सन्तोष सुवेदी
पाख्रीबास, (धनकुटा) पुस १४ गते । धनकुटामा अलैँची खेती गरिएको जमिन बढेसँगै उत्पादनको अवस्था बढेको तथ्याङ्क पाइएको छ । पछिल्लो समय कृषकले अन्य बालीनाली छाडेर करेसाबारीमा पनि अलैँची लगाउन थालेपछि अलैँची उत्पादनको बढेको तथ्याङ्क पाइएको हो ।
जिल्लामा अघिल्लो वर्षको तुलनामा यस वर्ष ६ दशमलव ५२ प्रतिशतले अलैँची उत्पादन बढेको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ । गत आर्थिक वर्षमा १ सय २७ हेक्टर क्षेत्रफलमा अलैँची खेती भएकोमा यस आर्थिक वर्षमा १ सय ३३ हेक्टर क्षेत्रफलमा अलैँची उत्पादन भएको थियो ।
जसमा धनकुटामा गत आर्थिक वर्षमा ४० दशमलव ३ मेट्रिक टन अलैँची उत्पादन भएकोमा यस आर्थिक वर्षमा ४२ दशमलव ६४ मेट्रिक टन अलैँची उत्पादन भएको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राना मगरले जानकारी दिनुभयो ।
उहाँका अनुसार धनकुटामा गत आर्थिक वर्ष र यस आ.व. मा उत्पादकत्व प्रतिहेक्टर बराबर रहे पनि उत्पादन भने बढिरहेको जानकारी दिनुभयो । उत्पादकत्व क्षेत्रफल दशमलव ३२ रहेको बताउनुभयो । यसअघि ओसिलो पाखाभित्ता र खोलाखोल्सीमा मात्र अलैँची खेती गरिएकामा पछिल्लो समय कृषकले अन्न बाली छाडेर करेसाबारीमा पनि अलैँची रोप्न रोप्दै आएका थिए । विभिन्न रोगको प्रकोपसँगै अलैँची बगान सखाप भएको र नयाँ बगानले उत्पादन दिन थालेकाले क्रमिक रुपमा उत्पादनमा सुधार हुँदै गएको छ । दानाबाट उत्पादन गरिएको निरोगी बिरुवाले उत्पादन पनि धेरै दिने र रोगको प्रकोपको सम्भावना पनि कम हुने भएकाले कृषकले विजु बिरुवा रोप्ने गरेको ज्ञान केन्द्रले जनाएको छ ।
अलैँची विशेष गरी खाद्यान्न बालिका रुपमा पर्ने मसला, जडीबुटी तथा औषधीका रूपमा प्रयोग हुने गरेको पाइएको छ । अलैँची खेती धनकुटाका सात वटै स्थानीय तहमा आंशिकरुपमा कृषकले लगाउँने गरेका छन् । भिरालो, सेपिलो, ओसिलो र छहारी भएको जमिनमा उत्पादन हुने अलैँची खेती समुद्र सतहबाट करिब ७ सयदेखि २ हजार मिटर उचाइसम्म हुने गरेको पाइन्छ ।