• ३१ जेठ २०८२, शनिबार

विद्युत् अनियमितताविरुद्ध प्राधिकरणलाई ज्ञापनपत्र

blog

विद्युत अनियमिताविरुद्ध नेपालगन्ज वितरण केन्द्र अगाडी धर्ना दिँदै । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, जेठ ३० गते । नेपालगन्जको विद्युत् अनियमितताविरुद्ध नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रलाई शुक्रवार ज्ञापन पत्र बुझाइएको छ । 

नेपालगन्जको चर्काे गर्मी, विद्युतको मनपरी, नागरिकहरुलाई सास्ति कहिले सम्म ? भन्ने प्रश्न गर्दै बास नेपालको अगुवाईमा नागरिक समाज नेपालगन्जका तर्फबाट नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज बितरण केन्द्रको गेटमा आधा घण्टा धर्ना दिएर ज्ञापनपत्र बुझाइएको हो । 

नागरिक समाजका अगुवा कृष्ण प्रसाद श्रेष्ठले विद्युत प्राधिकरणको मनपरीका कारण भइरहेको विद्युत अनियमितताका कारण चर्काे गर्मीमा नेपालगन्जबासीहरु पीडित भएकोले धर्नासँगै ज्ञापन बुझाउनु परेको बताउनुभयो । 

कार्यक्रममा बोल्दै बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले प्राविधिक कारण देखाएर विद्युत प्राधिकरण पन्छिन खोजेको आरोप लगाउनुभयो । बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह, नागरिक समाजका अगुवा कृष्ण प्रसाद श्रेष्ठ, गैसस महासंघ नेपाल बाँकेका उपाध्यक्ष मन भण्डारी, सचिव रमेश सिटौला, बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्मा लगायतले नेपाल विद्युत प्राधिकरण नेपालगन्ज बितरण केन्द्रका निमित्त प्रमुख बुद्धिसागर भुसाललाई ज्ञापन पत्र हस्तान्तरण गर्नुभयो । 

ज्ञापनपत्र बुझ्दै नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका निमित्त प्रमुख भुसालले विद्युत् नियमित गर्न आफूहरु रातदिन खटेको जनाउँदै समस्या समाधानका लागि थप जोडबल गर्ने बताउनुभयो । 

हस्तान्तरण गरिएको ज्ञापन पत्रमा नेपालकै बढि गर्मी हुने सहर मध्येको एक सहर नेपालगन्जको चर्काे गर्मीमा सधैं नेपालगन्जबासीहरु विद्युत् अनियमित हुँदा सास्ति भोग्न बाध्य भएको, हरेक वर्षको गर्मी समयमा जस्तै यस वर्षको गर्र्मीयाम सुरु भएसँगै विद्युत् प्राधिकरणको मनपरी, अर्कमण्यता सुरु भएको उल्लेख छ । 

‘कानुनी र कागजी रुपमा नेपालगन्ज लोडसेडिङ् मुक्त छ तर अघोषित लोडसेडिङ्ग छ । अदालतको आदेशलाई अवहेलना नगरे जस्तो हुने गरि अघोषित लोडसेडिङ्ग गर्ने गरिएको छ,’ ज्ञापन पत्रमा भनिएको छ, ‘विभिन्न प्राविधिक कारण देखाई विद्युत् सेवा अवरुद्ध गर्ने गरेको छ । वर्षभरि कानामा तेल हालेर सुत्ने गर्मीयाममा ग्राहकहरुलाई सास्ति दिँदै विभिन्न बहानामा विद्युत अनियमित गर्नु गैर जिम्मेवारीको परकाष्टा हो ।’ 

ज्ञापन पत्रको अन्त्यमा भनिएको छ, ‘अन्थथा चरणबद्ध दवावका कार्यक्रममा जान हामी बाध्य हुने व्यहोरा अनुरोध छ ।’ ज्ञापन पत्रमा गैसस महासंघ नेपालका केन्द्रीय सचिव नमस्कार शाह, बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्मा, नाइस नेपालगन्जका अध्यक्ष हेमराज भट्ट, युवा घरका सहसचिव जानकी बि.क., गैसस महासंघ नेपाल बाँकेका उपाध्यक्ष मन भण्डारी, भ्वाईस नेपालगन्जका अध्यक्ष रमेश सिटौला लगायतले हस्ताक्षर गर्नुभएको छ ।