• १४ पुस २०८२, सोमबार

दोर्दीका १४ किसान सम्मानित

blog

दोर्दी–२ स्थित अधिकारी मल्टी एग्रो फर्म सञ्चालक रवीन्द्र अधिकारीलाई सम्मान गर्दै प्रजिअ डा. टोकराज पण्डे । तस्बिर : नवीनराज कुइँकेल

नवीनराज कुइँकेल
लमजुङ, पुस १४ गते ।
लमजुङको दोर्दी गाउँपालिकाले १४ जना किसानलाई सम्मान गरेको छ । प्रथम दोर्दी महोत्सवको अबसरमा पालिकाका कृषि क्षेत्रका विभिन्न विधाबाट उत्कृष्ट किसान छनोट गरी सम्मान गरिएको हो ।

सम्मानित हुने किसानहरूमा पशुपालन र कृषि तथा तरकारी खेती गर्ने किसानहरु रहनुभएको कृषि शाखाका प्रमुख निराजन पौडेलले बताउनुभयो । उहाँका अनुसार यसरी सम्मानित हुने कृषकहरूलाई जनही पाँच हजार रुपियाँ नगद र प्रमाणपत्र प्रदान गरिएको छ ।

सम्मानित हुनुहुने किसानहरुमा दोर्दी–२ स्थित अधिकारी मल्टी एग्रो फर्म सञ्चालक रवीन्द्र अधिकारी, भैस्वाँरा बाख्रा फर्मका लालप्रसाद गुरुङ, दोर्दी– १ को रुपा मौरी फर्मका प्रेमबहादुर अधिकारी, दोर्दी– १ स्थित प्यार्दी कृषि फर्म दलबहादुर भुजेल हुनुहुन्छ ।

यसैगरी, दोर्दी– ४ मा बिआइ कृषि फर्ममार्फत किवी खेती गर्नुहुने केरसिङ घले, दोर्दी– ८ को कृष्णा बाख्रा फर्मका सञ्चालक कृष्णा तामाङ, दोर्दी– २ कैजले भैंसी फर्मको सञ्चालक सिर्जना मरेटा, दोर्दी– ९ भिरकुना कृषि फर्ममार्फत मौरीपालन गर्ने चित्रबहादुर गुरुङ र दोर्दी– २ कालिका मिलिजुली कुखुरा तथा माछा फर्मको कुखुरापालक किसान भरत कुँवर पनि सम्मानित हुनुभएको छ ।

यसैगरी, अन्य सम्मानित किसानहरूमा दोर्दी– ३ श्रीमन्जाङ कृषि फर्मको भैंसीपालक किसान धनबहादुर गुरुङ, दोर्दी– ३ मै नमुना कृषि फर्मबाट मिश्रित खेती गर्ने कुलप्रसाद श्रेष्ठ, दोर्दी– ४ सुकराम मौरीपालन तथा तरकारी फर्मबाट तरकारी खेती गर्ने सुकराम गुरुङ, दोर्दी– ४ मिलिजुली कृषि तथा पशुपालन फर्मबाट तरकारी खेती गर्ने धनबहादुर तामाङ, दोर्दी– ४ का दोर्दी कृषि तथा पशुपालन फर्मका तरकारी खेती गर्ने सावित्री पाण्डे सम्मानित भएको कृषि शाखाका प्रमुख पौडेलले जानकारी दिनुभयो ।

किसानहरुलाई महोत्सवको मूल समारोह समितिका संयोजक एवम् दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारी, प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेलगायतले सम्मान गर्नुभएको थियो ।

महोत्सवले खेलको माध्यमबाट युवाको सहभागितासँगै विभिन्न जातजाति र समुदायका फरकफरक कला संस्कृति प्रस्तुति तथा कला संस्कृति संरक्षण र स्थानीय उत्पादनको बजारिकरण तथा आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग पुगेको गाउँपालिका अध्यक्ष अधिकारीले बताउनुभयो ।