• ३१ जेठ २०८२, शनिबार

तेस्रो गण्डकी प्रदेशस्तरीय टी–२० क्रिकेट हुँदै

blog

खेलबारे पत्रकार सम्मेलनमा जानकारी गराइँदै । तस्बिरः माधवप्रसाद बराल

माधवप्रसाद बराल

माछापुच्छ्रे (कास्की), जेठ ३० गते । तेस्रो गण्डकी प्रदेश स्तरीय टी–२० क्रिकेट प्रतियोगिता पोखरामा शनिबारदेखि हुने भएको छ । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा असार ६ गतेसम्म प्रतियोगितामा हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । 

गण्डकी प्रदेशका ८ जिल्लाले सहभागिता जनाउने प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिनुभयो । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा स्याङजा, बागलुङ, तनहुँ र म्याग्दी तथा समूह ‘बी’ मा कास्की, पर्वत, नवलपुर र गोरखा छन् ।

दुबै समूहका शीर्ष स्थानमा रहने टोलीले फाइनल खेल्ने छन् । प्रतियोगिताअन्तर्गत पहिलो दिन शनिबार दुई खेल हुनेछ । पहिलो खेल स्याङ्जा र म्याग्दीबिच बिहान ९ बजेबाट सुरु हुनेछ । शनिबारको दोस्रो खेल तनहुँ र बागलुङबिच हुनेछ । उक्त खेल दिउँसो १ बजेबाट सुरु हुनेछ । 

प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार पुरस्कार पाउने सिग्देलले जानकारी दिनुभयो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ४ हजार, उत्कृष्ट ब्याटर, बलर र उदियमान खेलाडीलाई जनही २ हजार र ‘प्लेयर अफ द म्याच’ लाई १ हजार प्रदान गरिनेछ । युवा खेलाडि उत्पादनमा प्रतियोगिताले योगदान दिने अपेक्षा आयोजकको छ ।