरगञ्ज–२ छपकैयाका २१ वर्षीय राहुल कुमार तिवारीको साथबाट बीआर ०५ एटी ०४७५ नम्बरको मोटरसाइकलमा १३ लाख रुपियाँ र बाराको प्रसौनी गाउँपालिका–२ निवासी ४० वर्षीय कौशल कुमार गुप्ताको साथबाट ना ४६ प ९७१० नम्बरको मोटरसाइकलमा ५ लाख रुपियाँ फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद रकममा १ हजार दरका १ हजार ८२ थान र पाँच सय दरका १ हजार ४३६ थान नोट रहेका छन्। ती व्यक्तिहरूले उक्त रकम कुन प्रयोजनका लागि ल्याइएको भन्ने खुलाउन सकेका छैनन्।
पक्राउ परेका दुवै जनालाई रकम तथा मोटरसाइकलसहित आवश्यक अनुसन्धानका लागि वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।